कोरोना भाइरसको जोखिम बढेपछि यसपालि घोडेजात्रामा कुमारीको सवारी नहुने भएको छ। भीडभाडमा संक्रमणको जोखिम बढ्नसक्ने भएकाले यस्तो निर्णय गरेको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ।
प्रत्येक वर्ष घोडेजात्राका दिन नेपाल वायुसेवा निगमको भवनमा कुमारीको सवारी हुन्छ। कुमारीले निगम भवनबाटै घोडेजात्रा हेर्ने चलन छ। यसपालि भने घोडेजात्रामा कुमारी सवारी नहुने समितिका अध्यक्ष गौतम शाक्यले बताए।
मंगलबार परेको घोडेजात्रा मनाउने कि नमनाउने भन्नेबारे अहिलेसम्म निर्णय भएको छैन। सेनाले उत्सव मनाउन टुँडिखेलमा मञ्चहरू झकिझकाउ भने पारिसकेको छ।
‘समय र परिस्थितका कारण कुमारीले यसपटक घोडेजात्रा अवलोकन गर्नुहुन्न,’ उनले भने, ‘कुमारीको नित्यपूजाबाहेक सबै गतिविधि बन्द गरिएको छ।’
घोडेजात्राको दिन सेनाले टुँडिखेलमा घोडचढी प्रदर्शन गर्छन्। सेनाको शारीरिक व्यायाम, जिम्न्यास्टिक, अश्वकला, मोटरसाइकल खेल र युद्धकला पनि देखाउँछन्। घोडाको टापले कुल्चिएर भूत, प्रेत र पिशाच भाग्ने जनविश्वास छ।
'जीवित देवी' मानिने कुमारीलाई वायुसेवा निगमको भवनमा आसन बनाएर घोडेजात्रा अवलोकन गराइन्छ। अध्यक्ष शाक्यका अनुसार पहिले यो भवन कुमारीकै जग्गामध्येको थियो। त्यहाँ सतल (सतः) थियो।
‘पुराना फोटोमा सतल देखिन्छ,’ शाक्यले भने, ‘सरकारले सतल मासेर भवन बनाएपछि त्यसैको एउटा कोठामा आसन बनाएर जात्रा नजर गराइन्छ।’
चैत कृष्णऔंशीका दिन मनाइने घोडेजात्रा राणाकालीन समयमा सुरू भएको हो। त्यसअघि नेवार समुदायले मनाउने पहाँःचह्रे जात्रा मनाइन्थ्यो। यो जात्रा तीन दिनसम्म मनाइन्छ, जुन यही चैत १० देखि १२ गतेसम्म परेको थियो। स्थानीय नेवारहरू यसलाई दसैंपछिकै ठूलो पर्व मान्छन्। संसारभरि फैलिएको महामारीबाट सतर्कता अपनाउन पहाँःचह्रे जात्रा पनि नगर्ने निर्णय गरिएको छ।
पहाँःचह्रेमा अजिमा दिदी–बहिनी लुमन्ती अजिमा, कंग अजिमा र तेःबहाल अजिमाको खटजात्रा हुन्छ। यसलाई कतिले ‘पासा चह्रे’ पनि भन्छन्। नेवार भाषामा पाहाँको अर्थ पाहुना र पासाको अर्थ साथी हो। चह्रे चन्द्रमासको क्यालेन्डरअनुसार चौधौं दिनलाई भनिन्छ।
यो जात्रामा अजिमा दिदी–बहिनीहरूको खट जुधाएर एकअर्कालाई आदर र सम्मान प्रकट गरिन्छ। तीनै खटबाट चिलाख साटासाट हुन्छ। जात्रामा असनका घर–घरबाट चटामरी फाल्ने चलन छ। चटामरी पाउनेलाई लाभ हुने जनविश्वास छ।
‘पहाँःचह्रेको एकदिन अगाडि नै सबै देवीदेवता त्यहाँ उपस्थित गराउनुपर्छ। त्यसको व्यवस्थापन सबै कुमारीले नै गराउनुपर्छ,’ गौतम शाक्यले भने, ‘पहिले वहाँ पहाँःचह्रे जात्रा नै हेर्नुहुन्थ्यो। त्यो दिनमा घोडे जात्रा भएपछि कुरामीलाई घोडे जात्रा देखाउने भन्ने नै भयो।’
पहाँःचह्रेसँगै चैत १९ देखि चैत २१ सम्म मनाइने सेतो मच्छिन्द्रनाथ (आर्यवलोकितिश्वर) पनि कोरोना जोखिमका कारण रोक्का गरिएको छ। सेतो मच्छिन्द्रनाथलाई 'वर्षाको देवता' भनिन्छ। जात्राको पहिलो दिन जमलबाट असनसम्म रथ तानिन्छ भने दोस्रो दिन असनबाट हनुमानढोका र तेस्रो दिन हनुमानढोकाबाट लगन पुर्याएर रथयात्रा टुंगिन्छ।
शनिबार सयौं दर्शनार्थीको घुइँचो लाग्ने संकटा, भद्रकाली, महांकाल लगायत काठमाडौंका प्रमुख मन्दिरमा पनि प्रवेश रोक लगाइएको छ। सरकारले कोरोना भाइरसविरूद्ध सतर्कता अपनाउन '२५ जनाभन्दा बढी भेला नहुनू' भन्ने सूचना जारी गरेपछि विभिन्न गुठी व्यवस्थापन समिति तथा मन्दिरहरूले यस्तो निर्णय गरेका हुन्।