बालेन शाहलाई हामी जति चिन्छौं, त्यति नै उनका बारेमा अन्जान छौं।
उनी चर्चित हिपहप गायक हुन्, हामीलाई थाहा छ। उनी स्ट्रक्चरल इञ्जिनियर हुन्, त्यो पनि हामीलाई थाहा भयो। त्योभन्दा बढ्ता उनी कस्ता मान्छे हुन्?
उनी जे छन्, जस्ता छन्, त्यस्ता कसरी भए? कुन भोगाइले उनको व्यक्तित्व बनायो?
हामी बालेनलाई भेटेर यिनै प्रश्नको उत्तर जान्न चाहन्थ्यौं। उनले सधैं आँखामा चढाइरहने कालो चस्मा पछाडिको रहस्य हामी उनलाई भेटेर उधिन्न चाहन्थ्यौं।
बिहीबार, जेठ ५ गते, उनले सानेपाको एजे होम्समा बिहान ११ बजे भेट्ने समय दिए।
एजे होम्स घुमन्ते पर्यटकहरू बस्ने 'बेड एन्ड ब्रेकफास्ट' होटल हो। बाहिर सानो क्याफे छ। हामी पुग्दा क्याफेमा कोही थिएन। पर्यटक पनि कोही देखिएनन्।
होटलको ढोकामा पुगेपछि हामीले कुमार व्यञ्जनकार उर्फ कुमार बेनलाई फोन गर्यौं।
कुमार र बालेन आठ वर्षयताका साथी हुन्। बालेनको सांगीतिक समारोहदेखि सामाजिक अभियानहरूमा उनी एक सहयात्री मात्र होइन, अभिन्न साझेदारकै रूपमा सँगसँगै हिँड्छन्। यसपालि चुनावी अभियान क्रममा बालेनको सामाजिक सञ्जाल व्यवस्थापनदेखि मिडिया संयोजन, सर्वसाधारणसँग भेटघाट र टोलटोलमा चुनावी कार्यक्रमहरू आयोजना गर्ने जिम्मेवारी कुमारले नै सम्हालेका थिए।
कुमार हामीलाई लिन होटलको गेटसम्मै आए। हामी उनलाई पछ्याउँदै भित्र छिर्यौं।
भुइँतल्लाको देब्रेपट्टि दुइटा कोठा थिए। उनले हामीलाई दोस्रो कोठामा लगे।
कोठा बादल लागेको आकाशजस्तै धुम्म थियो। अँध्यारो पनि होइन, उज्यालो पनि होइन। झट्ट हेर्दा सब देखिन्थ्यो तर केही लुकेजस्तो, केही छोपिएजस्तो। देखिने दृश्य र नदेखिने रहस्यको मिसमासजस्तै — मान्छेजस्तै।
कोठामा ढोका भएको भित्ता छाडेर बाँकी तीनैतिर रातो रङका लाम्चा सोफाहरू थिए। बीचमा कालो सिसाको टेबल थियो। टेबल राम्ररी सफा गरिएको थिएन। चियाको कपका टाटा ठाउँठाउँ टिलिक्क टल्केका थिए।
कुमार सरासर पल्लोपट्टि सोफामा ढोकातिर मुख फर्काएर बस्न गए। हामी उनको दाहिनेपट्टि बस्यौं।
त्यतिञ्जेल बालेन आइसकेका थिएनन्।
'यो के तपाईंहरू बस्ने होटल हो?' हामीले सोध्यौं।
'होइन, हामी यहाँ रेस्ट गर्न आउँछौं,' कुमारले भने, 'चुनावको दौडादौडमा आराम गर्न सजिलो हुन्छ।'
उनले त्यसैमा जोडेर भने, 'कसैले टाइम माग्यो भने भेटघाट गर्न पनि सजिलो भयो। नभए कहाँ भेट्ने, कहाँ बसेर कुरा गर्ने, साह्रै झन्झट हुन्छ।'
उनको इसारा सायद हामीतिरै थियो।
हामीले उनलाई तपाईंहरूको कोर टिममा को–को छ भनेर सोध्यौं। कुमारको जवाफ थियो, 'हाम्रो कोर टिम भन्नु नै हामी दुई जना, बालेन र म।'
त्यतिञ्जेल पनि बालेन आएका थिएनन्।
एकछिन हामी चुप्प बस्यौं। धुम्म कोठा शब्दविहीन भएपछि झनै निर्जीव देखियो।
कुमारले कसैलाई फोन गरे, 'उहाँहरू आइसक्नुभयो।'
लाइन काटेपछि हामीतिर हेर्दै भने, 'ऊ (बालेन) माथि छ, आइहाल्छ।'
हामीले केही बेर कुमारसँग चुनावी परिणामबारे कुरा गर्यौं। आइरहेको नतिजाप्रति उनी प्रसन्न देखिए। चुनावी दौडादौडले केही सातादेखि राम्ररी सुत्न नपाएको र खानपिनको टुंगो नभएको सुनाए।
करिब पाँच मिनेटपछि कोठाको ढोका घरक्क खुल्यो।
काठमाडौं महानगरका 'मेयर इन वेटिङ' बालेन शाह भित्र छिरे, हलुकासँग हात मिलाए र हाम्रो सामुन्नेको सोफामा बसे।
उनी आफ्नो चिरपरिचित कालो सुट र कालो टिसर्टमा थिए। उनी चुनावी अभियानभरि सधैं यस्तै पहिरनमा देखिए। जहाँ गए पनि एक रङको सादा सुट र त्यसभित्र कालो टिसर्ट मात्र लगाउने विशिष्ट शैली उनले अपनाएका थिए।
सधैं लगाउने गरेको कालो चस्मा भने थिएन। हामीले पहिलोचोटि बालेनका आँखा चम्किरहेका देख्यौं।
उनीसँग सुरूमा उही मतपरिणाम र चुनावी दौडादौडकै कुरा भए। त्यसपछि विषयवस्तुमा प्रवेश गर्न हामीले आफ्नो मोबाइल झिक्यौं र कुराकानी रेकर्ड गर्न खोज्यौं।
बालेनले असजिलो मानेझैं गरे र भने, 'आज रेकर्ड नगरौं। आज त तपाईंहरूसँग एकछिन भेटघाट मात्र गर्न खोजेको। आज मलाई सन्चो छैन। हिजो खानपिन बिग्रेछ, फुड प्वाइजनिङ भयो। जीउ पूरै गलेको छ। राम्ररी कुरा गर्न सक्दिनँ।'
'निद्रा नपुगेर हो कि?'
'त्यो पनि होला तर खानपिन बिग्रेरै हो,' उनले छोटो उत्तर दिए।
हामीले त्यसपछि अनौपचारिक रूपमा उनको बाल्यकाल कोट्टयाउन खोज्यौं।
उनले आफ्ना अन्तर्वार्ताहरूमा काठमाडौं कोर सिटीको जस्तो परिकल्पना गरेका छन्, त्यो परिकल्पनासँग जोडिएको उनको भोगाइ, उनले देखेको र उनको सम्झनामा रहेको काठमाडौं कस्तो थियो भनेर हामी जान्न चाहन्थ्यौं।
जवाफमा उनले यत्ति भने, 'म नरदेवीमा जन्मेँ, त्यहीँ हुर्केँ। त्यति बेला मैले देखेको काठमाडौं अहिले पनि मेरो सम्झनामा झल्झल्ती छ। म त्यस्तै काठमाडौं पुनर्जीवित भएको देख्न चाहन्छु।'
उनी त्यसपछि चुप्प लागे।
मैले आफ्नो मोबाइलमा एउटा तस्बिर खोलेँ र अलिकति जूम गरेर उनलाई देखाउँदै सोधेँ, 'यो ठाउँ चिन्नुहुन्छ?'
उनले मेरो मोबाइल आफ्नो हातमा लिए र तस्बिर घोरिएर हेरे। चिनेनन्।
मैले जूम खुकुलो गरेँ। उनले तै पनि चिनेनन्।
त्यसपछि मैले नै भनेँ, 'यो तपाईं पढेको पहिलो स्कुल हो। नरदेवीको जलजला माध्यमिक विद्यालय।'
बालेनका बुवा रामनारायण शाह आयुर्वेदिक डाक्टर हुन्। उनी काठमाडौंको नरदेवी आयुर्वेदिक अस्पतालमा काम गर्थे। लामो समय त्यहाँ काम गरेपछि सिंहदरबार वैद्यखाना सरूवा भए। बालेनले एक अन्तर्वार्तामा आफ्नो परिवार नरदेवी आयुर्वेदिक अस्पतालको क्वार्टरमा बस्ने गरेको बताएका छन्। त्यति बेला उनको परिवारमा आमा ध्रुवदेवी शाह, दाजु कौशल र एक जना बहिनी थिए। त्यही अन्तर्वार्तामा उनले जलजला माध्यमिक विद्यालयको नाम लिएका छन्। यो स्कुल नरदेवी अस्पतालबाट एक मिनेट पैदलदुरीमा छ।
म उनको अन्तर्वार्ता सुनेर अघिल्लो दिन मात्र स्कुल खोज्दै गएको थिएँ। स्थानीयका अनुसार यो पहिले नरदेवीको चर्चित स्कुल थियो। बीचमा लामो समय खस्किएर फेरि ब्युँतिँदैछ। म जाँदा स्कुलको आँगनमा विद्यार्थीहरू खचाखच थिए।
मैले एक जना शिक्षक र प्रधानाध्यापकसँग बालेनका बारेमा सोधेँ। उनीहरूले पनि बालेनले अन्तर्वार्तामा आफ्नो स्कुलको नाउँ लिएको सुनेका रहेछन्। तर बालेन आफूकहाँ पढेको चाहिँ उनीहरूले सम्झिन सकेनन्।
'ए तपाईं जानुभएको थियो,' बालेनले फेरि तस्बिर हेरे अनि भने, 'पूरै फेरिएछ। पहिले त अगाडि झ्याम्म झाडी थियो। घरहरू एउटै थिएनन्। बाहिर सडकबाटै स्कुल देखिन्थ्यो। अहिले त पूरै छेकिएछ।'
काठमाडौंका सबैजसो पुराना गल्लीहरू यसैगरी नचिनिने भएका छन्। नयाँ आधुनिक विकासले सहरको पुरानो स्वरूप छोपिएको छ। विकासका नाममा भएका ती विनाश पन्छाएर काठमाडौंलाई मौलिक स्वरूपमा फर्काउने योजना नै बालेनले कोर सिटीको परिकल्पनाका रूपमा अगाडि सारेका छन्।
हामी त्यो परिकल्पनाको सुरूआत र उनको नरदेवी बसाइबारे थप कुरा सोध्न चाहन्थ्यौं। तर उनले 'फुड प्वाइजनिङ' को कारण देखाउँदै कुराकानी लम्ब्याउन चाहेनन्।
बीस मिनेटजति बसेपछि उनी सोफाबाट जुरूक्क उठे र भोलि फेरि समय मिलाएर भेटौंला भन्दै कोठाबाट निस्किहाले।
बालेनलाई सोध्छु भनेर मनमा टिपेर ल्याएका प्रश्नहरू मनमै रहे। अनुत्तरित।
बालेन गइसकेपछि कुमारले भने, 'भोलि फेरि समय मिलाउँला। आज उसलाई सन्चो छैन।'
हामीले हुन्छ भन्यौं तर भोलिपल्ट उनले खबर गरेनन्। हामीले केही दिन पर्खियौं। पाँच दिन खबर नआएपछि हामीले मंगलबार कुमारलाई सम्पर्क गर्यौं। त्यसपछि बल्ल बुधबार बालेनसँग दोस्रो भेट भयो। हामीले उनको बाल्यकाल, राजनीतिक भविष्यदेखि उनको जातीय पहिचानसम्मका विविध विषयबारे दोस्रो भेटमा मात्र प्रश्न सोध्न पायौं। उनको आँखामा केही बेर झाँक्न पायौं।
पहिलो दिन भने बालेन कोठाबाट उठेर हिँडेपछि हामीले करिब पौने दुई घन्टा कुमारसँगै कुराकानी गर्यौं।
त्यो पौने दुई घन्टामा हामीले कुमारको आँखाबाट बालेनलाई चिन्ने प्रयास गर्यौं।
आठ वर्षअघिदेखि सँगसँगै हिँडेका कुमार यस्ता व्यक्ति हुन् जसले बालेनको बहुआयाम नियालेका छन्। उनको भोगाइ र त्यो भोगाइले निर्माण गरेको उनको व्यक्तित्व बुझेका छन्।
उनीहरूको पहिलो भेट सन् २०१४ मा भएको रहेछ। महिना, गते, बार कुमारलाई याद छैन। भेट्नुअघि नै एक र्याप गायकका रूपमा उनी बालेनलाई चिन्थे। कुमार आफैं पनि सांगीतिक लगायत अन्य विभिन्न समारोह व्यवस्थापनको काम गर्थे। उनीहरूको भेट त्यही सिलसिलामा भएको थियो।
'हाम्रो सुरूदेखि नै राम्रो जम्यो। एकअर्काका परिपूरकजस्ता भयौं,' कुमारले सुनाए।
'ऊ लोकल मान्छे हो। त्यसैले काठमाडौंलाई माया गर्छ। यहाँका गल्लीहरू घुम्न, जात्रापर्व मनाउन र यहाँका नेवार परिकारहरू खान एकदमै रूचाउँछ। ऊ फुर्सदमा काठमाडौं र पाटनका गल्लीहरू घुमेर ह्याङआउट गर्न मन पराउँछ।'
हामी चुपचाप उनको कुरा सुन्दै थियौं।
'उहाँमा राजनीतिक झुकाव चाहिँ कहिलेबाट कसरी आयो होला?'
