सोमबार काभ्रेको धुलिखेल नगरपालिकामा ३४ औं स्थापना दिवस मनाउने कार्यक्रम थियो।
कार्यक्रममा प्रमुख अतिथि निम्त्याइएका थिए- प्रधानमन्त्री केपी शर्मा ओली।
काभ्रे नै घर भएका सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र खानेपानी मन्त्री बिना मगर पनि अतिथि थिए।
अतिथिहरूले बोल्दै गए। प्रधानमन्त्रीले बोल्ने पालो आयो। प्रधानमन्त्री ओलीले सुरूमा काभ्रेको प्रशंसा गरे। ‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो। प्रतिभा जन्माउने जिल्ला हो। यो कुरा क्रमश: प्रकट हुँदै गएको छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले मन्त्री गोकुल बाँस्कोटाको प्रशंसा पनि गरे।
‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा अर्कोतिर अरू सबैजस्तो भएको छ।’
प्रधानमन्त्रीले मन्त्री बाँस्कोटाको प्रशंसा गरेपछि कार्यक्रमका सहभागीले ताली बजाएर साथ दिए।
प्रधानमन्त्री मन्त्री बाँस्कोटाको भूमिकाप्रति अझै प्रशंसा गर्नतिर लागे। ‘सरकारको विरोध गर्नुपर्यो भने गोकुल बाँस्कोटातिर हेर्नेबित्तिकै चुप लाग्ने,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्रीले आफ्नो प्रशंसा गर्दा मन्त्री बाँस्कोटा मञ्चमा मुसुमुसु हाँसिरहेका थिए।
प्रधानमन्त्री ओली र मन्त्री बाँस्कोटाबीच लामो समयदेखि विशेष सम्बन्ध छ। मन्त्री बनेपछि बाँस्कोटा अहिले ओलीको बालकोटस्थित घरमा बसिरहेका छन्। सुरूमा राज्यमन्त्री नियुक्त भएका बाँस्कोटालाई ओलीले बढुवा गरी मन्त्री बनाएका थिए। सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले अहिले सहरी विकास मन्त्रालय पनि सम्हालिरहेका छन्।
कार्यक्रममा प्रधानमन्त्री ओलीले धुलिखेल विश्वविद्यालय नेपालका विश्वविद्यालयमध्ये अगाडि रहेको बताए। अनि आफूलाई कार्यक्रममा निम्त्याएका धुलिखेलका मेयर अशोक ब्याञ्जु ञ्जुको पनि प्रशंसा गरे।
‘धुलिखेलका मेयरलाई सबै मेयरले आफ्ना मेयर छानेका छन्,’ प्रधानमन्त्रीले आफ्नो नाम लिएपछि मेयर मुसुमुसु हाँसेका थिए। मेयर बेञ्जु नेपाल नगरपालिका संघका अध्यक्ष पनि छन्।
प्रधानमन्त्री ओलीले काभ्रेका देवीदेवताबारे पनि केही कुरा राखे।
‘नमोबुद्ध यहीँ छन्। यस्ता कति कति,’ उनले भने। काभ्रेले अर्गानिक खेती गरेर कीर्तिमानी राख्न सक्ने पनि उनले बताए। त्यसपछि प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारले गरेका कामबारे केही कुरा सुनाए।
‘आज नेपाल परिवर्तनको तीव्र वेगमा छ। देश विकासको कतिपय मान्छे आत्तिएका छन्,’ प्रधानमन्त्रीले भने, ‘काठमाडौंमा तारको झुप्पा-झुप्पा देख्नु नपर्ने भएको छ। जमिनमुनिबाट तार लैजाने। त्यसको आजै (सोमबार) सुरूवात गरियो। खानेपानी र विजुलीका पाइप अढाइ मिटर मुनिबाट लैजाने हो। अब हावाहुरी चल्दा विजुलीका पोल ढल्दैन।’
उनले चाँडै मेलम्चीको पानी काठमाडौं ल्याइने, देशैभर फोरजी सेवा सुरू भइसकेको पनि बताए।