गोविन्दराज जोशी समूहले अहिलेका लागि नेपाली कांग्रेससँगको वार्ता समाप्त भएको घोषणा गरेको छ।
कांग्रेसले स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गरेको भन्दै जोशीले बुधबार विज्ञप्ति निकालेर यो चरणको वार्ता समाप्त भएको घोषणा गरेका हुन्।
‘नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुश हामीले गरेका छौं,’ जोशीले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘आजदेखि कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणासमेत गर्दछौं।’
कांग्रेसले गत चैत १९ गते केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट जोशीलगायत तनहुँ, चितवन र बारामा २०७९ को चुनावअघिका चुनावमा आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिनेहरूको कारबाही फुकुवा गरेको थियो।
त्यसपछि कांग्रेस र जोशी समूहबीच वार्ता भइरहेका थिए। जोशीका छोरा दीपकराजले केहि दिनअघि सभापति शेरबहादुर देउवासँग भेटेर कुराकानीसमेत गरेका थिए।
यो पनि: देउवाले भेट्न धुम्बाराही बोलाए, जोशीले राखे पाँच माग
‘पार्टीबाट विभिन्न कारणले अलगिएका साथीहरूलाई सम्मानका साथ समेटेर पार्टीलाई बलियो बनाऔं भन्ने हाम्रो धारणा थियो,’ जोशीले भने, ‘तनहुँ जिल्लाको मात्र समस्या समाधान गर्न नचाहने कांग्रेस नेतृत्व यो बृहत कुरामा सहमत हुने कुरै भएन। त्यसैले उहाँहरूले वार्तामा मुल समस्या समाधान गर्ने चासो नदेखाउनु भएका कारण वार्ता समाप्त भयो।’
वैशाख १० मा हुने उपनिर्वाचनमा जोशी समूहले उम्मेदवारी नदिएकोले मतदाता मतदान गर्न स्वतन्त्र रहेको पनि गोविन्दराज बताउँछन्।
‘हामीले हाम्रो उम्मेदवार खडा गरेका छैनौं। तनहुँमा हामीहरू कुनै दल विशेषको सदस्य नभएकोले स्वतन्त्र छौं,’ उनले भने, ‘कांग्रेसले उम्मेदवारप्रति गर्को छलकपट निर्वाचन परिणामपछि स्पष्ट हुनेछ। यसबारे हाम्रो कुनै टिप्पणी छैन। २०४७ सालको निर्वाचनपछि धेरै इमान्दार साथीहरू पार्टीबाट अलगिएर बसेका छन्, कांग्रेस पार्टीलाई बलियो बनाउन र अहिलेको चुनौती सामना गर्न सबैको सहयोग खाँचो छ भन्ने कुरा हामीले महसुश गरेका छौं।’
यो पनि: उपनिर्वाचनमा हामी चुप बस्ने निर्णय भएको छ: गोविन्दराज जोशी
जोशीले मतदान गर्दा सक्षम, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने उम्मेदवार छनौट गरेर मतदान गर्न पनि आफ्ना शुभेच्छुकहरूलाई आग्रह गरेका छन्। जोशी नेपाली कांग्रेस स्वतन्त्र अभियानमार्फत् राजनीतिमा क्रियाशील छन्।