उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएको झन्डै ४० घन्टामा नेपाली कांग्रेस बाँकेका नेता गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन्।
बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाएका हुन्। उनले पदबाट दिएको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरिसकेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ।
हमाल संघीय संसदमा सांसद थिएनन् तैपनि उनी मन्त्री भएका थिए। संविधानमा सांसद नभएका व्यक्ति ६ महिना मन्त्री हुन पाउने व्यवस्था छ।
हमाल मन्त्री भएपछि आलोचना भएको थियो। सत्तारूढ नेपाली कांग्रेससहित सत्तागठबन्धनभित्र पनि यसबारेमा आलोचना भइरहेको थियो।
हमाल मन्त्री नियुक्ति भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पनि विवादमा तानिएका थिए। हमाल प्रधानन्यायाधीश चोलेन्द्रका जेठान पनि हुन्।
आफूमाथि सञ्चार माध्यमहरूमा आइरहेका आलोचनाले गर्दा मन्त्री परित्याग गरेको हमाल बताउँछन्। आफू पदका लागि राजनीति नगरेको उनको भनाइ छ।
‘मैले आफ्नो स्वविवेक प्रयोग गरेँ। धेरै सोचेँ। विवादमा किन परूँ? हुन त मलाई साथीहरूले र नेताहरूले पनि राजीनामा नदेऊ भनेका छन्,’ हमालले भने, ‘तर म राजीनामा दिने पक्षमा छु। आज राजीनामा दिन्छु। १०० प्रतिशत राजीनामा दिन्छु।’
आफूले राजीनामा दिएपछि स्वीकृत गर्न देउवालाई कर लाग्ने उनको भनाइ थियो।
‘पत्रपत्रिका र समाचारमा भन्दिए हुन्छ- राजीनामा दिँदैछन् भनेर। समाचार आएपछि शेरबहादुरजीले पनि राजीनामा स्वीकृत गर्नुपर्छ, नत्र राजीनामा स्वीकृत गर्दैनन् क्या देउवाले, अब विवादमा नफस्ने।’
तर प्रधानमन्त्री देउवानिकट स्रोतले भने हमाललाई मन्त्री बनाउँदा सन्देश राम्रो नगएकोले मन्त्री छाड्न आग्रह गरिएको दाबी गरेको छ।
‘उहाँलाई शनिबार प्रधानमन्त्रीले सन्देश राम्रो गएन, राजीनामा दिनुस् भन्नुभएको थियो,’ बालुवाटार स्रोतले भन्यो, ‘मिडियाले राम्रो लिएन। सरकारकै आलोचना हुन थाल्यो त्यसैले राजीनामा दिन भनिएको थियो।’