'धेरै पुरानो कुरा त मलाई पनि थाहा छैन,' कुमारले भने, 'मैले भेट्दादेखि नै उसमा राजनीतिक प्रणालीप्रति असन्तुष्टि थियो। ऊ सिस्टममा फैलिएको भ्रष्टाचार, नेताहरूको गुटतन्त्र र नातावादले चिढिन्थ्यो। त्यही भुटभुटी गीतको माध्यमबाट व्यक्त गर्थ्यो।'
'तपाईंहरूले बालेनको र्याप सुन्नुभएको छ?' उनले बोल्दाबोल्दै हामीलाई प्रश्न गरे।
'केही सुनेको छु,' मैले भनेँ।
'उसो भए तपाईंहरूले थाहा पाउनुभयो होला, ऊ अरूजस्तो मनोरञ्जनको गीत मात्र गाउँदैन। उसका गीतहरूमा मायाप्रेम र रमाइलो भाव एकदमै कम हुन्छ। उसको र्याप भनेकै सिस्टमप्रतिको असन्तुष्टि र विद्रोहको अभिव्यक्ति हो।'
उनले अगाडि भने, 'उसको त्यो असन्तुष्टि अनौपचारिक कुराकानीहरूमा पनि व्यक्त हुन्थ्यो।'
'कसरी?' मैले सोधेँ, 'के भन्नुहुन्थ्यो उहाँ?'
'राजनीतिको गुटतन्त्र देखेर ऊ एकदमै फ्रस्ट्रेट थियो। नेताहरू स्वार्थमा भुल्दा हुनसक्ने काम पनि आलटाल भइरहेको र देश विकास हुन नसकेको कुरा गर्थ्यो।'
अनौपचारिक गफगाफ र गीतमा मात्र होइन, बालेनले विभिन्न किसिमका प्रतिरोध कार्यक्रममा संलग्न भएर पनि आफ्नो राजनीतिक झुकाव प्रदर्शन गरिरहेका थिए।
चिकित्सा शिक्षामा व्याप्त भ्रष्टाचारविरूद्ध डा. गोविन्द केसीले सुरू गरेको आन्दोलन क्रममा उनले धेरैचोटि माइतीघरको प्रदर्शनमा भाग लिए। राजनीतिक दलहरूको खिचातानीले संविधान जारी गर्न ढिलाइ भएपछि प्लेकार्ड बोकेर सडकमा निस्किए। नेपाल बन्द र चक्का जाम हुँदा उनी चिढिन्थे र त्यसको विरोध गर्थे।
२०७२ को भुइँचालोपछि उनी इञ्जिनियरका रूपमा मात्र होइन, एक सामाजिक अभियन्ताका रूपमा समेत विभिन्न ठाउँको पुनर्निर्माणमा हिस्सेदार भए। पाँचखालमा दुई हजार पाँच सय घर र नागार्जुनमा दुई सय घर पुनर्निर्माणमा प्रत्यक्ष संलग्न रहेको कुमार बताउँछन्।
'भुइँचालोपछि त उसले आफ्नो र्याप करिअर चटक्कै माया मारेर ४०–४५ वटा जिल्लामा बसेर काम गर्यो,' कुमारले भने, 'त्यो बेला बालेन कहाँ हरायो भनेर उसका धेरै प्रशंसकले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्। समाचार लेखिएका छन्।'
'मेयरको चुनावमै उठ्ने कुरा चाहिँ कहाँबाट कसरी सुरू भयो?'
जवाफमा कुमारले भने, 'भुइँचालो पुनर्निर्माणमा काम गर्दा उसले सिस्टमलाई नजिकबाट चिन्ने मौका पायो। असन्तुष्टि त पहिलेदेखि नै थियो, सँगसँगै काम गर्न थालेपछि उसले यो सिस्टम कसरी विकृत भइसकेको रहेछ र त्यसलाई छिट्टै सुधार गरिएन भने हाम्रो देश कहिल्यै उँभो लाग्दैन भन्ने बुझ्यो।'
यति भनेर उनी एकछिन चुप लागे।
काखमा घोप्ट्याएर राखेको मोबाइल पल्टाएर हेरे। फेरि पहिलेजस्तै घोप्ट्याए र बालेनको राजनीतिक चेत झल्काउने एउटा सोचको वर्णन गरे।
बालेन पहिले एक सामाजिक अभियन्ता मात्र थिए। अभियन्ताको काम आवाज उठाउने हो, प्रश्न गर्ने हो, देश बदल्ने जिम्मेवारी त राजनीतिक प्रणालीकै हो भनेर भन्थे। त्यसैमा उनी विश्वास पनि गर्थे। तर भुइँचालो पुनर्निर्माणमा संलग्न हुँदा जसै उनले यहाँको सिस्टमलाई नजिकबाट देखे र बुझे, त्यसपछि उनको मनस्थिति फेरियो। भ्रष्टाचार र अक्षमताले जड भएको सिस्टमलाई हल्लाउन बाहिरबाट प्रश्न गरेर मात्र हुँदैन, सिस्टमभित्रै छिरेर सुधार ल्याउनुपर्छ भन्न थाले।
'हामीले बाहिरबाट सोध्ने प्रश्नलाई सिस्टमले एक कानले सुन्छ, अर्को कानले उडाइदिन्छ। हामी कराएका करायै हुन्छौं, देश झन् झन् पछाडि धकेलिँदै जान्छ। भित्रै घुसेर हल्लाउन सके मात्र जड सिस्टमले गति समात्छ,' बालेनमा आएको राजनीतिक चेतबारे बुझाउँदै कुमारले भने।
यसरी भित्रभित्रै भुट्भुटिरहेका बालेन स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर गर्न भारत गए।
त्यसैबीच उनले आजभन्दा पाँच वर्षअघि, २०७४ वैशाख ३१ गते, स्थानीय निर्वाचनकै दिन आफ्नो फेसबुकमा लेखेका थिए– 'मैले आज भोट हालिनँ। म उम्मेदवार पनि छैन। मैले सिभिल इञ्जिनियरिङमा स्नातक गरेको छु र स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर गर्दैछु। देश कसरी बनाउनुपर्छ भन्ने मलाई थाहा छ। त्यसैले म अर्कोचोटि भोट हाल्नेछु र आफैंलाई हाल्नेछु। म मेरो देश आफैं विकास गर्छु। मलाई अरू कसैको भर लाग्दैन।'
यो पाँच वर्षमा काठमाडौंका मन्दिरहरूमा धेरै घन्टी बजे। धेरै इताहरू तेलमा भिजे र जले। सुन्दर सहरको सपना देखाउनेहरू आफैं सहरको धूलो र धुँवाभित्र हराए। बालेनले भने आफ्नो सपनामा हरदिन पखेटा हालिरहे।
उनी सुरूमा विवेकशील पार्टीप्रति आकर्षित देखिन्छन्। उनले विवेकशील पार्टीबाटै राजनीति गर्ने चाहना पनि राखेका थिए। विवेकशील र साझा पार्टी एक भएर फेरि छुट्टिएका बेला उनी पार्टीको सम्पर्कमा पुगेका थिए।
उनले यसपालि चुनावमा विवेकशीलबाटै मेयर उठ्ने चाहना राखेको विवेकशीलका नेता मिलन पाण्डे बताउँछन्।
तर र्यापरका रूपमा मात्र चिनिएका बालेनलाई विवेकशीलले पहिले पार्टीको सदस्यता लिएर आउन र पार्टीमा सक्रिय भएर संलग्न हुन सुझाव दियो।
बालेनले विवेकशीलको सदस्यता लिएनन्। मेयरमा उठ्ने सपना पनि छाडेनन्।
बालेनले चुनाव उठ्ने निधो गरेपछि कुमारले दुइटा प्रश्न सोधेका थिए— तिम्रो पुराना काण्डहरू के के छन्? तिमीसँग चुनाव लड्न पैसा कति छ?
कुमारले यी प्रश्न सोध्नुको कारण छ।
कुमार आफू व्यक्तिगत रूपमा सक्रिय राजनीतिमा नरहे पनि एक राजनीतिक परिवारका सदस्य हुन्। उनका बुवा नरसिंह व्यञ्जनकार ललितपुर महानगरपालिका वडा नम्बर १० का निवर्तमान अध्यक्ष हुन्। व्यञ्जनकारले २०२९ सालदेखि अनवरत वडाध्यक्षको चुनाव लडे र सधैं जिते। उनी यसैपालि मात्र आफ्नै भतिजबाट पराजित भएका छन्। अधिकांश चुनाव उनले स्वतन्त्र हैसियतमा लडेका थिए।
आफ्नो बुवाको त्यो राजनीतिक विरासत थोरै भए पनि कुमारको काँधमा थियो। बाबुले जिन्दगीभरि निष्ठाको राजनीति गरेको र आफ्नो इमानदारीले जनताको मन जितेको उनले देखेका थिए।
'बालेन चुनावमा उठेपछि र म पनि सँगसँगै लागेपछि मेरो बुवाको त्यति पुरानो राजनीतिक विरासत पनि जोडिन पुग्छ। चुनाव बेला उम्मेदवारहरूको अतीतलाई हरकिसिमले खोतल्ने प्रयास गरिन्छ। झन् स्वतन्त्र उम्मेदवारलाई त दलहरूले चौतर्फी आक्रमण गर्न कुनै कसर छाड्दैनन्। यस्तोमा बालेनको अतीतको कुरा पनि उठ्छ। ऊ कुनै पुरानो घटनामा जोडिएको छ भने खोतलखातल पारेर बाहिर निकालिन्छ। त्यसैले म त्यसबारे जान्न चाहन्थेँ, ताकि भोलि चुनावको मैदानमा हिँडिसकेपछि मलाई कुनै किसिमको सरप्राइज नहोस्। उसको नाम जोगाउँदै हिँड्नुपर्ने नौबत नआओस्,' कुमारले भने।
पहिलो प्रश्नको जवाफमा बालेनले भने, 'मेरो कुनै त्यस्तो रहस्यमयी अतीत छैन। म कुनै पनि काण्डमा संलग्न छैन।'
दोस्रो प्रश्न बालेनको आर्थिक क्षमतासँग सम्बन्धित थियो। त्यसमा उनले भने, 'म त्यतिविधि धनी मान्छे त होइन तर पछिल्लो पाँच–सात वर्षमा इञ्जिनियरिङ कन्सल्टेन्सी र गीत गाएर चौध–पन्ध्र लाख रूपैयाँ जम्मा गरेको छु। चुनाव आउन अझै पाँच महिना बाँकी छ। यसबीच म अरू शोहरू गर्न सक्छु। कलेजहरूमा बोल्न बोलाइरहेका हुन्छन्। त्यहाँ पनि जान सक्छु। सबै गरेर थप चौध–पन्ध्र लाख कमाउन सक्छु।'
'बालेनले मोटामोटी तीस लाख रूपैयाँ बन्दोबस्त गर्न सक्ने हिसाब निकाल्यो,' कुमारले भने, 'यति भए पर्याप्त हुन्छ भनेर हामी चुनावी अभियानमा जुट्यौं।'
उनले जति हिसाब निकालेका थिए त्यसको एकचौथाइ पनि खर्च गर्नु नपरेको कुमार बताउँछन्।
'हाम्रो अहिलेसम्मको जम्माजम्मी खर्च साढे चार लाख हो,' उनले आफ्नो औंला भाँच्दै खर्च विवरण सुनाए, 'डेढ लाख फ्लेक्समा खर्च भयो। डेढ लाखको टिसर्ट बनायौं। एक लाख जति पर्चा, पम्प्लेटमा गयो। त्यसबाहेक अहिलेसम्म चुनावी अभियानमा हिँड्दा र साथीभाइलाई खाजा खुवाउँदा ५०–६० हजार खर्च भयो होला। त्यत्ति हो।'
'तपाईंहरूले वेबसाइटबाट पनि चन्दा संकलन गर्नुभएको थियो नि?' हामीले सोध्यौं।
'सुरूमा गरेको हो। त्यसबाट तीन–चार लाख जम्मा भएको थियो। पछि हामीले चन्दा लिन बन्द गर्यौं,' उनले जवाफ दिए।
'किन त?'
