सरकारले सभामुखको निवास लैनचौरमा राख्ने तयारी गरेको छ।
सभामुखहरुले प्रयोग गर्दै आएको बालुवाटारस्थित निवासमा अहिले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बस्ने गरेका छन्। महरा जेल परेपछि खाली रहेको उक्त भवनमा तिमिल्सिना सरेका थिए। खाली रहेको लैनचौरस्थित पूर्वउपराष्ट्रपति निवासलाई सभामुख निवास बनाउने तयारी सरकारको छ।
यसअघि उक्त भवनमा पर्यटन मन्त्री योगेश भट्टराई बस्दै आएका थिए। तर उपेन्द्र यादवले सरकार छाडेपछि रिक्त रहेको मन्त्रीक्वाटरमा भट्टराई सरेका छन्।
खाली रहेको उक्त घरलाई सभामुख निवास बनाउन लागिएको संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले जानकारी दिए। तीन महिनादेखि रिक्त प्रतिनिधिसभा सभामुख पदमा सत्तारूढ नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ।
माघ १२ गते जेष्ठ सदस्य महन्ठ ठाकुरले सदनबाट सापकोटा सभामुखमा चयन भएको घोषणा गर्नेछन्।