प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अलोकतान्त्रिक भएको बताएका छन्।
मंगलबार साँझ ट्वीट गर्दै संसद अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताएका हुन्।
‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हाँस्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छl यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ’, उनले भनेका छन्, ‘यसमा नेपाली कांग्रेसको प्रस्ट विमति छ!’
मंगलबार बिहान कोरम नपुगेर स्थगित भएको संवैधानिक परिषद् बैठक पुन: सुरू भएको छ।
उक्त बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने अनुपस्थित छन्। बिहान बसेको बैठकमै देउवाले अध्यादेश ल्याए आफूलाई मान्य नहुने बताएका थिए।
बिहान बैठकलगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बोलाएका थिए। उक्त बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
त्यसपछि राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन्। उक्त अध्यादेशमा परिषद् बैठकका लागि गणपुरक संख्या ३ जनामात्र भए पनि हुने उल्लेख छ।
यसअघि बैठक बस्नको लागि परिषद् अध्यक्ष र कम्तिमा चार जना उपस्थित हुनुपर्ने प्रावधान थियो।