नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार बन्न नदिने नियत राखेको बताएका छन्।
सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक गुरुङले राष्ट्रपतिले प्रधानमन्त्री ओलीकै निरन्तरता चाहेको बताए।
‘एकातिर राष्ट्रपतिको कदम असंवैधानिक छ। प्रधानमन्त्रीले कि त संसदको सामना गर्नुपर्छ कि त राजीनामा दिनुपर्छ। यो दुवै प्रक्रिया नगरी स्वइच्छाले सरकार गठनका लागि राष्ट्रपतिलाई आह्वान गर्ने कुनै प्रावधान छैन,’ उनले भने, ‘राष्ट्रपतिले अहिलेकै प्रधानमन्त्रीलाई पुनः सपथ गराएर प्रतिनिधिसभा विघटन गरेर निर्वाचन गराउन चाहेको देखियो। हामीले संविधान र संसद रक्षाको लागि आवश्यक पहल गर्नुपर्छ।’
उनले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान र संसद नै मास्न लागेको आरोप लगाए।
कानुनी प्रक्रियामा जानका लागि समेत समय नहुने गरी राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान हुनु रहस्यमय भएको उनले बताए।