गणपुरक संख्या नपुगेको भन्दै पटक/पटक स्थगित गरिँदै आएको तिलोत्तमा नगरपालिकाको सोमबारको नगरसभा पनि स्थगित गरिएको छ।
असार १० गते बजेट प्रस्तुत गरेपछि असार २१ गतेको लागि बोलाइएको नगरसभा नगरप्रमुख रामकृष्ण खाणले असार २६ गते हुँदै ३१ गतेको लागि सारेका थिए।
३१ गते दिउँसो बोलाइएको नगरसभामा ८९ जना जनप्रतिनिधि सहभागी भए पनि ४१ जनाले मात्रै हस्ताक्षर गरेको र गणपुरक संख्या नपुगेको भन्दै स्थगित गरी नगरप्रमुख खाणले साउन १ गतेको लागि सारेका थिए।
आइतबार निर्धारित समयमा सुरू भएको नगरसभामा पनि गणपुरक संख्या नपुगेको भन्दै नगरप्रमुख खाणले सोमबार दिउँसो १ बजेको लागि बैठक बोलाएका थिए।
तर सोमबार बोलाइएको बैठकलाई पनि सूचना टाँस गरेर स्थगित गरिएको छ।
मणिग्रामस्थित एक होटलमा बोलाइएको नगरसभा सुरू हुनु केही समयअघि मात्रै नगरसभा सचिव माधवप्रसाद पौडेलले सूचना टाँस गरी नगरसभा स्थगित भएको जनाएका हुन्।
प्रकाशित सूचनामा नगरपालिकाको नगरसभा सञ्चालन कार्यविधि २०७४ को दफा ६ को उपदफा २ तथा दफा १९ बमोजिम सभाध्यक्ष स्तरीय निर्णय अनुसार मंगलबार ११ बजे बस्ने गरी नगरसभाको मिति परिवर्तन भएको उल्लेख गरिएको छ।
असार मसान्तभित्रै बजेट पास गरी साउनदेखि कार्यान्वयन गर्नुपर्ने भए पनि कांग्रेसबाट निर्वाचित नगरप्रमुख रामकृष्ण खाण तथा एमालेबाट निर्वाचित उपमेयर जागेश्वरी चौधरीको आ-आफ्नै अडानका कारण पटक-पटक नगरसभा स्थगित हुँदै आएको छ।
नगरप्रमुख खाण नगरसभाबाट बजेटमात्रै पारित गराउने योजनामा रहे पनि एमालेका जनप्रतिनिधिले भने बजेटसँगै न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति समेत नगरसभाबाटै गठन गर्नुपर्ने अडान लिँदै आएपछि तिलोत्तमाको विवाद उत्कर्षमा पुगेको हो।
सोही क्रममा असार ३१ गतेको बैठकमा ८८ जना जनप्रतिनिधिले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरे पनि नेपाली कांग्रेसले फर्जी उपस्थिति पुस्तिका तयार गरी आफ्ना पक्षका ४१ जना जनप्रतिनिधिलाई मात्र हस्ताक्षर गरी गणपुरक संख्या नपुगेको भनी नगरसभा स्थगित गरेको एमालेको दाबी छ।
एमालेबाट कार्यपालिका सदस्यमा निर्वाचित सुरेन्द्र श्रीले शुक्रबारको नगरसभामा ८९ जना जनप्रतिनिधि उपस्थित भएकोमा नगरसभाको अध्यक्षता ग्रहण गरेका नगरप्रमुख खाणबाहेक ८८ जनाले हस्ताक्षर गरेको बताए।
आइतबारको बैठकमा पनि एमालेका ४२ जना बाहेकलाई हस्ताक्षर गर्न नदिई प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले उपस्थिति पुस्तिका लुकाएपछि विवाद उत्पन्न भएको उनले बताए।
नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरप्रमुख खाणले बजेटमात्रै पास गर्ने तर विषयगत समिति गठन गर्नेतर्फ चासो नदिएको बताइन्।
यसैबीच तिलोत्तमा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेलेर पौडी पोखरीमा फालिदिने प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीलाई कारबाही गर्न एमाले रूपन्देहीले माग गरेको छ।
नगरसभामा उपस्थित भए पनि आफूहरूलाई उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न नदिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका बीचमा विवाद बढ्दै गएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न गएका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक केसीले वडा अध्यक्ष क्षेत्रीलाई धकेलेर पौडी पोखरीमा फालिदिएका थिए।
एमालेले राष्ट्र र जनताको सेवामा खटिनुपर्ने प्रहरीले जनप्रतिनिधिलाई हुत्याएर पोखरीमा फालिदिनु दुखदायी भएको भन्दै प्रहरी नायब उपरीक्षक केसीलाई कारबाही गर्न माग गरेको हो।
एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई केसीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
एमाले प्रदेश कमिटी सदस्य मोहन चापागाईंले केसीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिइने र गृहमन्त्रीको आडमा गरिएका शक्तिको दुरूपयोगलाई निस्तेज पार्ने विरोध कार्यक्रम गराई आपराधिक काममा संलग्नलाई कारबाही गराएरै छाड्ने बताए।
एमालेनिकट युवासंघले पनि जनप्रतिनिधिमाथि प्रहरीले गरेको धरपकड र दुर्व्यवहारको विरोध गरेको छ।
सोमबार मध्यान्ह मणिग्राम चोकमा युवासंघले प्रदर्शन गर्दै प्रहरी नायब उपरीक्षक केसीमाथि कारबाहीको माग गरेको हो।
यो पनि:
डिएसपी केसीले मलाई लात्तीले धकेलेर पोखरीमा फालिदिनुभयो- वडाध्यक्ष क्षेत्री