'त्यसरी पैसा लिँदा भोलि कुनै न कुनै रूपमा पैसा दिनेहरूको स्वार्थ जोडिएर आउँछ भन्ने हामीलाई लाग्यो,' कुमारले भने, 'पैसा दिनेहरूप्रति जवाफदेही हुनुपर्यो। उनीहरूले हामीबाट केही आश राखेका हुन सक्छन्। त्यो आश सामाजिक भए त केही भएन तर उनीहरूको व्यक्तिगत आश रहेछ भने त्यो नै भविष्यमा हाम्रो निम्ति भार हुने भयो।'
चन्दा लिँदाको बेफाइदा बुझाउन उनले एउटा उदाहरण पनि दिए, 'एक जनाले हामीलाई ८० हजार रूपैयाँ दिएका थिए। अहिले उनले दिनको तीनपटक मेरो पैसा कसरी खर्च भयो, कहाँ खर्च भयो भनेर सोधिरहन्छन्। हामी उनको खर्चको हिसाब दिँदै बस्ने कि आफ्नो काम गर्ने?'
मितव्ययी हुन चुनावी टिम पनि सानो बनाएको उनी बताउँछन्।
'हाम्रो टिम सानो छ। कोर टिम भनेकै हामी दुई जना हौं— बालेन र म। अरू साथीहरू त बालेनको भिजनबाट आकर्षित भएर स्वतस्फुर्त जोडिँदै गएका हुन्,' कुमारले भने, 'बरू हामीसँग नारा लगाउँदै हिँड्ने मान्छे नहोस्, मतदानको बुथमा बस्ने प्रतिनिधि नहोस्, तर धेरै मान्छे पछि नलगाउने हामीले निधो गरेका थियौं। हाम्रा दलका नेताहरूले सयौं कार्यकर्ता पछि लगाउँछन्। ती कार्यकर्ता खुसी राख्न भोलि आफू पदमा पुगेपछि उनीहरूको केही न केही काम गरिदिनुपर्छ। ती काममा देशको स्वार्थभन्दा मान्छेको व्यक्तिगत स्वार्थ हाबी हुन्छ। त्यस्तो गल्ती गर्नु हुँदैन भन्ने बालेनको विचार थियो। मलाई पनि ठिक लाग्यो। मेरो बुवा पनि एक्लै चुनावमा होमिनु हुन्थ्यो, कोही उहाँको साथ होस् कि नहोस्।'
उनले अगाडि भने, 'सबैको चुनाव प्रचारप्रसार गर्ने छुट्टै अफिस हुन्छ। बालेनको त त्यो पनि थिएन। साथीहरूले धेरै कर गरेपछि दस–पन्ध्र दिनअघि मात्र हामीले मध्यबानेश्वरमा एउटा फ्ल्याट लिएर सम्पर्क कार्यालय खोलेका थियौं। त्यो ठाउँ पनि साथीहरू जम्मा हुने थलो मात्र हो। हामी त्यहाँ विरलै पुग्छौं।'
'त्यसो भए चुनाव प्रचार कसरी भयो त?' हामीले सोध्यौं।
'हामी पाँच महिना अगाडिदेखि नै दिनको डेढ–दुई सय मान्छे भेट्थ्यौं। पाँच महिनामा तीस हजार मान्छेलाई प्रत्यक्ष भेट्यौं होला,' उनले भने, 'कहिले कुन टोलमा पुग्थ्यौं, कहिले कुन चिया पसलमा जान्थ्यौं। त्यहाँ बसेर स्थानीय युवाहरूसँग घन्टौं कुराकानी गर्थ्यौं। बालेन ती युवाहरूलाई आफ्नो भिजन सम्झाउँथ्यो।'
उनले अगाडि भने, 'बालेन र्याप गायक भएकाले युवा पंक्तिमा त्यसै पनि लोकप्रिय थियो। ऊ आफैं गफ गर्न अघि सरेपछि युवाहरू उसको कुरा सुन्न झुम्मिन्थे। यसबाट हामीलाई काठमाडौंको स्थानीय समुदाय, खासगरी युवा पंक्तिमा आफ्नो कुरा पुर्याउन सजिलो भयो।'
काठमाडौंका टोल–टोलमा गएर भेटघाट गर्दा बालेन र कुमारले यहाँका मतदाता मात्र छानेनन्। जो भेटिन्छ, उसैलाई आफ्नो योजना सुनाए। तीमध्ये कोही काठमाडौं बाहिरका पनि थिए जो यहाँ डेरामा बस्थे। त्यस्ता व्यक्तिले बालेनका कुरा सुनेर भने, 'दाइ हामीले त तपाईंलाई भोट हाल्न मिल्दैन तर हामी आफ्नो घरबेटीलाई यसपालि तपाईंलाई नै भोट दिनुस् है भनेर सम्झाउँछौं।'
कोही पहिलोचोटि भोट हाल्न लागेका युवाहरू थिए जो बालेनका कुरा सुनेर भन्थे, 'दाइ हाम्रो भोट तपाईंलाई नै हो। हामी सकेसम्म आमाबुवा, दाइदिदीलाई पनि तपाईंलाई नै भोट हाल्नुस् भनेर सम्झाउँछौं।'
मतदानको दिन पकनाजोलको नेपाल युवक माविमा भोट हाल्न आएका एक युवाले हामीलाई भनेका थिए, 'मलाई अरू नेताहरूप्रति भरोसा छैन। बालेन शाहको कुरा सुनेर मात्र यो वर्ष विदेश नगएको। बालेन शाहले जितेन भने म नेपालमा बस्दिनँ।'
बालेनलाई यसबीच दर्जनभन्दा बढी कलेजले अतिथि वक्ताका रूपमा पनि बोलाए। त्यहाँ गएर उनले आफ्नो काठमाडौं परिकल्पना सुनाए। विद्यार्थीहरू बालेनका कुरा सुनेर उत्साहित हुन्थे। उनीसँग फोटो खिच्थे र फेसबुकमा पोस्ट गर्थे।
'यसले बालेनको चर्चालाई काठमाडौंका घरघरमा, मान्छेका हातहातमा पुर्यायो। यो हाम्रो निम्ति प्लस प्वाइन्ट भयो,' कुमारले भने, 'हामी कसैसँग पनि सिधै बालेनलाई भोट हाल्नुस् भनेर भन्दैन थियौं। ऊ आफ्नो योजना सुनाउँथ्यो, मान्छेहरू उसको त्यही योजना सुनेर आकर्षित हुन्थे।'
बालेनको चुनावी अभियानमा साबिकको विवेकशील पार्टीका कतिपय नेताले सार्वजनिक रूपमै समर्थन र सहयोग पनि गरेका छन्। विवेकशीलसँग निकट युवा मोर्चाले त औपचारिक वक्तव्य जारी गरेर बालेनलाई सहयोग गर्ने घोषणा गरेको थियो।
विवेकशीलबाट सहयोग गर्नेमा शिशिर बन्जारा, सौरभ न्यौपाने, भूपदेश शाह लगायत प्रमुख छन्। उनीहरू बालेनको तर्फबाट मतदान बुथमा मात्र बसेनन्, अहिले पनि बालेनको प्रतिनिधिका रूपमा मतगणना स्थलमा बस्दै आएका छन्।
यीमध्ये हामीले शिशिर बन्जारासँग कुरा गरेका छौं। अघिल्लो चुनावमा रञ्जु दर्शनाको प्रचारप्रसारमा संलग्न तत्कालीन विवेकशीलका थुप्रै युवाहरू यसपालि बालेनको पक्षमा लागेको उनी स्वीकार गर्छन्।
उनी आफैं पनि एकीकृत विवेकशील साझाका केन्द्रीय सदस्य हुन्। पार्टीभित्र मतभेद बढेपछि अलग्गिएको उनी बताउँछन्।
'हामी आफैंले बालेन शाहलाई समर्थन गर्ने निर्णय गरेर भेट्न गएका हौं,' बन्जाराले भने, 'सुरूमा त उहाँले विश्वास गर्नु भएन होला। तर हामीले काम गरेर देखाएपछि र धेरै दिन उहाँसँगै हिँड्न थालेपछि अहिले एउटै टिमका रूपमा छौं।'
खासगरी प्रचारप्रसारको अन्तिम समयतिर आफूहरूले नै रणनीति बनाएर बालेनका निम्ति घरदैलो कार्यक्रम आयोजना गरेको र मान्छेहरू डाकेको उनी बताउँछन्।
'हामीले समाजका प्रबुद्ध वर्गलाई बालेन शाहको पक्षमा बोल्न अनुरोध गर्यौं,' उनले भने, 'लगातार मान्छे जुटाउँदै, सम्झाउँदै, बुझाउँदै गरेपछि चुनावको दुई दिनअघि बालाजु क्षेत्रमा करिब पाँच सय जनाको र्याली निकाल्न सफल भएका थियौं।'
गीत तथा फिल्म क्षेत्रका थुप्रै सेलेब्रेटीले सामाजिक सञ्जालका माध्यमबाट बालेन शाहको पक्षमा खुलेर बोल्नुले पनि प्रचारप्रसारमा धेरै फाइदा पुगेको देखिन्छ। यसमा खासगरी अभिनेता तथा निर्देशक निश्चल बस्नेत, अभिनेत्री प्रियंका कार्की, स्याडोज ब्यान्डका गायक स्वप्नील शर्मा लगायत छन्।
यीमध्ये अभिनेता तथा निर्देशक निश्चल बस्नेतसँग बालेनका बारेमा सोध्दा उनले भने, 'मैले उनलाई र्यापरका रूपमा चिनेको हुँ। उनी र्याप ब्याटलमा सहभागी हुँदादेखि नै हामी कुराकानी गर्थ्यौं। उनी गीतका माध्यमबाट सामाजिक बेथिति उजागर गर्छन् र परिवर्तनको सन्देश दिन्छन्।'
उनले अगाडि भने, 'धेरै व्यक्तिहरू आफ्नो असन्तुष्टि पोखेर मात्र बस्छन्। निकै कम यस्ता हुन्छन् जो त्यसको समाधान म दिन्छु भनेर अगाडि सर्छन्। बालेन तिनैमध्ये एक हुन्। यसरी कोही आफ्नो नियमित काम छाडेर परिवर्तनको निम्ति अगाडि सर्छ भने उसलाई साथ दिनु हाम्रो कर्तव्य हो। त्यस्तो व्यक्तिलाई पनि साथ नदिनु भनेको हामी आफैंमा केही समस्या छ भन्ने संकेत हो।'
यही सोचेर जुन दिन बालेनले काठमाडौंलाई कस्तो बनाउने भनेर योजना सार्वजनिक गरे र अन्तर्वार्ताहरूमा बोले, त्यसै दिन निश्चलले पनि बालेनको समर्थनमा सामाजिक सञ्जालमा बोल्ने निधो गरे।
'हामी सबै सिस्टमबाट असन्तुष्ट छौं। आधारभूत सेवा पनि नपाउने अवस्थाले दिक्क छौं। बालेनले त्यो सिस्टम सुधार्ने योजना ल्याएका छन्। मेरो समर्थन उनको त्यही योजनामा हो,' निश्चलले भने, 'भोलि फेरि पुरानै प्रवृत्ति दोहोरियो भने म फेसबुकमा लेखेर होइन, उनलाई व्यक्तिगत रूपमै भेटेर आफ्नो असन्तुष्टि जाहेर गर्नेछु।'
'त्यस दिन म बालेनलाई भन्नेछु, तिमीले गरेको काम ठिक भएन। के यसकै लागि हामीले तिमीलाई भोट हालेका हौं? उनलाई यतिसम्म भन्ने सुविधा मसँग छ भन्ने मलाई लाग्छ,' निश्चलले भने।
चुनावी दौडाहाकै क्रममा बालेनले पटकपटक कुमारका बुवा नरसिंह व्यञ्जनकारलाई पनि भेटे। उनी व्यञ्जनकारलाई आफ्नो 'राजनीतिक गुरू' मान्छन्। व्यञ्जनकारले कुन दलबाट को उम्मेदवार उठ्न सक्छन्, कसको सामर्थ्य के हो र कमजोरी के हो भनेर बालेनलाई बुझाएका थिए। उम्मेदवारी घोषणा भइसकेपछि उनीहरूले उठाउने प्रश्नमा कसरी जवाफ दिने भनेर तयार पनि गराए।
