नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले स्थानीय निर्वाचन तयारीदेखि एमसिसीलगायत विषयमा छलफल गरेको छ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले उक्त विषयमा छलफल गर्दै विभिन्न निर्णय गरेको हो।
नेपाली कांग्रेसले कार्यकाल सकिएका सबै भातृ संगठनको समय नथप्ने निर्णय गरेको छ।
बैठकले कार्यकाल सकिएका नेपाल तरूण दल, नेविसंघ लगायतका १० भातृ संस्थाको कार्यकाल नथप्ने निर्णय गरेको हो।
फागुन मसान्तभित्र भातृ संस्थाहरूको तदर्थ समिति गठन हुने कांग्रेस सहमहामन्त्री जीवन परियारले सेतोपाटीलाई बताए।
नेपाल मगर संघ र नेपाल मुस्लिम संघबाहेक अन्य भातृ संस्थाको कार्यकाल सकिएको छ।
नेपाल दलित संघको चैत ७, ८ र ९ गते अधिवेशन हुँदैछ।
स्थानीय निर्वाचन आगामी वैशाख ३० गते गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको भन्दै बैठकले सम्पूर्ण एकता र सम्पूर्ण सक्रियताका साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ। यसका लागि स्थानीय निर्वाचन घोषणा पत्र तयारी समिति सभापतिले आवश्यक परामर्श गरी अविलम्ब गठन गर्ने निर्णय गरेको छ।
यसका साथै संसदमा अनुमोदनका लागि दर्ता भएको एमसिसी यथाशिघ्र प्रस्तुत गरी अनुमोदन गर्न बैठकले माग गरेको छ। बैठकले एसिसीबारे बाह्र बुँदे धारणा राखेको छ।