सरकारले सोमबारबाट लामो दुरीका सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको छ। कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
काठमाडौं उपत्यकाभित्र छोटो दुरीका सार्वजनिक यातायात चलाउन पाउने तर बाहिर जाने लामो दुरीका सवारी भने रोक लगाइएको यातायात मन्त्री वसन्तकुमार नेम्वाङले बताए।
उनका अनुसार, बाहिर जिल्लाभित्र पनि छोटो दुरीका स्थानीय सार्वजनिक यातायात गुड्न पाउनेछन्।
निजी गाडीलाई सार्वजनिक सवारीका रूपमा प्रयोग गर्न पनि रोक लगाइएको छ। कुनै निजी गाडीले यात्रु ओसारपसार गरेको फेला परे सरकारले जफत गरेर कोरोना भाइरससम्बन्धी सचेतना अभियानमा प्रयोग गर्ने मन्त्री नेम्वाङले जानकारी दिए।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै केही दिनलाई सार्वजनिक यातायातमा रोक लगाइने बताएका थिए। प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेअनुसार लामो दुरीका सवारी चलाउन पाउने अन्तिम दिन आइतबार हो।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले रोगको संक्रमण नफैलियोस् भनेर लामो दुरीका सार्वजनिक सवारीमा रोक लगाइएको बताएका छन्। 'एउटै गाडीमा धेरै जना लामो समय यात्रा गर्दा पनि संक्रमण एउटा व्यक्तिबाट अर्कोमा सर्न सक्छ,’ हमालले सेतोपाटीसँग भने।
निजी सवारी वा मोटरसाइकल/स्कुटरका हकमा भने कुनै निर्णय नभएको उनले बताए। ‘हालसम्म यस्ता सवारी साधन रोक लगाउने कुरा छैन। केही नयाँ निर्णय भयो भने हामी सूचना निकाल्छौं,’ उनले भने।
सरकारको निणर्यप्रति यातायात व्यवसायीको पूर्ण समर्थन रहेको नेपाल यातायात व्यवसायी महासघंका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले बताएका छन्।
‘यातायात सेवा बन्द गर्न हामीले अनुरोध गर्नुपर्नेमा सरकार पहिल्यै सजग भएको छ। हामी सार्वजनिक यातायात सेवा एउटा जिल्लाबाट अर्को जिल्ला लैजादैनौं,’ उनले भने।
मास्क र गाडी सफा गर्न सेनिटाइजर अभाव हुँदा यातायात व्यवसायीलाई छोटो दूरीमा यातायात सेवा दिन समस्या भएको पनि उनले बताए।
यी पनि हेर्नुहोस्:
भारत र चीनतर्फका सबै नाका सात दिन बन्द गर्ने सरकारको निर्णय
'वीरगञ्जका एक व्यापारीलाई कोरोना पुष्टि भइसकेको छैन'
सरकारले मगायो चीनबाट १९, भारतबाट १६ प्रकारका कोरोनासम्वन्धी सामाग्री
घरमा बुढा आमाबुवा छन्? झन् बढी होसियार हुनुस्
पोखरा ट्रेड मलका सटरमा ५० प्रतिशत भाडा छुट
आफ्नै होटलमा नि:शुल्क क्वारेन्टाइन राख्न अघि सरे वीरगन्जका व्यवसायी
घोडेजात्रा हुने कि नहुने टुंगो छैन, भए पनि कुमारीले नहेर्ने