यही सरसल्लाहबाट कुनै पनि दल र दलका प्रतिस्पर्धी उम्मेदवारप्रति नमीठो बचन नबोल्ने, गालीगलौच नगर्ने, पुरूष उम्मेदवार भए बुवा र महिला उम्मेदवार भए आमा भनेर सम्बोधन गर्ने तय भएको कुमार बताउँछन्।
हुन पनि बालेनले चुनावभरि एक शब्द नमीठो बोलेनन्। नमीठो टिप्पणीमा पनि मीठो जवाफ फर्काए जसमा उनको व्यंग्य चेत मिसिएको हुन्थ्यो। ठाउँको ठाउँ जवाफ फर्काउने र्याप ब्याटलको अनुभवले सायद उनलाई धेरै सहयोग गर्यो। उनले नेपाली कांग्रेसकी सिर्जना सिंहलाई 'आमा' भनेर सम्बोधन गरे, नेकपा एमालेका केशव स्थापितलाई 'बुवा' भने।
स्थापितलाई त उनी चुनावभन्दा धेरै अगाडि घरैमा भेट्नधरि गएका थिए जुन प्रसंग स्थापितले पनि आफ्ना केही अन्तर्वार्ताहरूमा उल्लेख गरेका छन्।
स्थापितसँग झन्डै साढे दुई घन्टा नगर विकासका विविध विषयमा कुराकानी भएको कुमार सम्झिन्छन्।
यति मात्र होइन, बालेनले कहिले व्यावसायिक इञ्जिनियरका रूपमा त कहिले एक स्वतन्त्र सामाजिक अभियन्ता वा मेयरको भावी उम्मेदवारका रूपमा सय वटाभन्दा बढी नगरपालिकामा गएर उनीहरूको काम गर्ने तौरतरिका, शैली र ढाँचा मिहीन अध्ययन गरेको कुमार दाबी गर्छन्।
काठमाडौंको संस्कृति र सम्पदादेखि शिक्षा, स्वास्थ्य, जल व्यवस्थापन, ट्राफिक व्यवस्थापन र फोहोर व्यवस्थापनसम्मका विभिन्न सरोकारवाला र विज्ञहरूलाई भेटेर, पचासौं घन्टा उनीहरूका कुरा सुनेर त्यसकै आधारमा सुन्दर काठमाडौंको खाका कोरेको पनि उनी बताउँछन्।
बालेनले व्यक्तिगत भेटघाट गरेर परामर्श लिएकामा भक्तपुर नगरपलिकाका मेयर सुनील प्रजापति, तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरे, काठमाडौंका ढुंगेधारा विशेषज्ञ सन्ध्या खनाल, आँखारोग विशेषज्ञ डाक्टर सन्दुक रूइत, महावीर पुन लगायत प्रमुख छन्।
यी विशेषज्ञको नाउँ बालेनले आफ्ना थुप्रै अन्तर्वार्तामा लिएका छन्। उनीहरूको रायसुझावका आधारमा आफूले काठमाडौंको परिकल्पना र चुनावी घोषणापत्र लेखेको पनि उनले भनेका छन्।
बालेन र कुमारले नाम लिएका नगरप्रमुख र विज्ञहरूसँग हामीले पनि सम्पर्क गर्यौं।
बालेनले मतदानको दुई महिनाअघि भक्तपुरका मेयर सुनील प्रजापतिसँग भेटेका थिए। २०७८ चैत २ गते भक्तपुर नगरपालिकाको मिटिङ हलमा पहिलोचोटि बालेनसँग भेटेको र एक घन्टाभन्दा बढी कुराकानी गरेको क्षण प्रजापतिलाई राम्ररी याद छ।
'उहाँ पेसाले स्ट्रक्चरल इञ्जिनियर हुनु हुँदो रहेछ। गीत पनि गाउनु हुँदो रहेछ। मैले चाहिँ नामै सुनेको थिइनँ। साथीहरूले नै उहाँले भेट्न चाहनुभएको छ भनेर खबर ल्याएपछि मैले समय मिलाएँ,' बालेनसँगको भेट सम्झिँदै प्रजापतिले भने।
त्यस दिन बालेनले पछिल्लो पाँच वर्षमा भक्तपुर नगरपालिकाले लागू गरेका विकास निर्माण कार्यक्रम र नीतिहरूबारे रूचि देखाएको उनी सम्झिन्छन्।
बालेनले खासगरी सम्पदा संरक्षणका तौरतरिका, सामुदायिक शिक्षा सुधार्ने विधि र भक्तपुरले जस्तै टोलटोलमा स्वास्थ्यकर्मीको टोली खटाएर प्राथमिक सेवा दिने शैलीबारे प्रश्नहरू सोधेका थिए।
नगरपालिका र वडास्तरमा हुने भ्रष्टाचारबारे बालेनले राखेको जिज्ञासामा जवाफ दिँदै प्रजापतिले भनेका थिए, 'भ्रष्टाचारविरूद्ध हामीले शून्य सहनशीलताको नीति लिएका छौं। भ्रष्टाचार भएको थाहा भयो भने ठाउँको ठाउँ कारबाही गर्छौं भनेर सबैलाई भनेका छौं। मेयरले आफू एक पैसा भ्रष्टाचार गर्दिनँ र अरू कसैले गरेको पनि सहन्नँ भनेर सन्देश दिने हो भने आधा समस्या त्यसै हल हुन्छ। त्यसपछिको आधा समस्या तपाईंको व्यक्तिगत कामकारबाहीमा भर पर्छ।'
उनले अगाडि भने, 'तपाईंले लप्पनछप्पनवाला योजना स्वीकार नगर्ने, त्यस्ता योजना ल्याउनेलाई नगरपालिकामा घुस्न पनि नदिने र त्यस्तो काम गर्न उक्साउने कर्मचारी र वडाध्यक्षहरूलाई सुरूदेखि नै निरुत्साहन गर्ने हो भने तपाईं पाँच वर्ष निर्धक्क काम गर्न सक्नु हुन्छ। तपाईंको काममा कसैले अवरोध पुर्याउँदैन।'
प्रजापतिले करिब डेढ वर्ष सेनासँग छलफल गरेर उनीहरूकै समन्वयमा भक्तपुरको रानीपोखरीलाई अतिक्रमणमुक्त गरेको अनुभव पनि बालेनलाई सुनाए।
भक्तपुरको यो अनुभव आगामी दिनमा बालेनलाई उपयोगी हुनसक्छ। उनी यही पदचिह्न पछ्याउँदै काठमाडौंको टुँडिखेललाई सैनिक अतिक्रमणबाट मुक्त गरेर खुला सार्वजनिक पार्कमा परिणत गर्न सक्छन्।
तिलोत्तमाका नगरप्रमुख वासुदेव घिमिरेसँग बालेनले भेटेको पनि चैत महिनाको सुरूतिरै हो। नगरपालिकाको कार्यकक्षमा करिब दुई घन्टा कुराकानी भएको घिमिरे सम्झिन्छन्।
घिमिरेका विचारमा नगरको कामकारबाहीबारे अनभिज्ञ मान्छेलाई काम गर्न गाह्रो हुन्छ। कतिपय सन्दर्भमा कर्मचारीहरूले नानावली कुरा गरेर घुमाइदिन सक्छन्। वडाध्यक्षहरूको तीव्र दबाब थेग्न गाह्रो हुन्छ। बुझेका मान्छेले त्यस्तो परिस्थिति चलाखीपूर्वक सामना गर्न सक्छ। स्ट्रक्चरल इञ्जिनियरका रूपमा भौतिक पूर्वाधार निर्माणका सबै कुरा बुझेको र विभिन्न नगरपालिकासँग लामो समय नजिक रहेर काम गरेको अनुभवका कारण बालेनलाई काठमाडौं हाँक्न कठिनाइ नहुने उनको विश्वास छ।
फरक–फरक राजनीतिक पृष्ठभूमिबाट आएका जनप्रतिनिधिहरूसँग कसरी काम गर्ने भन्ने जिज्ञासा पनि बालेनले राखेको उनी बताउँछन्।
दुई घन्टा कुराकानी गरेको र उनका योजना सुनेको आधारमा बालेन 'दह्रो इच्छाशक्ति भएका मान्छे हुन्' भन्ने घिमिरेलाई लाग्छ।
भक्तपुर र तिलोत्तमाका वर्तमान र निवर्तमान नगरप्रमुखपछि हामीले बालेनलाई सामुदायिक स्वास्थ्य सेवाबारे परामर्श दिने डा. सन्दुक रूइतसँग कुराकानी गर्यौं।
मनाङका गाउँमा आँखा शिविर सञ्चालन गर्न पुगेका डाक्टर रूइतले उतैबाट टेलिफोनमा भने, 'हामीले आमजनतामा स्तरीय स्वास्थ्य सेवाको पहुँच कसरी सहज बनाउने, कसरी बीमाको सुविधा उपलब्ध गराउने, स्वास्थ्य सेवामा रहेका अवरोधहरू कसरी हटाउने लगायत विषयमा छलफल गरेका थियौं।'
उनका अनुसार बालेनमा काठमाडौंको स्वास्थ्य सेवा सुधार गर्ने प्रतिबद्धता देखिन्छ। उनले काठमाडौंका सकभर प्रत्येक वडा र नभए कम्तीमा तीनवटा वडामा एउटा दक्ष जनशक्ति, प्रयोगशाला र नर्सिङ सुविधासहितको सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने भनेका छन्। ती स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार सेवाहरू दिने, महिलाहरूको स्तन क्यान्सर लगायत अरू विभिन्न किसिमका क्यान्सर स्क्रिनिङ गराउने उनको उद्देश्य छ।
यसनिम्ति कुन स्तरको जनशक्ति चाहिन्छ र कुन स्तरको प्रयोगशाला विकास गर्नुपर्छ भन्नेबारे परामर्श भएको डा. रूइत बताउँछन्।
बालेन शाह तपाईंलाई कस्तो लाग्यो भन्ने प्रश्नमा उनले भने, 'हामीकहाँ पैंचोको राजनीति धेरै भयो। केही लिएर पछि केही दिने राजनीतिमा देश रूमल्लिरह्यो। यो चक्र तोड्नु जरूरी छ। बालेन शाह जसरी तयारी गरेर राजनीतिमा आएका छन्, उनले थोरै भए पनि परिवर्तनको सुरूआत ल्याउँछन् भन्ने मलाई आशा छ।'
उनले अगाडि भने, 'काठमाडौंले सधैं परिवर्तनको नेतृत्व गर्छ। राजनीतिमा देखिएको यो परिवर्तन पनि भोलि देशैभरि अनुकरण हुनसक्छ। यसले यथास्थितिको राजनीतिमा ढ्यांग्रो ठोकेको छ।'
बालेनले छलफल गरेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर सन्ध्या खनाल ढुंगेधारा विशेषज्ञ हुन्। उनले भने बालेनलाई व्यक्तिगत रूपमा अहिलेसम्म भेटेकी छैनन्। दुईचोटि मेसेन्जरमा संवाद गरेकी हुन्।
पहिलो संवाद २०७८ माघ १८ गते भएको थियो जुन लगभग सवा दुई घन्टा चलेको उनी बताउँछिन्। दोस्रो संवाद चाहिँ बालेनले घोषणापत्र सार्वजनिक गर्नुभन्दा केही दिनअगाडि भयो जुन पहिलेभन्दा छोटो थियो।
दुवै संवाद काठमाडौं उपत्यकाको राजकुलो प्रणाली र ढुंगेधारा व्यवस्थापनमा केन्द्रित रहेको खनालको भनाइ छ।
'उहाँले तपाईंसँग के के कुरामा जिज्ञासा राख्नुभयो त?' हामीले प्रश्न गर्यौं।
जवाफमा प्राध्यापक खनालले भनिन्, 'राजकुलो पुनर्स्थापना गर्न सकिन्छ कि सकिँदैन र खासगरी काठमाडौंका ढुंगेधाराहरूमा फेरि पहिलेजस्तै कलकल पानी आउने बनाउन सकिन्छ कि सकिँदैन भनेर सोध्नुभयो।'
'अनि तपाईंले के जवाफ दिनुभयो त?'
