गोरखाको शहिद लखन गाउँपालिकाले त्रिशूली नदीको बहाब रोक्ने गरी बनाइएको बाटो तत्काल रोक्न निर्देशन दिएको छ।
त्रिशूली नदीको बहाब अवरोध हुने गरी बनाइएको सडक निर्माण तत्काल रोक्न गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले निर्देशन दिएका हुन्।
शहिद लखन गाउँपालिका वडा नम्बर ४ ठेउवाटारघाट करन बगरस्थित त्रिशूली नदीबाट नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) उत्खनन गर्न श्री त्रियुग निर्माण सेवा सिन्धुपाल्चोकसँग ठेक्का सम्झौता भएको थियो।

वातावरणमा असर नपर्ने गरी ६ हजार घनमिटर मात्रै ढुंगा, गिटी र बालुवा उत्खनन् गर्न पाउने सम्झौता गरिएको अध्यक्ष मगरले बताए।
‘उक्त कम्पनीले निर्माण सामग्री उत्खनन गरेर सप्लाईका लागि त्रिशूली नदीको बहाब अवरोध हुने गरी बाटो निर्माण गर्न लागेको कार्य तत्काल रोक्न तथा उत्खनन, संकलन तथा बिक्रीसम्बन्धी कार्य सम्झौताको शर्त अधिनमा रही गर्न पत्रमार्फत कम्पनीलाई निर्देशन दिइसकिएको छ,’ अध्यक्ष मगरले भने।
साथै गाउँपालिकाले स्थानीय स्रोतको उपयोगमार्फत विकास निर्माणका लागि जिम्मेवार भएर लाग्नेसमेत बताएको छ।
सांसद राजेन्द्र बजगाईलगायतले गरे स्थलगत अवलोकन
यसैबीच गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाई र गण्डकी प्रदेश सांसद नन्दप्रसाद न्यौपानेले त्रिशूली नदी बहाब थुनेर सडक बनाइएको क्षेत्रको स्थगगत अनुगमन गरेका छन्।
गत शुक्रबार उनीहरूले उक्त क्षेत्रको स्थलगत अनुमगन र स्थानीय बासिन्दासँग छलफलसमेत गरेका थिए। ‘त्रिशूली नदीको बहाब रोकिने गरी सडक बनाइएको रहेछ। त्यो कार्य तत्काल रोकिनुपर्दछ,’ सांसद बजगाईंले भने, ‘यसबारे हामी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि ध्यानाकर्षण गराउँछौं। नदीको बहाब अवरोध गरेपछि नदी प्राकृतिक रूपमा बग्न पाएन। जलचरलाई पनि समस्या हुने भयो, र्याफ्टिङलगायत व्यवसायमा पनि असर पर्छ।’
यो पनि: गोरखाको ढुंगा, बालुवा तार्न त्रिशूली नदी नै थुने ठेकेदारले