पार्टी ठूलो बनाउने नाममा अति महत्वाकांक्षा र सत्ता केन्द्रित रणभुल्लमा परेको कमल थापाले स्वीकार गरेका छन्।
आइतबार राप्रपा नेपालमा आवद्ध भएसँगै अध्यक्ष भएका कमल थापाले केही समयको अलमलपछि आफू पुनः पार्टीमा फर्किएको बताएका छन्।
‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौं, थापाले भने, ‘केही समयको अलमलपछि फेरि हामी आफ्नो घर फर्केका छौं।’
थापा धनकुटाका नेता लाक्पा तामाङको अध्यक्षतामा गठन भएको राप्रपा नेपालको अध्यक्ष भएका हुन्। आइतबार लामाले अध्यक्ष पदबाट राजीनामा दिएपछि थापा राप्रपा नेपालको अध्यक्ष भएका हुन्।
‘२०७३ सालदेखि हामीले बाटो विरायौं। पार्टी ठूलो बनाउने नाममा अति महत्वाकांक्षा र सत्ता केन्द्रित रणभुल्लमा पर्यौं। गम्भीर राजनीतिक भुलका श्रृखंलाहरु शुरू भए। असहज र गलत प्रवृत्तिहरुसंग सम्झौता गर्न थाल्यौं । फलस्वरुप हामी करिव पाँच वर्ष राष्ट्रिय राजनीतिमा करिव करिव निस्क्रिय, प्रभावविहिन हुन पुग्यौं’, थापाले भने।
राप्रपा नेपाल २०६३ सालको राजनीतिक परिवर्तन पछि अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गचित्र बोकेर नेपालको राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको थापाले जिकिर गरेका छन्।
राप्रपा नेपाल देशको भरपर्दो शक्ति बनेको भन्दै थापाले २०७० सालको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरु पछिको तेस्रो ठूलो शक्तिको रुपमा राप्रपा नेपाल देखा परेको बताए।
विगतका त्रुटि र कमिकमजोरी सच्याएर पुनः पुरानै ठाउँमा फर्किएको थापाले बताए।
‘नियतिले अन्ततः फेरि हामीलाई ठीक ठाउँमा ल्याईपुर्याएको छ। विगतका त्रुटि, कमजोरीहरुबाट पाठ सिकेर तथा गल्तिहरु सच्याएर फेरि एकपटक आफ्नो गन्तव्यतर्फ अग्रसर रहने अवसर हामीले पाएका छौं’, उनले भने, ‘बिचमा अवरुद्ध भएको हाम्रो यात्रा अब नयाँ उर्जा र अठोटका साथ अघि बढने छ । राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘सम्बद्धनवाद’ को मुल शक्ति राप्रपा नेपाल हो भन्ने कुनै द्विविधा छैन।’
थापाले राप्रपा नेपालले अब राजतन्त्रको वकालत नगर्ने भएको छ। थापाले आइतबार विज्ञप्तिस जारी गर्दै राप्रपा नेपालको विरासतलाई निरन्तरता दिंदै अबदेखि ‘हिन्दुराष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मुल एजेण्डा हुने बताए।
जनताको भावना र देशको धरातलीय यथार्थलाई दृष्टिगत गर्दै केही मान्यताहरु, प्राथमिकताहरु र कार्यनीतिमा समयानुकुल परिमार्जन गर्ने थापाले बताए।
उनले आगामी स्थानीय तहको निर्वाचनमा आफूहरू सक्रियताका साथ सहभागी हुने बताए।
उनले राप्रपा नेपालको घोषणासभा २०७८ साल फागुन ७ गते काठमाडौंमा हुने जानकारी गराए।
विगतमा सँगै काम गरेका साथीलाई उनले विना कुनै द्विविधा राप्रपा नेपालमा आवद्ध हुन आग्रह गरे।
‘हिन्दुराष्ट्र, सुशासन र समृद्धिको मान्यता प्रति विश्वास गर्नु हुने स्वतन्त्र बुद्धिजिवि, नागरिक समाज, तथा विभिन्न दलहरुमा आवद्ध रहेकाहरुलाई पनि राप्रपा नेपाललाई साथ दिन, सहभागी हुन र मार्गदर्शन गर्न सविनय अनुरोध गर्दछु,’ उनले भने।