जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकोमा आपत्ति व्यक्त गरेका छन्।
प्रतिनिधिसभाबाट पारित भएर प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको उनले बताएका हुन्।
सेतोपाटीसँग कुरा गर्दै यादवले भने, 'नेपाली नागरिकलाई नागरिकता विहीन नबनाउने कुरा संविधानमै उल्लेख छ। राष्ट्रपतिको यो कदम नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र हो।'
राष्ट्रपति अभिभावकीय दायित्वबाट च्युत भएको यादवले बताएका छन्।
'राज्यभित्रै कसैलाई पनि अनागरिक बनाइनु हुँदैन। नागरिकताबाट बञ्चित गराउने गरी विधेयक फिर्ता गरिनु हुँदैथ्यो। उहाँबाट अभिभावकीय दायित्व पूरा भएन,' यादवले भने।
संघीय संसदबाट साउन १५ मा पारित भएर विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपति कार्यालय पुगेको थियो। १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्नुपर्ने भन्दै आइतबार फिर्ता पठाएकी हुन्।
विधेयक प्रमाणीकरणमा भएको ढिलाइबारे जसपाले आइतबारको संसद बैठकमा समेत राष्ट्रपतिमाथि प्रश्न उठाएको थियो।