काठमाडौं महानगरपालिकाले शुक्रबार मध्य-सहरको थायमदु (बांगेमुढा) स्थित ४४ वर्ष पुरानो सामुदायिक घरमा डोजर चलाएपछि स्थानीय बासिन्दाले 'डोजर आतंक बन्द गर' भन्दै शनिबार महानगरविरूद्ध प्रदर्शन गरेका छन्।
साँझ ५ बजे थायमदुको इखानारायण मन्दिर परिसरमा स्थानीयको बाक्लो उपस्थितिबीच प्रदर्शन सुरू भएको थियो।
सहभागीहरूले 'काठमाडौं कोर-सिटीमा पहिलोपटक डोजर छिरेको' भन्दै यसलाई हलुका रूपमा लिन नहुने बताए। अब पनि अर्काको घरमा डोजर चल्दा रमिते भएर ताली बजाउँदै बस्ने हो भने डोजरले छिट्टै आफ्नै घरमा धावा बोल्ने स्थानीयको भनाइ थियो।
महानगरले सर्वोच्च अदालतमा विचाराधीन मुद्दासमेत बेवास्ता गर्दै शुक्रबार बांगेमुढाको सामुदायिक घरमा डोजर चलाएको थियो। अदालतमा मुद्दा विचाराधीन रहेको कागजपत्र देखाउँदा देखाउँदै महानगरले ठूलो संख्यामा नगर प्रहरी र जनपद प्रहरी बल प्रयोग गरेर स्थानीय बासिन्दालाई लछारपछार पार्दै डोजर चलाएको हो।
थायमदु डबलीमा आयोजित महानगरविरूद्धको खबरदारी सभामा विभिन्न नेवा: संघ-संगठनका प्रतिनिधिले उक्त सामुदायिक घरको महत्व उजागर गरेका थिए।
यो घरलाई स्थानीयहरू ‘थायमदु त्वाः छेँ’ भन्छन्। नेवार भाषामा ‘त्वा छेँ’ भनेको टोलको सामुदायिक घर हो। यो साबिकको वडा नम्बर २८ र हालको वडा नम्बर २५ मा पर्छ।
विभिन्न सामुदायिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले स्थानीय समुदायकै आर्थिक स्रोत र श्रमदानमा २०३५ सालमा यो घर बनेको त्वा छेँका अध्यक्ष रमेश श्रेष्ठले बताएका छन्। घरभित्र रहेको शिलालेखमा पनि त्वा छेँ निर्माण गर्न आर्थिक सहयोग गर्ने व्यक्ति र उनीहरूले दिएको रकम उल्लेख गरिएको छ।
'सामुदायिक गतिविधिका अतिरिक्त नेपाल भाषा आन्दोलन र आदिवासी जनजाति आन्दोलनको सुरूआतमा यो घरले महत्वपूर्ण भूमिका खेलेको छ,' अध्यक्ष श्रेष्ठले भने, 'विगतमा नेपाल भाषा मंका खल: र नेपाल आदिवासी जनजाति महासंघ यही घरमा बस्थ्यो। हामीले यहीँ बैठक गरेर नेपाल भाषा र जनजाति आन्दोलनको सुरूआत गरेका थियौं।'
उनले अगाडि भने, 'नेपाल भाषा आन्दोलनको प्रारम्भिक इतिहाससँग जोडिएको यति महत्वपूर्ण सामुदायिक घरमाथि डोजर चलाएर महानगरले हाम्रो एउटा इतिहास नै मेट्ने काम गरेको छ।'
उनका अनुसार सार्वजनिक जग्गामा बनेको घरमा पछि वडा कार्यालयलाई अस्थायी रूपमा बस्न दिइएको हो।
२०४८ सालतिर वडा कार्यालयले बस्ने ठाउँ नपाएपछि यही घरमा कोठा दिएको र पछि वडाले घरमै आफ्नो हकदाबी गर्न खोजेको उनको भनाइ छ।
'यो घर वडाकै सम्पत्ति हो भन्ने हल्ला फैलाएर कब्जा गर्न खोज्यो,' उनले भने, 'महानगरले न यसबारे संवाद गर्न चाह्यो, न सहमति गर्न खोज्यो। एकैचोटि २४ घन्टाभित्र घर खाली गर्नू भन्ने सूचना निकालेर गुन्डागर्दी किसिमले आक्रमण गर्यो।'
महानगरको आक्रमणमा वडा कार्यालयले पनि मौन सहमति जनाएको उनको आरोप छ। डोजरले हानेर विध्वंस पारिएको सामुदायिक घरलाई महानगरले नै पुनर्निर्माण नगरेसम्म विरोध जारी रहने उनले बताए।
