जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगलाई जवाफ पठाएका छन्।
जसपा अध्यक्ष यादवलाई पार्टीले गरेका निर्णयलाई राजनीतिक दल सम्बन्धी ऐनमा रहेको अनुसूची अनुसार निर्णयहरू पठाउन आयोगले पत्र पठाएको थियो।
आयोगको पत्र अनुसार सबै डकुमेन्ट पठाइएको यादवका प्रेस संयोजक महेश चौरसियाले सेतोपाटीलाई बताए।
जेठ १७ गते यादव पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जनालाई पार्टीबाट निष्काशन गरेको थियो।
जसपाका ५१ जना कार्यकारी सदस्यमध्ये २७ जनाको हस्ताक्षरसहित पार्टीको निर्णय निर्वाचन आयोगमा पठाइएको यादव पक्षको दावी छ।
जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरलाई पनि आयोगले पत्र पठाएको थियो। आयोगले ठाकुर पक्षलाई भने बैठकको माइन्युटसहितका डकुमेन्ट पठाउन भनेको थियो।
ठाकुर पक्षले आयोगलाई पत्र पठाउन अझै केही दिन लाग्ने जनाएको छ।