प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुँदै गएको बताएका छन्।
शनिबार पुनर्निर्मित ऐतिहासिक धरहराको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कमजोर बनाउन प्रयास गर्ने सबै शक्तिहरु कमजोर हुँदै गएको बताएका हुन्।
नयाँ शासकीय व्यवस्थासँगै लोकतन्त्र सुदृढ हुँदै गएको र लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहहरु कमजोर हुँदै गएको बताए। ‘लोकतन्त्र सुदृढ हुदै गएको छ। लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहहरु कमजोर हुदै गएका छन्। र विभिन्न प्रकारले देश, जनता, विकास, सम्मृद्धि र जनताको सुखसंग मतलब नभएका स्वार्थमा तल्लिन तत्वहरु छटपटाईरहेका छन्,’ उनले भने।
धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै उनले आ आफ्ना घरमा साँझ दिपावली गर्न सबैलाई आव्हान गरे। पुर्ननिर्माणका काममा कोभिडले केही असर गरे पनि आवश्यक सर्तकता अपनाउँदै सरकारले विकास निर्माणका कामलाई निरन्तरता दिएको र निरन्तर प्रयासले नै धरहराको पुनर्निमाण सम्पन्न भएको तर्क उनले गरे।
उनले महाभुकम्पको समयमा धरहरा भत्किएर जीवन गुमाएका सदस्यको परिवारलाई धरहराको संरचना भित्र कामगर्न पाउने गरि प्रतिपरिवार एक जनाका दरले रोजगारी उपलब्ध गराउन पनि आग्रह गरे।
वर्तमान सरकारले सम्मृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय अभियान अन्तर्गत कोहि पनि भोकै नरहने गरि नेपाललाई विकसित राष्ट्र बनाउने प्रतिवद्धता जनाए। उनले धरहरा निर्माणले नेपालीले चाहे सबै गर्न सक्छन् भन्ने सन्देश पनि दिएको उल्लेख गर्दै अब राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रुपमा उभ्याउनुपर्ने आवश्यकता औल्याउ।
‘देश हामीले बनाउने हो र हामी बनाउन सक्छौं। नेपाली जाती भिख माग्ने होइन दाता जाती हो र यसलाई दाताको हैसियतमा उठाउनुपर्छ। हामीले हाम्रो राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रुपमा उभ्याउनुपर्छ,’ उनले दोहोर्याए।
आफूलाई आवश्यक पर्ने वस्तुहरुको उत्पादन आफैंले गर्नुपर्ने र आयातमुखी नभई उत्पादनमुखी बन्नुपर्ने उल्लेख गर्दै उनले त्यही बाटोमा सरकार अघि बढेको बताए।
सरकारले २०७८ सालभित्र काठमाण्डौको सडकबाट मगन्ते, भिखारी र सडकबालबालिका मुक्तको अवस्थामा पुर्याउने दोहोर्याए। उनले ३९६ वटा अस्पताल निर्माण सुरु गरिएको, मेलम्चीको पानी काठमाण्डौ आएको, तराईमा सिंचाईका काम लगायत विकास निर्माणका कामहरु भईरहेको बताए।
कार्यक्रममा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहरालाई व्यापारिक कम्प्लेक्सको रुपमा बनाउन लागियो भन्ने भनाईमा सत्यता नभएको भन्दै सबैको साझा विश्रामस्थलको रुपमा धरहरालाई कायम राखिने आश्वासन दिए। उनले भुकम्पको ६ वर्ष पुग्दै गर्दा पुर्ननिर्माणका कामहरु प्रभावकारी ढंगले भएको बताए। उनले ९३ प्रतिशत व्यक्तिगत घरहरुको निर्माण कार्य सकिएको पनि जानकारी दिए।