'राजकुलो त अब मरिसक्यो। पाटनको राजकुलो ब्युँताउन सकिन्छ, काठमाडौंको चाहिँ गाह्रो छ। पहिले बुढानिलकण्ठदेखि मध्य–काठमाडौंसम्म जुन बाटो हुँदै राजकुलो बग्थ्यो, अहिले त्यहाँ घना बस्ती छ। त्यो बस्ती उजाडेर राजकुलो पुनर्स्थापना गर्नु भनेको असम्भव कार्य हो,' उनले बालेनलाई भनेको कुरा हामीलाई सुनाइन्, 'जहाँसम्म ढुंगेधाराहरूको सवाल छ, ती पनि सबै पुरानै अवस्थामा फर्किन सक्दैनन्। मैले बालेनजीले काठमाडौंमा कतिवटा ढुंगेधारा थिए, तीमध्ये कतिवटा मासिए र कति कुन रूपमा छन् भनेर विस्तार लगाएकी थिएँ। केही ढुंगेधारा ब्युँताउन सकिन्छ। यसको निम्ति वरिपरिका स्थानीय र खासगरी बूढाबूढीहरूसँग कुराकानी गरेर त्यो ढुंगेधारामा पानी आउने बाटो पत्ता लगाउनुपर्छ। त्यो बाटो बन्द भएको छ भने स्थानीयकै सहयोगमा खोल्न सकिन्छ। ढुंगेधारामा पानी आउँदा उनीहरूकै दैनिक जीवन कसरी सहज हुन्छ भनेर बुझाउनुपर्छ।'
काठमाडौंमा प्रचुर रूपले बोरिङको पानी तान्ने प्रवृत्तिले जमिनमा पानीको मात्रा घट्दै गएको र यसले ढुंगेधाराहरू सुकेको उनले सुनाइन्। बोरिङको पानी तान्न छाड्ने हो भने केही हदसम्म पानीको समस्या समाधान हुने उनको भनाइ छ। त्यसले केही ढुंगेधारा ब्युँतिन सक्छन्, सुकेका इनारमा फेरि पानीको मूल फुट्न सक्छ।
प्राध्यापक खनालका अनुसार सबभन्दा ठूलो कुरा चाहिँ पानी आए पनि नआए पनि ढुंगेधाराको व्यवस्थापन अहिलेको मुख्य कुरा हो।
'काठमाडौंका ढुंगेधारा भनेका आजका संरचना होइनन्। धेरै मल्लकालीन छन्, कतिपय लिच्छविकालदेखिका पनि छन्। यसको महत्व भनेको पानीको आपूर्ति मात्र होइन। कुनै कालखण्डमा पानी आपूर्ति गर्न बनाइयो होला तर अहिलेको समय यी ढुंगेधारा हाम्रो प्राचीन र मध्यकालीन मूर्तिकला, वास्तुकला र पानी आपूर्ति प्रणाली बुझाउने सम्पदाहरू हुन्,' खनालले भनिन्, 'त्यसैले कलकल पानी बगाउन नसके पनि सम्पदा संरक्षणका हिसाबले यी ढुंगेधाराको सरसफाइ र व्यवस्थापन जरूरी छ।'
उनको सुझाव थियो– बालेनले आफू मेयर निर्वाचित भएर आएपछि ढुंगेधारा व्यवस्थापन निम्ति एउटा छुट्टै टिम बनाउनु पर्नेछ। उक्त टिमले काठमाडौंका सबै ढुंगेधारा घुमेर कुन कस्तो अवस्थामा छ रेकर्ड राख्नुपर्छ। त्यसै आधारमा पानी आउन सक्ने ढुंगेधारामा पानी ल्याउन चाँजो मिलाउने र नआउन सक्नेलाई सम्पदाका हिसाबले संरक्षण गर्ने कार्यक्रम बनाउनुपर्छ।
'उहाँ जुन रूपमा योजना बनाएर, विषयवस्तुहरू बुझेर आउनुभएको छ, त्यो हेर्दा राम्रो गर्न सक्नु हुन्छ भन्ने मलाई विश्वास छ,' प्राध्यापक खनालले भनिन्।
बालेनले यसरी विषयवस्तु बुझ्नुमा र प्राध्यापक खनालले भनेजस्तै सटिक प्रश्नहरू सोध्न सक्नुमा उनको आफ्नै अध्ययन र मिहिनेत पनि देखिन्छ। उनले पछिल्लो पाँच महिनामा काठमाडौंका दर्जनजति ढुंगेधारा आफैं घुमेको र सुन्धारामा त झन्डै तीन घन्टा बिताएर पानीको स्रोत र निकासबारे जानकारी लिएको कुमार बताउँछन्।
उनले काठमाडौंको संस्कृति, सम्पदा, जात्रापर्वदेखि यहाँको प्रमुख समस्या फोहोर व्यवस्थापनबारे गहिरो अध्ययन गरेको कुमारको भनाइ छ।
'यो पाँच महिनामा उसले काठमाडौंको बारेमा जति धेरै किताब पढ्यो, त्यति किताब यति कम समयमा सायदै कसैले पढेको थियो। जति धेरै मान्छेलाई भेटेर सूचना बटुल्यो, त्यति सूचना यति कम समयमा सायदै कसैले बटुलेको थियो,' उनले भने।
हामीले बालेन शाहको चुनावी तयारीमा प्रत्यक्ष–अप्रत्यक्ष जोडिएका व्यक्तिहरू उनका बारेमा के भन्छन् भनेर सोध्दै तीन–चार दिन बितायौं। यसबाट उनी सबैसँग सरसल्लाह गर्दै टिम बनाएर काम गर्न चाहन्छन् भन्ने झल्किन्छ।
उनलाई एउटा अन्तर्वार्तामा जर्मनीका तानाशाह हिटलरलाई प्रश्न गर्न पाए के गर्नु हुन्छ भनेर सोधिएको थियो। जवाफमा बालेनले भनेका थिए, 'म हिटलरसँग सबै मान्छेलाई एउटै कुरा सोच्ने कसरी बनाउन सकिन्छ भनेर सोध्नेछु।'
उनको जवाफको आसय के हो थाहा छैन। उनी सबैका कुरा सुनेर समन्वय गर्दै आफ्नो राय बनाउँछन् कि सबैलाई आफूजस्तै सोच्ने बनाउन चाहन्छन्?
बालेनका बारेमा यस्ता थुप्रै प्रश्न अझै अनुत्तरित छन्। उनी कस्ता मान्छे हुन्? जे छन्, जस्ता छन्, त्यस्ता कसरी भए? कुन भोगाइले उनको व्यक्तित्व बनायो?
यी प्रश्नको उत्तर कुमारको मुखबाट सुनेर मात्र पुग्ने थिएन, उनलाई भेटेर उनीसँगै लामो कुरा गर्नु जरूरी थियो।
हामीले पाँच दिनपछि गत मंगलबार फेरि कुमारलाई सम्पर्क गर्यौं। त्यस दिन उनको फोन उठेन। भोलिपल्ट बिहानै उनले फोन गरेर उही सानेपाको एजे होम्समा भेट्ने समय दिए।
हामी १० बजेर ५० मिनेटमा एजे होम्स पुग्यौं।
भुइँतल्लाको उही धुम्म, न अँध्यारो न उज्यालो कोठामा दोस्रोचोटि बालेन शाहसँग भेट भयो।
यसपालि उनले न्यानोसँग हात मिलाए। स्वास्थ्यमा केही सुधार आए पनि थकान बाँकी रहेको बताए।
अघिल्लोचोटि हामी कोठाको जुन जुन ठाउँमा बसेका थियौं, यसपालि फेरि त्यही त्यही ठाउँमा बस्यौं। उनी उही कालो टिसर्ट र एकरङे सादा सुटमा थिए। चस्मा भने अहिले पनि लगाएका थिएनन्।
मैले उनका चम्किला आँखा दोस्रोचोटि देखेँ। उनले आँखामा आँखा मिलाउँदै आफ्नो विगतबाट थोरै पर्दा उघारे।
'तपाईंको राजनीतिक झुकाव कहिलेबाट सुरू भयो?' हामी समय खर्च नगरी सिधै विषयवस्तुमा हाम फाल्यौं।
'म नौ कक्षा पढ्दादेखि नै राजनीतिक रूपले सचेत थिएँ। त्यही राजनीतिक चेतनाले नै हिपहप संगीततिर आकर्षित भएको हुँ।'
उनले त्यसपछि संसारभरि कसरी विद्रोहको भाकाका रूपमा हिपहप संगीतको उदय भयो र यसले कसरी काला र गोराबीचको विभेदलाई र्याप शैलीमा उजागर गर्यो भनेर विस्तार लगाए, भने, 'हिपहप भनेकै क्रान्तिकारी गीत हो। यसमा कुनै न कुनै रूपले सामाजिक बेथितिविरूद्धको असन्तुष्टि लुकेको हुन्छ। हिपहप भनेकै राजनीतिक गीत हो। मैले यस्तो गीत गाउनु नै मेरो राजनीतिक झुकावको संकेत हो।'
उनले अगाडि भने, 'मैले आफ्नो राजनीतिक र सामाजिक चेतना अभिव्यक्त गर्न हिपहप संगीत रोजेँ। गीतको माध्यमबाट सामाजिक रूपान्तरणको वकालत गरेँ। मैले सिभिल इञ्जिनियरिङ गर्नु र पछि स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातक गर्नु पनि एक किसिमले भन्दा राजनीतिक क्षेत्रमा आउने तयारी नै थियो।'
'कसरी?' हामीले अझै खोतल्यौं।
'म राजनीतिलाई राजनीति भन्न रूचाउँदिनँ, विकास भन्न चाहन्छु। राजनीति गर्नु भनेको वास्तवमा भन्दा सिस्टमभित्र प्रवेश गरेर देश रूपान्तरणमा सरिक हुने एउटा ठूलो अभियानको हिस्सेदारी हो। त्यसैले राजनीति गर्छु भन्ने मान्छेमा सबभन्दा पहिला देश विकास गर्छु भन्ने आत्मबोध हुनुपर्छ। यसको निम्ति विकास कसरी हुन्छ र विकासका च्यानलहरू के के हुन् भन्ने बुझ्नुपर्छ।'
उनी भन्दै थिए, 'म गीतका माध्यमबाट समाजका बेथितिमाथि प्रश्न गर्दै थिएँ र सँगसँगै इञ्जिनियरका रूपमा देश विकासको प्रक्रियामा संलग्न हुँदै गएँ। यी दुवै कर्मले मलाई समाजसँग नजिक ल्यायो। बेथितिविरूद्ध वकालत गर्न सिकायो र विकासका विभिन्न चरणहरूको प्रत्यक्ष अनुभव गरायो। एक समयमा पुगेपछि मलाई बाहिरबाट गरिने वकालतले भन्दा सिस्टममै प्रवेश गरेँ भने देश विकासमा ठूलो योगदान गर्न सक्छु भन्ने लाग्यो।'
उनको कुरा सुन्दा बेथितिविरूद्ध प्रश्न गर्ने शैलीको जग बाल्यकालदेखिको जिज्ञासु स्वभावमा टिकेको बुझिन्छ।
उनी सानैदेखि अत्यन्तै धेरै प्रश्न गर्थे। कक्षामा प्रश्न सोधेर शिक्षकहरूलाई हायलकायल पार्थे। त्यही स्वभावका कारण कतिपय स्कुलले झिँझो मानेर निष्कासन पनि गरे। २०६३ सालमा बानेश्वरको अलायन्स एकेडेमीबाट एसएलसी दिँदासम्म आठ वटाभन्दा बढी स्कुल फेरेको उनी बताउँछन्।
'मैले स्कुल धेरैपटक फेरेँ। नरदेवीको जलजलामै तीनपटक भर्ना हुँदै निस्कँदै गरेँ। त्यहाँ ६ कक्षासम्म पढेँ,' उनले भने, 'एकै शैक्षिक वर्षमा तीनवटा स्कुलसम्म फेरेको रेकर्ड छ।'
धेरैजसो स्कुल फेर्नुको कारण आफ्नो प्रश्न गर्ने स्वभाव नै हो भनेर उनी दाबी गर्छन्। त्यसबाहेक बुवाको सरूवाले पनि कतिपय स्कुल फेर्नुपरेको उनको भनाइ छ।
सानै कक्षाको कुरा हो। विज्ञानका शिक्षकले पृथ्वी लगायत ग्रहहरू सूर्यको वरिपरि लगातार घुमिरहेका हुन्छन् भनेर पढाए। बालेन छक्क परे। आफू बसेको धर्ती सधैं स्थिर देखिरहेका बालेनले शिक्षकको कुरा नपत्याएर सोधे, 'सर तपाईंले कसरी पृथ्वी सूर्यको वरिपरि घुम्छ भनेर भन्नुभयो। के तपाईंले आकाशमा उडेर पृथ्वीले सूर्यलाई घुमेको हेर्नुभएको हो? होइन भने यस्तो हावा कुरा कसरी भन्नुभयो?'
