प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दूरगामी महत्त्वका काम गरेको भन्दै आफ्नो प्रगतिमा आत्मभर्त्सना नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
पार्टीको बागमती प्रदेश संगठन कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसारले नेपाल तीव्र आर्थिक विकास गर्ने दस वटा देशमध्ये परेको भन्दै प्रशंसा गरेका बेला देशभित्रै भने आत्मभर्त्सनाको प्रयास भएको बताए।
‘सरकारले दूरगामी महत्वका धेरै काम गरेको छ, मुलुक सुरुङ मार्गको युगमा प्रवेश गरेको छ, रेल सञ्चालनको तयारी भएको छ, सडक कालोपत्रे गर्ने र पुल निर्माण गर्ने काम इतिहासमै तीव्र गतिमा भइरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘संसारका तीव्र आर्थिक वृद्धि गर्ने दस वटा देशमा नेपाल परेको भन्दै प्रशंसा भइरहेको छ। तर, यहाँ आफ्नैभित्र चाहिँ केही हुन सकेन भन्दै आत्मभर्त्सना गर्ने प्रवृत्ति बढेको छ।’
प्रधानमन्त्री ओलीले अफवाह फैलाउनेको दुष्प्रभाव समाजमा परेको बताए। तेह्रथुमको आफ्नो जन्मगाउँमा करिब ४ हजार घरधुरीलाई खानेपानी, बिजुली र बैंकिङ सेवा सुविधाको सुरूआत गर्न जाँदा त्यसको कुनै चर्चा नभएको तर संयोगवश परेको आफ्नो जन्मदिनमा काटिएको केकबारे दुष्प्रचार गरिएको उनको भनाइ थियो। ‘पुस्तौदेखि पानी खान नपाएर काकाकुलको जीवन गुजारेका जनताले त्यस दिन उद्घाटन गरेर सुरू भएको खानेपानी, बिजुली र बैंकिङ सेवाको चर्चा गरिएन’ प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो गाउँमा सेवा सुविधा आएपछि जनता खुसी भएर संयोगवश परेको मेरो जन्मदिनमा काटिएको केकले काठमाडौंमा भुइँचालो नै आयो।’
दशौंवर्ष अघिदेखिका जघन्य अपराध र भ्रष्टाचार अन्त्य गर्न सरकारले अग्रसरता लिएको बताउँदै प्रधानमन्त्री ओलीले त्यस्तो कदमविरूद्ध अन्य केही पार्टी माइतीघर मण्डलामा आउन थालेको बताए।
‘१२ वर्ष अघिदेखि पावरका भरमा लुकाइराखेका भ्रष्टाचारमा धमाधम कारबाही भइरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो पार्टीका नेता आफ्नो नाम जोडिनासाथ छानबिनका लागि राजीनामा दिन्छन्, अरू पार्टी माइतीघर मण्डलामा जुलुस निकाल्छन्। भ्रष्टाचारमा कसैको अनुहार नहेरी कारबाही गरिन्छ।’