नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको छ।
बिहीबार नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत पार्टीका केन्द्रीय कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभाका सांसदहरुसहितको टोली पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको हो ।
उक्त समूहले आफ्नो पक्षका २ सय ९५ केन्द्रीय समिति सदस्यको हस्ताक्षर र बिहिबार सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयको आधिकारिक प्रतिलिपि निर्वाचन आयोगलाई बुझाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
पेश गरिएका कागजातलाई नेपालको संविधान, राजनीतिक दल सम्बन्धी कानूनका आधारमा हेरेर छिट्टै नेकपा विवादको कानुनी निरुपण गरिने वचन प्रमुख निर्वाचन आयुक्तले दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
सो अवसरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा वैधानिकताको प्रश्न आएको भन्दै आफुहरु आधिकारिक भएको बताएका थिए। केन्द्रीय कमिटीका करिब दुई तिहाईको हाराहारीका सदस्यहरु आफूहरूतिर रहेको बताउँदै अध्यक्ष प्रचण्डले सबै स-शरिर उपस्थित भएको र आगामी दिनमा पनि निर्वाचन आयोगले चाहे २ सय ९५ सदस्य नै सशरिर उपस्थित हुन सकिने बताएको जानकारी दिए।
स-शरिर उपस्थित हुनुभन्दा ठूलो कुनै प्रमाण हुन नसक्ने जिकिर गर्दै प्रचण्डले पार्टीको आधिकारिकता, चुनाव चिन्ह र केन्द्रीय सदस्यहरुको नामावलिलाई वैधानिक व्यवस्था अनुसार छिट्टै निक्र्योल तथा निर्णय गरिदिन निर्वाचन आयोग समक्ष माग गरेका थिए।
यसअघि उनीहरू माइतीघर प्रदर्शन गरेका थिए।
प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए। उक्त कदम असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्न दलहरूले माग गरिरहेका छन्।
अहिले संसद विघटनविरूद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ।
तस्बिरहरू : नारायण महर्जन