राष्ट्रपति विद्यादेवी भण्डारीले बाबुको पहिचान नभएको स्वघोषणापछि मात्र आमाको नामबाट नागरिकता पाइने व्यवस्थामा परिमार्जन गर्न सुझाव दिएकी छन्।
संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरण निम्ति पठाएको नागरिकतासम्बन्धी विधेयक आइतबार फिर्ता गर्ने क्रममा राष्ट्रपति भण्डारीले यस्तो सुझाव दिएकी हुन्।
आमाको नामबाट प्राप्त हुने नागरिकतामा आमालाई नै केन्द्रमा राखिनुपर्ने र आमा र सन्तान दुवैप्रति सम्मान हुने गरी पुनर्विचार गर्नु सान्दर्भिक हुने उनको धारणा छ।
‘प्रजननबारे आमाको गोपनीयतालाई आफ्नै सन्तानले नागरिकता प्राप्त गर्ने क्रममा राज्यसामु ‘बाबुको बारेमा स्वघोषणा’ बाट अभिलेखीकरण गरिँदा महिलामाथि लामो समयदेखि हुँदै आएका सबै प्रकारका विभेद अन्त्य गर्न हामीले गरेका संघर्षहरू निष्फल भएर जाने त होइनन् भन्ने प्रश्नले हामी सबैलाई घच्घच्याउनु आवश्यक छ,’ राष्ट्रपतिले संसदलाई पठाएको सन्देशमा उल्लेख छ।
विधेयकले आमाको नामबाट नागरिकता लिन ‘बाबुको पहिचान नभएको’ स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको थियो। उक्त स्वघोषणाको ढाँचा भने विधेयकमा प्रस्ताव गरिएको थिएन। विधेयकले यस्तो स्वघोषणा तोकिएबमोजिम हुने भनेको थियो। यसको अर्थ त्यस्तो स्वघोषणाको ढाँचा नियमावलीमा उल्लेख हुनेछ भन्ने हो।
राष्ट्रपतिले भने त्यस्तो व्यवस्था नियमावलीमा छाड्न नहुने भनेर संसदलाई सम्झाएकी छन्।
‘नियमावलीमा छोड्न लागिएको स्वघोषणासम्बन्धी व्यवस्था ऐनबाट नै आमा र सन्तान दुवैप्रति सम्मान र न्यायपूर्ण हुने गरी पुनर्विचार हुन सम्मानित सदनको ध्यानाकर्षण हुनु आवश्यक छ,’ उनले भनेकी छन्।
राष्ट्रपति भण्डारीले पठाएको पत्र सोमबार संसद सचिवालयमा पुगेको छ। उक्त पत्रमा राष्ट्रपतिले विभिन्न १५ बुँदा उल्लेख गरेकी छन्।