सरकारले नागरिकता विधेयक जस्ताको तस्तै फेरि अगाडि बढाउने भएको छ।
बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक पुन: संसदमा पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने सहमति गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार नागरिकता विधेयक पुन: संसदमै फिर्ता पठाएकी थिइन्।
‘राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नुभयो, यो उहाँको संवैधानिक अधिकार हो,’ सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘अब फेरि संसदमा नागरिकता विधेयक पेश गरेर प्रक्रिया पूरा गरी प्रमाणीकरण गर्न राष्ट्रपतिकहाँ पठाउने सहमति भएको छ।’
यस्तै सत्ता गठबन्धनले सत्य निरूपण तथा मेलमिलाप आयोगका विषयमा सरोकारवालाहरू, मानव अधिकारकर्मी तथा नागरिक समाजका सुझावलाई मनन गरेर विधेयक अगाडि बढाउने निर्णय पनि भएको छ।
‘सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयकबारे वृहत छलफल गरेर, सबैको सुझावमा विधेयक अघि बढाउने सहमति भएको छ। यसबारे कानूनमन्त्रीले सबैसँग छलफल गरिरहनुभएको छ,’ सरकारका प्रवक्ता कार्कीले भने।