नेपाल कम्युनिष्ट पार्टी केपी शर्मा ओली पक्षले विधान संशोधन गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगलाई दिएको छ।
त्यस्तै, ओली पक्षले पार्टीको निर्णय एक जना अध्यक्षले प्रमाणीकरण गरे पुग्ने व्यवस्था समेत संशोधनमार्फत् गरेको छ।
यसअघि बुधबार नै नेकपाको प्रचण्ड र माधव नेपाल पक्षले निर्वाचन आयोगलाई अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको जानकारी दिएको थियो।
विधान संशोधनमा केन्द्रीय समितिको सदस्य संख्या बढाइएको उल्लेख छ। ओली पक्षले थप गरिएका ५ सय ५६ जना केन्द्रीय सदस्यको सूची समेत निर्वाचन आयोगमा पठाएको छ। ओली पक्षले केन्द्रीय समिति ११९९ बनाउने निर्णय गरेको थियो।
त्यस्तै ओली पक्षले विधान संशोधनमा पार्टीको महाधिवेशन यसअघि २ वर्षभित्र गर्ने भन्ने ठाउँमा ४ वर्षभित्र गर्ने भन्ने शब्द राखेको छ।
निर्वाचन आयोगका अनुसार पार्टी प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकिएको जानकारी पनि आयोगमा पुगेको छ।