नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावका बेला 'मी टू' मुद्दा उठाइने गरेको टिप्पणी गरेका छन् ।
एमालेको काठमाडौं महानगर कमिटीले राखेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले चुनावका बेला उम्मेदवारको चरित्र हत्या गर्न ‘मी टु’को मुद्दा उठाइने गरिएको टिप्पणी गरेका हुन् ।
‘मिटु कतिबेला आउँछ भन्दा चुनाव आयो कि मिटु आउँछ । यस्ता बेलामा चरित्र हत्याका कुरा आउँछन् । मिटुको के जवाफ हुन्छ? हामी यस्ता कुरामा होइन महान् विषयमा अगाडि बढेका छौं’, ओलीले भने, ‘महिला अस्मिताको सम्मानको सन्दर्भमा एमाले जतिको संवेदनशील अरू कोही छैन।’
उनले स्थापनाकालदेखि महिलाको अस्मिताको रक्षा, महिला अधिकार र सुरक्षाको एमाले सम्मानमा गर्ने गरेको बताए।
उनले चुनावका बेला उम्मेदवारको चरित्र हत्याको प्रयास गरिएको भन्दै भ्रमपूर्ण प्रचारलाई निरुत्साहित गर्नुपर्ने बताए ।
एमालेले काठमाडौं महानगरपालिकाका मेयरमा 'मी टू'को आरोप लागेका केशव स्थापितलाई उम्मेदवार बनाएको भन्दै आलोचना भइरहेका बेला अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया आएको हो ।
अध्यक्ष ओलीले कार्यक्रममा बोल्दै काठमाडौंको मेयरमा अनुभवी र उत्साह कायम रहेका स्थापितलाई अघि सारेको तर उम्मेदवारको चरित्र हत्या गर्न ‘मी टु’ अभियान ल्याउने बताए । उनले 'मी टू'को कुनै जवाफ नभएको तर्क गरे ।