कार्यक्रममा नेपाल भाषा मंका खल:का रमेशमान पियाले पञ्चायतविरूद्ध आन्दोलन क्रममा थुप्रै बैठक यही घरमा बसेको जानकारी दिँदै भने, 'लोकतान्त्रिक आन्दोलनको इतिहाससँग जोडिएको यो घरको राजनीतिक महत्व पनि छ।'
महानगर मेयरका प्रत्यासी सुमन सायमिले पनि कार्यक्रममा सहभागी भएर विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाएका थिए।
उपत्यका सडक विस्तार पीडित संघर्ष समितिको संयोजकका रूपमा सहभागी भएका सायमिले भने, 'काठमाडौं कोर-सिटीमा पहिलोपटक डोजर छिरेको छ। यसलाई अहिले नै रोकिएन भने उपत्यकाका अन्य ठाउँमा जस्तै कोर-सिटीमा पनि धेरैलाई घरबारविहीन बनाउनेछ।'
उनले अगाडि भने, 'महानगरले बांगेमुढामा चलाएको डोजर हाम्रो अस्तित्वमाथिको आक्रमण हो। हामीले यसको विरोधमा आन्दोलन नगर्ने हो भने उनीहरूको मनोबल बढ्दै जानेछ र हामी सबैलाई एकदिन उठिबास पार्नेछ।'
नेवा: देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले महानगरका प्रतिनिधिहरूले त्वा छेँको अर्थ नै नबुझेको उल्लेख गर्दै भने, 'यो मूर्खतापूर्ण कामको विरोध गरेनौं भने एकदिन सबै स्थानीय विस्थापित हुने अवस्था आउँछ।'
उनले अगाडि भने, 'आज अर्काको घरमा डोजर चल्दा ताली बजाएर बस्ने हो भने भोलि हाम्रो घरमा पनि डोजर चल्छ। कसैको व्यक्तिगत इगोका लागि हामी नेवा:हरूको प्राचीन बस्तीमा आक्रमण भएको छ। यो घर अब महानगरपालिकाले नै पुनर्निर्माण गर्नुपर्छ। यसका लागि हाम्रो निरन्तर दबाब रहनेछ।'
थायमदुका स्थानीय विराजकाजी राजोपाध्यायले महानगरको डोजर आतंक बन्द गराउन खबरदारी कार्यक्रम आयोजना गरिएको बताए।
'आज हाम्रो सामुदायिक घरमा डोजर चल्यो। हामीले सामुदायिक घर त हो नि भनेर चुप लागेर बस्ने हो भने भोलि हाम्रै घरमा डोजर चल्नेछ। त्यसैले महानगरको डोजर आतंकविरूद्ध हामी स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म सबैलाई खबरदारी गर्छौं,' उनले भने।
बांगेमुढाकै स्थानीय अस्मित मल्लले महानगरका प्रतिनिधिहरूले कानुनी कागजपत्र हेर्न नचाहेको र जबर्जस्ती डोजर चलाएकाले विरोध प्रदर्शन गर्नुको विकल्प नभएको उल्लेख गरे।
'हामीले आफूसँग भएका कानुनी कागजपत्र देखाउँदा देखाउँदै महानगरका नगर प्रहरीहरूले डोजर चलाए। उनीहरूको दादागिरीविरूद्ध सडकमा ओर्लिनुको विकल्प हामीसँग भएन,' उनले भने।
विरोध प्रदर्शन क्रममा स्थानीयले महानगरका मेयर बालेन शाहको पुत्ला जलाएका छन्। उनीहरूले त्वा: छेँ पुनर्निर्माणको माग गर्दै 'रिस्टोर त्वा छेँ' भनेर अभियान सुरू गरेका छन्।
यो अभियानअन्तर्गत महानगरले डोजर चलाएको सामुदायिक घरको भग्नावशेषको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्न स्थानीयहरूसँग आह्वान गरिएको छ।
यो पनि:
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी