कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि समाजलाई यो रोगसँग जुध्न सहयोग गर्ने मनकारी हातहरू पनि बढ्दै गएका छन्।
काठमाडौंका केही घरबेटीले डेराभाडा छुट दिएका छन् भने कतिपयले आफ्नो घर नै क्वारेन्टाइन निम्ति उपलब्ध गराएका छन्। यसैमा थपिएका छन्, वीरगन्जका होटल सञ्चालक हरि पन्त।
उनी वीरगन्जको आदर्शनगरमा क्लासिक होटल चलाउँछन्। उनले तीन दिनअघि आफ्नो होटल क्वारेन्टाइनमा बस्नुपर्नेहरूका लागि नि:शुल्क उपलब्ध गराउने घोषणा गरेका छन्।
कोरोना भाइरसको जोखिम बढ्दै गएका बेला संक्रमणको आशंका भएका व्यक्तिलाई अरूसँग हेलमेल हुन नदिन छुट्टै बासस्थानको खाँचो बढ्दै गएको छ। सरकारले निर्माण गर्ने क्वारेन्टाइनले मात्र यस्तो बासस्थानको आवश्यकता पूरा नहुन सक्छ। यस्तोमा निजी क्षेत्र पनि सहयोग गर्न अघि सर्नुपर्नेछ।
'क्वारेन्टाइनका लागि पर्याप्त भौतिक पूर्वाधार आवश्यक देखेर मैले आफ्नो होटल उपलब्ध गराएको हुँ,' पन्तले सेतोपाटीसँग भने, 'भारतमा कोरोना भाइरसका बिरामी बढेसँगै नेपाल पनि चनाखो हुनुपर्ने समय आएको छ। त्यसमाथि वीरगन्ज नाकाबाट अत्यधिक ओहोरदोहोर भइरहेको छ।'
यस्तो बेला सरकारी सेवा मात्र पर्याप्त नहोला भनेर यो कदम चालेको उनले बताए। 'संकटको घडीमा सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्ने हो,' उनले भने।
उनको होटलमा १७ कोठा छन्। संघीय, प्रदेश र स्थानीय सरकारले आवश्यकताअनुसार सबै कोठा क्वारेन्टाइन निम्ति प्रयोग गर्न सक्ने उनले जानकारी दिए।
‘पर्यटक आउन बन्द भएपछि होटल खाली नै छ। अस्पतालको पूर्वाधारले मात्र पर्याप्त नभए सरकारले होटलका कोठाहरू पनि प्रयोग गर्न सक्छ,’ उनले भने, ‘यस्तो बेला हामीले व्यावसायिक घाटा वा नाफा हेरेर हुँदैन। सबैले आ-आफ्नो ठाँउबाट सहयोग पुर्याउनुपर्छ।'