शिक्षकले उनको प्रश्नको जवाफ दिन सकेनन्। दिनका दिन सोधेको सोध्यै गरेपछि पन्छाउन पनि सकेनन्।
'मैले सोधेको प्रश्न अत्यन्तै सामान्य थियो। आज मैले त्यो कुरा बुझेको छु। ती शिक्षकले सही कुरा पढाएका थिए भन्ने मलाई आज थाहा छ। तर त्यति बेला त्यही कुरा उनले राम्ररी बुझाउन सकेनन्। उल्टो मेरो प्रश्नलाई पन्छाएर मेरो बाल जिज्ञासालाई नकारेँ,' बालेनले भने, 'यसले पढाइ-लेखाइप्रति नै मेरो रूचि घट्यो। म धेरैचोटि फेल भएँ। कहिलेकाहीँ त आठवटा विषयमध्ये पाँचवटामा फेल हुन्थेँ। पास हुँदा पनि बल्लतल्ल पास भएँ। विद्यार्थी फेल हुनु भनेको उसको असफलता होइन, उसको भन्दा बढी असफलता शिक्षकको हो। विद्यार्थी असफल हुनुमा सतप्रतिशत शिक्षकको दोष हुन्छ।'
स्कुलमा शिक्षकलाई मात्र होइन, घरमा आमाबुवालाई पनि प्रश्न गरेर उनी र्याखर्याख पार्थे।
'बच्चा कसरी जन्मिँदो रहेछ भन्ने कुरा हरेक बालकको मनमा आउँछ। मैले एकचोटि यही प्रश्न आमाबुवालाई सोधेको थिएँ। उहाँहरूले भगवानले आशीर्वाद दिएर जन्मिन्छ भन्नुभयो। मलाई पत्याएर लागेन। यस्तो हावादारी कुरा पनि गर्ने भनेँ,' बालेनले भने।
उनले अगाडि भने, 'प्रश्न सोधिएन भने चर्चा हुनुपर्ने गम्भीर विषयवस्तु पनि त्यसै दबिएर जान्छ। त्यसैले हामीले प्रश्नलाई प्रोत्साहित गर्नुपर्छ। वरपर जेजे चिज छन्, त्यसका बारेमा हामीलाई विस्तृत रूपमा थाहा हुनुपर्छ। यसको निम्ति मान्छेमा जिज्ञासा हुनु जरूरी छ। जिज्ञासाले नै प्रश्न जन्माउँछ। हाम्रो शिक्षा प्रणालीले भने जिज्ञासालाई बोधो बनाइरहेको छ, प्रश्नमा छेकबार लगाइरहेको छ।'
बाल्यकालको यही अनुभवका आधारमा बालेनले आफ्नो कार्यकालको सुरूदेखि नै सामुदायिक शिक्षा सुधारलाई मुख्य प्राथमिकतामा राखेका छन्।
काठमाडौं महानगरभित्रका सामुदायिक स्कुलहरूको शिक्षा प्रवर्द्धन गर्ने उनको एजेन्डा छ। यसनिम्ति उनले शिक्षकहरूको तालिममा विशेष जोड दिएका छन्। पहिलेका अन्तर्वार्ताहरूमा उनले सामुदायिक स्कुलका शिक्षकहरूलाई कोरिया र जापानमा तालिम लिन पठाउने योजना सुनाएका थिए। यसपालि विदेशी प्रशिक्षकहरूलाई नै नेपाल डाकेर यहीँ तालिम दिने कुरा सुनाए।
'जबसम्म शिक्षक आफैं जिज्ञासु हुँदैन, जबसम्म शिक्षक आफैंले प्रश्न गर्न सिक्दैन तबसम्म विद्यार्थीहरूमा जिज्ञासा राख्ने र प्रश्न गर्ने चेत आउँदैन,' उनले भने।
काठमाडौंका हरेक टोलका सामुदायिक स्कुललाई नमूना स्कुल बनाउन अभियान सुरू गर्ने उनी बताउँछन्। कम्तीमा गुणस्तरीय शिक्षाका लागि नजिकको सामुदायिक स्कुल छाडेर टाढाको निजी स्कुल पठाउने प्रवृत्ति अन्त्य होस् र शिक्षाका आधारमा धनी र गरिब छुट्टिने प्रवृत्ति नरहोस् भन्ने उनको ध्येय छ।
बालेन आफूलाई चुनौती मोल्ने स्वभावको पनि मान्छन्। सानो उमेरमै ठूल्ठूलो काममा हात हालेको उनले सुनाए।
तीन कक्षा पढ्दा नै उनले मोटरसाइकल हाँक्न सिकेका थिए। त्यो उमेरमा मोटरसाइकल हाँक्दा उनको खुट्टाले भुइँ छुँदैन थियो। त्यसैले अलि अग्लो कदका साथीलाई पछाडि राख्थे। मोटरसाइकल अचानक रोक्नुपरे, उनी अगाडि ब्रेक दबाउँथे, पछाडि बसेका अग्ला साथी खुट्टा टेक्थे।
कम उमेरमा बाइक हाँक्दाको अनुभव सुनाउँदा बालेन खुसी देखिएका थिए। मुसुमुसु हाँस्दै भने, 'पहिलोचोटि गाडी चलाउँदा म छ कक्षा पढ्थेँ। मलाई लाग्छ, छिमेकमा कसैसँग हेलिकप्टर भइदिएको भए म त्यो पनि उडाउन सिक्थेँ।'
हेलिकप्टर उडाउने रनाहाले उनी एसएलसीपछि पाइलट पढ्न कस्सिएका थिए। केही तयारी पनि गरे। त्यही बेला हेलिकप्टर उडाउनु सामान्य हो, त्योभन्दा ठूलो कुरा इञ्जिनियरिङ गरेर देश निर्माणमा सहभागी हुनुपर्छ भन्ने चेत घुसेको उनी बताउँछन्।
इञ्जिनियरिङ पढ्न उनले आफ्ना बुवाको इच्छाधरि मारेका छन्। आयुर्वेदिक डाक्टर बुवा बालेनले एमबिबिएस पढोस् भन्ने चाहन्थे। बालेनलाई पनि बुवाको चाहनाअनुसार एमबिबिएस पढूँ कि भन्ने लागिसकेको थियो। तर फारम भर्ने अन्तिम घडीमा उनले निर्णय फेरे र इञ्जिनियरिङतिर लागे।
'इञ्जिनियरिङ पढ्नुको अर्को कारण पनि छ,' उनले भने, 'म पहिले गणितमा कमजोर थिएँ। बायोलोजीमा ८७ ल्याउँदा गणितमा ४२ आउँथ्यो। तर जुन विषयमा म कमजोर थिएँ, पछि त्यही विषयलाई आफ्नो शक्तिमा बदलेँ। आउने विषय त के पढ्नू, नआउने विषय पो पढ्नुपर्छ भनेर गणितमा बेस्कन मिहिनेत गरेँ।'
इञ्जिनियरिङको चारवर्षे बिई कोर्स पास गर्न पनि आठ वर्ष लागेको उनले सुनाए। भारत गएर स्ट्रक्चरल इञ्जिनियरिङको स्नातकोत्तरमा भने सबभन्दा बढी अंक ल्याएको उनले बताए।
भारतमा राम्रो नतिजा ल्याएको कुरालाई उनले फेरि शिक्षकसँग जोडे र भने, 'नेपालमा राम्रो शिक्षक नभएर नै बिई पढ्न कठिन भएको मैले भारत गएर थाहा पाएँ।'
यसरी लगातार स्कुल फेरिरहने जुन कारण उनले बताएका छन्, त्यो धेरै विश्वसनीय लाग्दैन। उनी आफू फेल हुनुमा यहाँका शिक्षकहरूले राम्ररी पढाउन नसक्नुलाई नै दोष दिन्छन्। विद्यार्थीको कमजोरीमा शिक्षकप्रति औंला उठाउँदै उनी भन्छन्, 'सतप्रतिशत दोष शिक्षकहरूकै हुन्छ। विद्यार्थीको दोष जिरो पर्सेन्ट पनि हुन्न।'
पक्कै पनि विद्यार्थी भनेका शिक्षक गुना हुन्छन्। राम्रो पढाए राम्रो पढ्छन्। तर उनी शिक्षकप्रति एकदमै कठोर सुनिन्छन्। उही स्तरका शिक्षकहरूले पढाएका औसत विद्यार्थीले पनि यहाँ जाँच पास गरिरहेकै छन्। शिक्षकलाई घरिघरि प्रश्न गर्ने विद्यार्थीहरू अरू पनि थुप्रै छन्। उनीहरूले स्कुल फेर्नुपर्ने अवस्था आउँदैन। यसले स्कुल फेर्नुपर्ने र आफू फेल हुने कारणबारे उनको जवाफ अलि अविश्वसनीय सुनिन्छ।
उनी इञ्जिनियरिङमा समेत फेल भएका छन् र बिई पढ्दापढ्दै दुइटा कलेज फेरेको बताउँछन्। यसमा पनि शिक्षकलाई नै दोष दिन्छन्। इञ्जिनियरिङ गाह्रो विषय हो तर यहाँ पनि उही शिक्षकले पढाएका औसत विद्यार्थी पास हुन्छन्। उनको जवाफ इञ्जिनियरिङका विद्यार्थी र शिक्षकहरूलाई नै कति सही लाग्ला?
शिक्षकहरूले उत्तर दिन नचाहँदा नचाहँदै लगातार प्रश्न सोधिरहने, आफ्नो कदभन्दा अग्लो बाइक हाँक्ने र जुन विषयमा कमजोर छ त्यही विषय रोज्ने स्वभावले उनी कति जिद्दी रहेछन् भन्ने देखाउँछ। मन लागेको काम गरेरै छाड्ने बानीको झलक दिन्छ। यही स्वभाव उनले मेयर उम्मेदवारीमा पनि देखाए।
जहाँसम्म स्वतन्त्र मेयरका रूपमा उनले भनेजस्तो परिणाम दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न छ, त्यसमा पनि उनी ढुक्क सुनिन्छन्।
'मेरो सबभन्दा ठूलो शक्ति भनेकै मेरो इमानदारी हो र विकासप्रतिको प्रण हो। म आफू इमानदार भएसम्म अरू कसैले मलाई गलाउन सक्दैन,' उनले बोले, 'अर्को ठूलो शक्ति भनेको मेरो इञ्जिनियरिङ पृष्ठभूमि हो र मैले लामो समयदेखि गर्दै आएको कन्सल्टेन्सी काम हो।'
उनले यसलाई थप विस्तार गर्दै भने, 'इञ्जिनियरका रूपमा कस्तो ठाउँमा कस्तो पूर्वाधार बनाउनुपर्छ भन्ने मलाई राम्ररी थाहा छ। कुन योजना सम्भव छ र कुन असम्भव छ भन्ने पनि राम्ररी बुझ्छु। कुनै योजना असफल भयो भने त्यो प्राविधिक कारणले असफल भयो कि मानवीय त्रुटिले भन्ने पनि मलाई थाहा हुन्छ। कुनै सडक राम्रो बनेन वा पुल कमजोर भयो भने त्यसमा ठेकेदार र प्राविधिकहरूको बदमासी छ कि छैन भन्ने तुरून्तै थाहा पाउँछु। मलाई कसैले मूर्ख बनाउन सक्दैन। झुक्याउन सक्दैन।'
उनले अगाडि भने, 'महानगरको ७० प्रतिशतभन्दा बढी काम सिभिल इञ्जिनियरिङसँग जोडिएको हुन्छ। म आफैं इञ्जिनियर भएकाले ती सबै काम राम्ररी बुझ्छु। त्यसैले अहिले भइरहेका कम्तीमा ७० प्रतिशत काम म पूर्ण दक्षतासाथ गर्न सक्छु। त्यसमा मलाई कसैले अलमल्याउन सक्दैन।'
उनको यस्तो अतिआत्मविश्वास सुन्दा असामान्य लाग्छ। यो आत्मविश्वासका पछाडि कतै उनको व्यक्तिगत अधैर्य र आत्मरति त लुकेको छैन भन्ने प्रश्न पनि जन्माउँछ।
बालेनले सार्वजनिक रूपमा दिने कतिपय अभिव्यक्ति पनि स्वाभाविक छैनन्। उदाहरणका लागि, उनी आफू ९० हजार ८ सय ३५ मत ल्याएर निर्वाचन जित्ने बताउँथे।
कुनै राजनीतिज्ञले म ८० हजार वा ९० हजार मत ल्याएर जित्छु भन्नु अस्वाभाविक होइन। तर जब कुनै राजनीतिज्ञले तोकेरै 'म ९० हजार ८ सय ३५ मत ल्याउँछु' भन्छ, उसले के आधारमा, किन त्यसो भनिरहेको छ भन्ने प्रश्न महत्वपूर्ण हुन्छ।
यसबारे सोध्दा बालेनका सहयात्री कुमारको भनाइ थियो, 'मान्छेलाई सधैं अंकमा रूचि हुन्छ। दुईतिहाइ बहुमत भन्यो भने धेरैले बुझ्दैनन्। यसको सट्टा यति मत ल्याउँछु भनेर सिधै अंक तोकेर भन्यो भने मान्छेलाई त्यही अंकले तान्छ।'
उनले सिधै भने, 'यो हाम्रो नम्बर गेम हो।'
बालेनको निम्ति यो 'नम्बर गेम' नै होला। तर यसले उनी कसरी आफूलाई ब्रान्डिङ गर्न चाहन्छन् भन्ने देखाउँछ। जनतालाई आकर्षित गर्न उनीहरूको मनस्थितिसँग कसरी खेल्न सक्छन् भन्ने पनि बुझाउँछ।
कस्तो मनोविज्ञान भएको नेताले यसरी सार्वजनिक रूपमा ठ्याक्कै अंक तोकेर आफूले ल्याउने मत दाबी गर्न र त्यसलाई 'नम्बर गेम' भन्दै अर्थ्याउन जायज ठान्छ?
