एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले राष्ट्रपतिले बहुमत प्राप्त गर्न सक्ने आधार देखेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने बताएका छन्।
सेतोपाटीसँग कुराकानी गर्दै एमाले संसदीय दलका उपनेता नेम्वाङले प्रधानमन्त्रीमा दावी गर्ने व्यक्तिको आधारबारे निर्क्यौल गर्ने अधिकार राष्ट्रपतिमै भएको बताए।
'७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिको हो। यसमा सांसदहरूको हस्ताक्षर लिएर जाने भन्दा पनि राष्ट्रपतिसँग दावी प्रस्तुत गर्ने हो,' उनले भने, 'राष्ट्रपतिले कुन आधारमा गर्नुहुन्छ, यो भविषयमा एउटा नजिर समेत बन्न सक्छ।'
एमालेले पनि सरकारको दावी गर्छ भन्ने प्रश्नमा नेम्वाङले त्यो धारा अन्तर्गत सबैले दावी गर्न पाउने जवाफ दिए।
प्रधानमन्त्रीले जिम्मेवारीपूर्वक नै सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेको पनि उनले दावी गरे।
'जेठ १५ मा बजेट ल्याउनै पर्ने संवैधानिक प्रावधान छ। त्यसका लागि अहिले नै मार्ग प्रशस्त गर्नुभएको हो। अहिलेसम्म विभिन्न प्रक्रिया पूरा भएकाले भोलिसम्मको समय दिइएको हो,' उनले भने, 'विश्वासको मत नलिइकन वा राजीनामा नदिइकन सरकार गठनका लागि राष्ट्रपतिलाई आग्रह गर्न पाइँदैन भनेर संविधानमा कतै लेखेको छैन। समयको चापकै कारणले राष्ट्रपतिले थोरै समय दिनुभएको होला।'