राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
आज मंगलबार बिहान ९ बजेका लागि बोलाइएको परिषद बैठक सभामुख अग्नि सापकोटाको अनुपस्थितिका कारण बस्न नसकेपछि सरकारले मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् ।
यसअघि अध्यक्षबाहेक ४ जना सदस्य उपस्थित हुँदा मात्र संवैधानिक परिषद् बैठक बस्न सक्ने कानूनी व्यवस्था थियो ।
त्यसलाई संशोधन गर्दै अध्यादेशमा अध्यक्षसहित तत्काल कायम सदस्य संख्याको बहुमत सदस्य उपस्थित भएमा भन्ने वाक्यांश राखिएको छ ।
उक्त अध्यादेश राजपत्रमा प्रकाशित समेत भइसकेको छ ।
यससँगै अब प्रधानमन्त्री र अन्य २ सदस्य उपस्थित हुँदा बैठक बस्न र निर्णय गर्न कानूनी अड्चन हुने छैन ।
सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा दुवै अनुपस्थित हुँदा पनि बैठक बस्न सक्नेछ ।
अध्यक्षसहित ६ सदस्यीय परिषद्मा उपसभामुख रिक्त रहेकाले हाल ५ सदस्य छन् । अध्यक्षसहित ३ जना उपस्थित हुँदा बहुमत पुग्छ ।
संवैधानिक परिषद् बैठक अहिले साँझ बस्दैछ ।
अध्यादेश जारी भएपछि देउवा पनि बैठकमा अनुपस्थित हुने भएका छन् ।
हेर्नुहोस् अध्यादेश :