संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पुस ५ गते अपरान्ह साढे ३ बजे दर्ता भएको प्रष्ट पारेको छ।
यसअघि सभामुखको सचिवालयले अविश्वासको प्रस्ताव बिहान साढे १० बजे दर्ता भएको जनाएको थियो।
त्यस्तै नेकपाका प्रमुख सचेतक देव गुरुङले पनि सेतोपाटीसँगको कुराकानीमा प्रधानमन्त्रीले संसद विघटन गर्न लागेको सूचना मिडियाबाट पाएलगत्तै अविश्वासको प्रस्ताव दर्ता गरेको बताएका थिए।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ति जारी गर्दै सभामुखलाई सम्बोधन गर्दै विधिवत् पेश भई सभामुखको तोक आदेशपछि सोही दिन अपरान्ह ३ बजेर ३० मिनेटमा कार्यव्यवस्था शाखा प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको जनाएको छ।
कतिपय अनलाइनमा साढे १० बजेको समयलाई टिपेक्स्ट लगाएर साढे ३ बजे बनाइएको समाचारहरू प्रकाशित भएका थिए।
भ्रम फैलिएपछि सचिवालयले विज्ञप्ति जारी गर्दै प्रष्ट पारेको हो।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ५ गते नै उक्त प्रस्ताव दिउँसो साढे ३ बजे दर्ता भएको उल्लेख गरेका थिए।
सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटनको असंवैधानिक निर्णय लिएकी थिइन्। राष्ट्रपति कार्यालयले पठाएको पत्र साँझ ५ बजेर १० मिनेटमा संसद सचिवालयमा दर्ता भएको थियो।