यसले उनी या त आफूलाई तिलस्मी ठान्छन् वा आफूलाई 'कन्फिडेन्ट' देखाउन खोज्छन् भनी मान्न सकिन्छ। दुवै अवस्थामा यो उनको सामान्य मनस्थिति होइन।
हामीले बालेनसँग उनले प्रस्तुत गरेका सहरी विकासका योजनाहरूबारे पनि कुराकानी गर्यौं।
महानगर मेयरका रूपमा बालेनको सबभन्दा ठूलो चुनौती फोहोर व्यवस्थापन हो। उनी बर्खाको मुखमा मेयर भएर आउँदै छन्। कार्यकाल सम्हालेको केही सातामै मनसुन सुरू हुनेछ। त्यसपछि बाटो बन्द भएर काठमाडौंमा थुप्रिने फोहोरलाई सिसडोल वा बञ्चरेडाँडाको ल्यान्डफिल साइटसम्म ढुवानी गर्न गाह्रो पर्छ।
यसनिम्ति सुरूदेखि नै त्यहाँका जनप्रतिनिधि र स्थानीय प्रशासनसँग समन्वय गर्ने र ढुवानीकर्ताहरूलाई विश्वासमा लिएर फोहोर थुप्रिन नदिने सोच उनले बनाएका छन्।
फोहोर व्यवस्थापनका मध्यकालीन योजना पनि उनले अगाडि सारेका छन्।
उनका अनुसार काठमाडौं महानगरमा दैनिक ६ सय टन फोहोर निस्कन्छ। तीमध्ये ७० प्रतिशत कुहिने खालका हुन्। त्यसबाट जैविक मल बनाएर धादिङ र काभ्रे पठाउने उनको योजना छ। अन्य फोहोर जलाउन इन्सिनेरेटर मेसिन जडान गर्ने उनले भनेका छन्। बञ्चरेडाँडामा पहिले नै यो योजना कार्यान्वयन गर्ने भनिएको थियो। वातावरणविज्ञहरूले भने इन्सिनेरेटरमा फोहोर जलाउँदा प्रदूषणको समस्या आउनसक्ने भन्दै आएका छन्।
हामीले यसबारे वातावरणविद् भूषण तुलाधरसँग कुरा गरेका थियौं। उनले कुहिने फोहोरबाट जैविक मल बनाउन सम्भव भए पनि इन्सिनेरेटरमा जलाउनु भने एकदमै जटिल प्रक्रिया भएको बताए।
'बर्खामा हामीकहाँ जम्मा हुने फोहोरमैला भिजेको हुन्छ। त्यसलाई जलाउँदा तापक्रम हजार डिग्री सेल्सियसको आसपास हुनुपर्छ। तापक्रम ठ्याक्कै मिलाउन सकिएन भने स्वास्थ्यका लागि हानिकारक विषाक्त ग्यासहरू निस्कन्छन्,' उनले भने।
यो योजना चीन, सिंगापुर लगायत विकसित देशहरूमा राम्ररी सञ्चालन भइरहेको छ। भारतमा भने प्रदूषणको समस्या देखिएकाले विरोध हुँदै आएको छ। भारतले पाँच–छ वर्षअघि नै सयवटा जति इन्सिनेरेटर मेसिन राख्ने भनेको थियो। त्यसमध्ये केही ठाउँमा जडान भएका छन् तर राम्ररी चलेका छैनन्। दिल्लीकै विभिन्न ठाउँमा रहेका यस्ता मेसिनमा समस्या देखिएका छन्।
'भारतको प्राविधिक क्षमता हाम्रो दाँजोमा निकै सबल छ। तर उनीहरूले पनि आगोमा फोहोर जलाउने विधि सफल रूपमा प्रयोग गर्न सकिरहेका छैनन्। यो अवस्थामा हामीकहाँ हचुवा भरमा इन्सिनेरेटर प्रयोग गर्नु घातक हुनसक्छ,' तुलाधरले भने, 'हाम्रै अनुभवमा विगतमा टेकुमा प्रयोग गर्दा सफल हुन सकेको थिएन। हालसालै गोकर्णेश्वर, बनेपा लगायत केही नगरपालिकाहरूले यो विधि अपनाएका थिए तर समस्या आइरहेको छ।'
हामीले यही समस्याबारे बालेनलाई प्रश्न गर्यौं। उनी यसमा पनि आफ्नो अवधारणामा अत्यन्तै विश्वस्त सुनिए। भारतको दिल्लीले गर्न नसकेको काम हामी सजिलै गर्न सक्छौं भन्ने आत्मविश्वास उनले देखाए।
प्राविधिक जटिलता भनेको कठोर यथार्थ हो। बालेनले त्यो कठोर यथार्थलाई सामान्यीकरण गर्न खोजे। यो उनको उच्च आत्मविश्वासका कारण पनि हुन सक्छ वा समस्याको गहिराइलाई हलुकासँग लिएको पनि हुन सक्छ।
बालेनले फोहोरमैला व्यवस्थापनका लागि घरघरमै कुहिने र नकुहिने फोहोर अलगअलग राख्ने प्रणाली विकास गर्ने बताएका छन्। यी दुई खालका फोहोर उठाउन महानगरले फरकफरक दिन गाडी पठाउने उनको योजना छ। यो पनि त्यति सहज छैन। आजसम्म प्रायः कुनै घरमा पनि फोहोर अलगअलग राख्ने चलन छैन। एकाएक यो बानी बसाल्न गाह्रो छ।
बालेन भने निकै आशावादी सुनिन्छन्। उनले अन्तर्वार्ताहरूमा भनेका छन्, 'हाम्रा नागरिकहरू एकदमै भनेको मान्छन्। गाडीको हर्न नबजाउनू भन्दा कसैले बजाएनन्। त्यस्ता मान्छेलाई कुहिने र नकुहिने फोहोर अलग राख्नू भन्यो भने पक्कै मान्छन्।'
फोहोरमैला व्यवस्थापनपछि बालेनले काठमाडौं भित्री सहरका लागि आफूले सोचेका योजनाहरू सुनाए।
उनी कोर सिटीको सम्पदा र संस्कृति पुरानै स्वरूपमा फर्काउन चाहन्छन्। न्यूरोड र वसन्तपुरदेखि ठमेल र थँहितिसम्मका भित्री बस्तीका सडकमा ढुंगाको सट्टा इँटा बिछ्याउन चाहन्छन्। यसरी इँटा बिछ्याउँदा त्यसले बर्खाको पानी सजिलै सोस्छ। बाटोमा जम्दैन। भूमिगत पानीको सतह पनि कायम रहन्छ। भक्तपुरले यस्तै गरेको छ।
भित्री बस्तीमा सवारी साधन निषेध गर्ने र त्यहाँका प्रत्येक घरपरिवारलाई आफ्नो अगाडि स्थानीय परिकारहरूको व्यवसाय गर्न प्रोत्साहित गर्ने उनको योजना छ। स्थानीय जात्रापर्व मनाउन पैसाको कमी भएकाले सबै जात्रापर्व र गुठीहरूलाई जाने खर्च बढाउने र यहाँका जात्राहरूमा सिंगो काठमाडौं सरिक हुने वातावरण बनाउने उनी बताउँछन्।
'काठमाडौंको विशेषता भनेकै यहाँका जात्रापर्व, रहनसहन र भित्री बस्तीका गल्लीहरू हुन्। सयौं वर्षदेखिका यी सम्पदाले काठमाडौंको परिचय बोकेका छन्। नेपाल आउने पर्यटक यिनै सम्पदा हेर्न आउने हुन्। तर हामीले पर्यटकलाई काठमाडौंको अमूल्य रत्न देखाउन जानेका छैनौं। त्यसैले अधिकांश पर्यटकको काठमाडौं बसाइ एकदमै कम छ। यहाँका सम्पदा, संस्कृति संरक्षण गर्ने र संसारभरि त्यसको प्रचारप्रसार गर्ने हो भने पर्यटनबाटै काठमाडौंले ठूलो आर्थिक लाभ लिन सक्छ,' उनले भने।
बालेन शाहसँग कुरा गर्दा र उनको काठमाडौं परिकल्पना सुन्दा त्यो उनको विगतको भोगाइसँग जोडिन्छ।
यहीँका गल्लीमा हुर्केकाले आफूलाई ती गल्ली र यहाँका परम्परासँग मोह भएको उनी बताउँछन्। भन्छन्, 'मैले बच्चा बेला जुन काठमाडौं देखेँ, त्यो अहिलेका बच्चाहरूले देख्न पाएका छैनन्। काठमाडौंको अलग्गै बासना छ। यहाँका मन्दिरहरूमा हुने आरती, घन्टीको आवाज र जात्रापर्वको रौनकले काठमाडौंमा सधैं संगीत गुञ्जिरहेझैं लाग्छ। म अहिलेका केटाकेटीलाई आफू केटाकेटी हुँदा देखेको काठमाडौं देखाउन चाहन्छु। काठमाडौंको मौलिक बासनासँग संसारलाई परिचित गराउन चाहन्छु।'
उनले भक्तपुरले जस्तै काठमाडौंका सम्पदा स्थलहरू जनसहभागितामा स्थानीय कालिगढहरूबाटै बनाउने योजना सुनाए।
'मन्दिर र सम्पदाको आफ्नै अर्थ हुन्छ। ठेकेदारले भाडाको श्रमिक ल्याएर काम गर्यो भने त्यो मर्म जीवित रहँदैन। यसनिम्ति यहीँको कलाशैली बुझेको कालिगढ चाहिन्छ। त्यसैले सम्पदाको काम जनसहभागिताबाटै हुनुपर्छ,' उनले भने।
बालेनले ट्राफिक व्यवस्थापनका योजना पनि अघि सारेका छन्। घाटामा चलिरहेका डिपार्टमेन्ट स्टोर र मलहरू भाडामा लिएर तिनलाई बहुतले पार्किङ स्थलमा परिणत गर्ने उनको योजना छ। विभिन्न अफिसहरू खुल्ने र बन्द हुने समय पनि अदलबदल गर्ने उनी बताउँछन्।
अहिले काठमाडौं एकैचोटि जाग्छ, एकैचोटि सुस्ताउँछ। यो समय तालिका फेरेर बिहान ८ बजेभित्र सबै स्कुल खुल्यो भने त्योभन्दा अगाडि नै स्कुलका गाडीहरू विद्यार्थी छाडेर आ–आफ्नो ठाउँमा फर्किसक्छन्। त्यसको दुई घन्टापछि सरकारी कार्यालयहरू खुल्छन्। त्यसपछि बजार, सपिङ कम्प्लेक्स, न्यूरोडका सुन पसल, कपडा पसलहरू दिउँसो १२ बजेतिर मात्र खोल्ने हो भने ट्राफिक समस्या केही हदसम्म हल हुने उनी बताउँछन्।
त्यस्तै आइटी कम्पनी र त्यस्तै किसिमका अरू कार्यालय दिउँसो २–३ बजेतिर मात्र खुल्ने हो भने पनि सवारी चाप खुकुलो हुने उनको भनाइ छ। यसले राति अबेरसम्म सहर जागा रहन्छ।
सहरलाई जागा राख्न नगर प्रहरीहरू थपेर सुरक्षाको प्रबन्ध मिलाउने र सहरभरि दसौं हजार सिसिटिभी क्यामरा जडान गरेर चौबीसै घन्टा निगरानी गर्ने उनले बताएका छन्।
सार्वजनिक यातायात काठमाडौंको अर्को मुख्य समस्या हो। थोत्रा गाडीमा कोचाकोच यात्रा गर्न जनता बाध्य छन्। यसलाई हल गर्न सबै सार्वजनिक गाडीलाई एउटा कम्पनी मातहत ल्याउने र त्यही कम्पनीले एउटै ब्रान्डका रूपमा गाडी चलाउने उनको विचार छ। यसो गर्दा प्रिपेड-कार्ड प्रणाली पनि लागू गर्न सकिन्छ। दैनिक, साता वा महिनावारी पैसा तिरेर एउटै कार्डले सहरभरि यात्रा गर्न सकिन्छ। महानगर आफैंले बिजुली गाडी प्रवर्द्धन गर्ने र अहिले सार्वजनिक यातायातमा संलग्न व्यवसायीहरूलाई पनि पुराना गाडी थन्क्याएर बिजुली गाडी किन्न प्रोत्साहन गर्ने उनको योजना छ।
यी सबै योजना हामीले लामो समयदेखि सुन्दै आएका हौं। कतिपय योजना महानगरले यसअघि नै कार्यान्वयनको घोषणासमेत गरेको थियो। काठमाडौंको भित्री बस्तीलाई सवारी निषेध गर्ने योजना महानगरको कार्यालयमा अहिले पनि थन्किएर बसेको छ। न्यूरोडलाई नमूनाका रूपमा सवारी निषेधित क्षेत्र घोषणा गर्ने र त्यो सिंगो सडकलाई मान्छेहरू घुमफिर गर्ने पार्कका रूपमा विकास गर्ने योजना थियो। बालेनले कार्यकाल सम्हालेपछि त्यही योजनाको फाइल खोलेर न्यूरोडलाई नमूना सवारी निषेधित क्षेत्र घोषणा गर्न सक्छन्।
यसमा चुनौती भनेको न्यूरोड आउने व्यवसायी र उपभोक्ताहरूले आफ्नो गाडी कहाँ राख्ने भन्ने हो। त्यसका लागि उनले सबभन्दा पहिला पार्किङको समस्या हल गर्नुपर्छ। धरहराको मुनि, जसलाई बालेन धरहरा होइन, 'सेतो टावर' भन्न रूचाउँछन्, त्यहाँ पनि करिब हजारवटा गाडी र मोटरसाइकल राख्ने क्षमताको पार्किङ बन्दैछ। त्यो निर्माण पूरा भएपछि न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउन सकिन्छ।
सवारी निषेध गर्दा स्थानीय व्यापारमा कुनै समस्या पर्दैन, उल्टो व्यापार बढ्छ भन्ने सबैले बुझेपछि यो योजनालाई भित्री बस्तीभरि लागू गर्न सजिलो हुनेछ।
सहर विकासका योजना बनाउनु एउटा कुरा— तर त्यो योजना कार्यान्वयन गर्न फरकफरक दलबाट आएका जनप्रतिनिधि र महानगरको कर्मचारीतन्त्रलाई झेल्नुपर्ने चुनौती पनि होला नि?
