राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार अबेर राति पार्टी एकता घोषणा भएको छ।
दुई पार्टी एकता भएपछि नाम 'जनता समाजवादी' राखिएको छ। एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रङको बीचमा तारा हुने सहमति भएको छ भने चुनाव चिह्न राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ।
लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको हो। पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।
प्रधानमन्त्री केपी ओलीले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएपछि दुई दलले बुधबार राति नै एकता घोषणा गरेका हुन्।
समाजवादी पार्टी फुटाउन सात सांसदले तयारी गरेपछि त्यसलाई रोक्न हतारमा समाजवादी र राजपाले एकता गरेका हुन्।
राजपाकी वरिष्ठ नेता निर्जला राउतको भैसेंपाटीस्थित घरमा बसेको दुई पार्टीको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो। एकताको चार बुँदे सहमतिपत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन्। समाजवादी पार्टीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्।
राजपा अध्यक्ष मण्डलका सदस्यहरू अनिल झा र राजकिशोर यादव भने एकता प्रक्रियामा उपस्थित थिएनन्। उनीहरू काठमाडौं बाहिर रहेकाले एकता प्रक्रियामा सहभागी नभएको राजपा महासचिव केशव झाले सेतोपाटीलाई बताए।
पार्टी एकता समानताको आधारमा गरिने सहमति भएको छ। समाजवादी पार्टीमा १७ जना सांसद छन् भने राजपासँग १७ जना सांसद छन्।राजपाका १७ सांसदमा रेशम चौधरी निलम्बनमा छन्।