प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई भ्रष्टाचार आरोप लागे नेकपाका कार्यकर्ताले बचाउमा नलागेको भन्दै गुनासो गरेका छन्।
बिहीबार राजधानीमा आयोजित बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अरू दलका नेतालाई भ्रष्टाचार आरोप लागे संसद अवरोध हुने, माइतीघरमा आन्दोलन हुने भए पनि नेकपा नेतालाई त्यस्तो आरोप लागे कार्यकर्ता चुप लागेर बस्ने बताए।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको आरोप लागेका पूर्वमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका थिए।
‘एउटा टेप प्रकरणमा कुनै अनाडी मान्छेले अनाधिकृत तवरले अडिओ सार्वजनिक गरेको छ। केही प्रमाण छैन,’ ओलीले भने,‘गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ भन्नुभएको छ। उक्त अडिओ मेरो होइन भन्नुभएको छ। सत्यता पुष्टि भएको छैन। स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ।’
बाँस्कोटाले अहिलेसम्म सार्वजनिक रूपमा उक्त टेप आफ्नो नभएको बताएका छैनन्।
प्रधानमन्त्रीको गुनासो पार्टी कार्यकर्तासँग मात्र होइन पार्टीनिकट पत्रकारहरूसँग पनि थियो।
पार्टीको संगठनमा बसेका मान्छेहरूले नै मिडिया चलाएर नेताहरूको खोइरो खनिरहेको उनले बताए।
‘पार्टीभित्र संगठनमा बस्ने चलाइरहेका छन्। तिनैले हाम्रो पार्टीको खोइरो खनिरहेका छन्। तिनको हिसाबकिताब हुन्छ,’ प्रधानमन्त्रीले भने।
यसअघि प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा नेकपानिकट पत्रकारहरूले सपथ खाएका थिए।