वीरगञ्जका एक व्यापारीलाई कोरोना पुष्टि नभएको परिवारले जनाएको छ।
कतिपय सञ्चार माध्यमले एक व्यवसायीलाई कोरोना भएको समाचार दिए पनि उनका भाइले कोरोना पुष्टि हुन बाँकी रहेको सेतोपाटीलाई जानकारी दिए।
व्यापारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अहिले भारतको पटनास्थित पटना मेडिकल कलेज एण्ड हस्पिटलमा भर्ना गरिएको छ। 'दाइको स्वाब टेस्टका लागि पुने पठाइएको छ', उनका भाइले भने, 'भोलि रिपोर्ट आएपछि मात्र थाहा हुन्छ।'
आशंका गरिएका व्यवसायीलाई वीरगञ्जकै गण्डक अस्पतालले पटना रिफर गरेको थियो। 'पटनामा जाँच गर्दा चिकित्सकहरुले कोरोनाको आशंका गरेका छन् भनेर दाइले मलाई दिउँसो फोनमा भन्नुभयो', भाइले भने, 'थप परीक्षण हुदैँछ। अहिले पुष्टि भएको छैन।'
उनले दाइको स्वास्थ्य सुधारउन्मुख रहेको बताए। 'हामी पनि यहाँ त्यस्तो खबर सुनेपछि सतर्क भएर बसेका छौँ।' उनले दाइ केही समयअघि भारतको कलकत्ता पुगेर फर्किएको जानकारी दिए।
'२० दिन अघिजति कोलकोत्ता पुगेर आउनु भएको थियो', उनले भने, 'पाँच दिन भयो दाइ बिरामी पर्नु भएको।'