प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै आफूले मिर्गौला प्रत्यारोपण गर्ने बताएका छन्।
बिहीबार राजधानीमा आयोजित बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणका लागि पाँच दिन अस्पताल बस्ने र छैठौं दिन निवासमा आएर काम गर्ने बताए।
‘छिट्टै मिर्गौला प्रत्यारोपण गर्दैछु। पाँच दिन अस्पताल बस्छु। छैठौं दिनदेखि काम गर्छु,’ प्रधानमन्त्री ओलीले भने,‘अझै १०-१५ वर्ष मलाई केही हुन्न।’
उनले मान्छेहरूले आफूलाई बिरामी छ, बिरामी छ भने पनि आफूले १७-१८ घन्टा काम गर्ने गरेको दाबी गरे।
‘म १७-१८ घन्टा काम गर्छु। बिरामी भन्या कुरा यस्तै हो भइरहन्छ,’ ओलीले भने।
१२ वर्षअघि ओलीले पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए। पछिल्लो समय उनको मिर्गौलाले काम गर्न छोडेको छ। अहिले उनी नियमित रूपमा डायलासिस गरिरहेका छन्।