हाम्रो यो प्रश्नमा बालेनले र्याप ब्याटलकै शैलीमा प्रतिप्रश्न गरे, 'तपाईंले महानगरको कर्मचारीतन्त्रसँग काम गर्नुभएको छ?'
'छैन।'
'छैन भने तपाईं अरूको धारणाअनुसार आफ्नो धारणा बनाएर मलाई प्रश्न गर्दै हुनु हुन्छ,' बालेनले भने, 'महानगरमा मेयर नै कार्यकारी हो। उसले सबैसँग मिलेर र सबैले ऊसँग मिलेर काम गर्ने हो। मलाई असफल बनाउनु भनेको वडाध्यक्षहरू आफैं असफल हुनु होइन र?'
उनले अगाडि भने, 'मैले अहिलेदेखि नै निर्वाचित भएर आएका वडाध्यक्षहरूले मलाई काम गर्न दिँदैनन् भनेर शंका गर्न थालेँ भने त म अहिल्यै असफल भइहालेँ नि। म मात्र होइन, उहाँहरू पनि र मलाई निर्वाचित गरेर पठाउने सबै मतदाता असफल भइहाले नि। सिंगो काठमाडौं महानगर नै असफल भइहाल्यो नि। मैले त उहाँहरू सबैसँग मिलेर काम गर्ने हो र मलाई विश्वास छ, उहाँहरू पनि मसँग मिलेरै काम गर्नु हुनेछ।'
'जहाँसम्म कर्मचारीतन्त्रप्रतिको शंका छ, त्यसमा मलाई बिल्कुल विश्वास छैन। मेयर आफैं भ्रष्टाचारी छ भने एउटा कुरा, नभए स्वच्छ छवि भएको मान्छे पर्यो भने कर्मचारीहरूले त्यसै सहयोग गर्छन्।'
उनले यो पनि भने, 'मैले काठमाडौं महानगरबाटै हजार वटाभन्दा बढी घरका नक्सा पास गरेको छु। वर्षौंदेखि उनीहरूसँग सहकार्यमा काम गर्दै आएको छु। झन् आफूले पहिल्यैदेखि चिनेको मान्छे मेयर भयो भनेर उहाँहरूले पूर्ण सहयोग गर्नु हुनेछ भन्ने मलाई लाग्छ।'
बालेन हरेक प्रश्नको उत्तर नअलमलिकन दिन्छन्। सबै प्रश्नको उत्तर उनीसँग छ जस्तो गरेर दिन्छन्। उनले हामीलाई दिएका सबै उत्तर वा तर्क मिल्थे भन्ने होइन। तर आफूले दिएका उत्तरप्रति उनी पूर्ण विश्वस्त देखिन्थे।
जान्ने मान्छे राम्रो हो। तर कहिलेकाहीँ धेरै जान्ने वा सबै जान्ने मान्छे धेरै राम्रो होइन।
लगभग एक घन्टाको बसाइमा अन्तिमतिर हामीले उनको राजनीतिक भविष्य, कुनै पार्टी प्रवेश वा नयाँ पार्टी स्थापना र उनको जातीय परिचयबारे उठेका प्रश्न सोध्यौं।
'राजनीतिमा तपाईंको भविष्यको योजना के हो?'
उनले प्रश्न झर्न नपाउँदै भने, 'तपाईं जेलाई राजनीति भन्नुहुन्छ, म विकास भन्छु। म विकासकै काम गर्नेछु।'
हामीले उनलाई सोध्यौं- काठमाडौंको मेयरमा दोहोर्याएर लड्नु हुन्छ? कुनै दिन सांसद लड्ने योजना छ?
उनले खुलेर जवाफ दिएनन्। यति मात्र भने, 'मेयरमा उत्तराधिकारीको विकास गरिहाल्ने हो। काम गर्दागर्दै अर्को मान्छे तयार गर्ने हो।'
हामीले फेरि सोध्यौं, 'तपाईं स्वतन्त्र नै रहने कि कुनै दिन कुनै मुख्य दलमा प्रवेश गरेर काम गर्ने?'
प्रश्न झर्न नपाउँदै उनले केही झोक्किएझैं प्रतिवाद गरे, 'म भविष्यमा कुनै दलमा छिर्ने छैन।'
हामीले त्यसैमा जोडेर अर्को प्रश्न सोध्यौं, 'राजनीतिमै बस्ने तर अर्को दल नछिर्ने भनेपछि नयाँ पार्टी खोल्ने?'
उनले कुनै जवाफ दिएनन्। तर आँखा र उनको हाउभाउमा जवाफ प्रस्ट थियो, 'हो, नयाँ दल खोल्ने हो।'
सानैदेखिका विद्रोही बालेन शाहमा अहिले जुन विद्रोह भन्नुहोस् वा सनक जागेको छ, त्यो काठमाडौंको मेयरमा रोकिने छैन। मेयर उनको पहिलो खुड्किलो हो, बालेनका आँखामा त्योभन्दा ठूलो सपना छ। पेटमा अहिले देखिएको भन्दा ठूलो आगो छ। यो सपना र आगोलाई उनले कति होसियारीपूर्वक सम्हाल्छन्, अहिल्यै भन्न कठिन छ। त्यसले उनलाई लामो उडान दिनेछ वा उनको अधैर्यले अहिलेको उडानलाई तल झार्नेछ, अहिल्यै अनुमान गर्नु हतार हुनेछ। किनकि हामीले बालेनलाई राम्ररी बुझेकै छैनौं, भोगेकै छैनौं।
आफ्नो जातीय परिचयबारे उठेको प्रश्नमा उनले भने, 'मैले कहिल्यै पनि मेरो नामसँग जातीय परिचय जोड्न चाहिनँ। जनताले पनि मेरो जातीय परिचयमाथि कहिल्यै सवाल उठाएनन्। केशव स्थापितजीले म मधेसको हो भनेर भनेपछि मात्र यो कुरा उठेको हो। त्यसपछि धेरैले मलाई मधेसको तेली साह भने। मैले खुसी खुसी स्वीकारेँ। कतिले जुम्लाको ठकुरी भने, त्यो पनि मैले खुसी खुसी स्वीकारेँ।'
उनले यसलाई अझ स्पस्ट पार्दै भने, 'म मधेसको तेली साह होइन। जुम्लाको ठकुरी शाह पनि होइन। पूर्वराजा ज्ञानेन्द्रजस्तो शाह पनि होइन। म सूर्यवंशी राजपरिवारको सन्तान हुँ। प्योर राजाको छोरा हुँ।'
यसो भनिरहँदा उनको स्वरमा तेज थियो। हाउभाउ पनि एकदमै उद्वेलित देखिन्थ्यो।
'तपाईंले सूर्यवंशी राजपरिवारको सन्तान हुँ त भन्नुभयो तर यो कुरा कसरी थाहा पाउनुभयो?'
हाम्रो यो प्रश्नमा उनले भने, 'त्यो त हाम्रो वंशावलीमै छ।'
'के तपाईंहरूको इतिहास सिम्रौनगढसँग जोडिन्छ?'
उनले भने, 'सिम्रौनगढभन्दा पुरानो। त्यहाँका राजा हरिसिंह देवभन्दा पुरानो। हाम्रो राज्यमा मिथिला, हेटौंडा, काठमाडौंसहित यहाँका धेरै ठाउँ पर्थे।'
बालेनले पूरा आत्मविश्वासका साथ यसो भन्दै गर्दा हामीले उनको वंशावलीबारे थप जान्न चाह्यौं। उनले भने, 'त्यो त धेरै अगाडिदेखिको छ। पृथ्वीनारायण शाहभन्दा अगाडिको।'
बालेनको सुनाएको सूर्यवंशी राजपरिवारको विवरण हाम्रो इतिहाससँग मेल खाँदैन। लिच्छविहरू आफूलाई सूर्यवंशी भन्छन् तर त्यो हजार वर्षभन्दा पुरानो इतिहास हो। आफूलाई सूर्यवंशी लिच्छविहरूको खलक भन्ने अहिलेसम्म कोही देखिएका छैनन्। त्यसपछि अर्को कुनै सूर्यवंशी खलकले यो भूभागमा राज्य गरेको देखिँदैन।
बालेन आफैं पनि यो कुरा यकिनसाथ भन्न सक्दैनन्।
सबभन्दा नमिल्दो त उनले सुनाएको वंशावली छ। उनी एकातिर आफ्नो खलकलाई राजा हरिसिंह देवभन्दा पुरानो भन्छन्, अर्कातिर आफ्नो वंशावलीमा पृथ्वीनारायण शाहभन्दा अगाडिको विवरण भएको बताउँछन्। जबकि सिम्रौनगढका राजा हरिसिंह देवको इतिहास पृथ्वीनारायण शाहभन्दा धेरै पुरानो हो। उनीहरूबीच करिब चार सय वर्षको अन्तर छ।
काठमाडौंका 'मेयर इन वेटिङ' बालेन शाहसँगको कुराकानीबाट कति प्रश्न खुले, कति अनुत्तरितै रहे। खासगरी उनको चुनावी तयारीसँग जोडिएका धेरै पहलू सामुन्ने आए। उनको व्यक्तित्वबारे भने अझै धेरै जान्न बाँकी रह्यो जुन उनले कार्यभार सम्हालेसँग खुल्दै जाने नै छ।
आखिर मान्छे सबै देखिने दृश्य र नदेखिने रहस्यको मिसमासले नै बनेका हुन्छन्।