प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतामा देश नै खुसी हुनुपर्ने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७० औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले नेपालमा पहिलो पटक कम्युनिस्ट पार्टीको सुदृढ बहुमतसहितको सरकार बनेको दुइटा ठूला वाम पार्टी एक भएको सन्दर्भमा देशले नै खुसी मनाउनुपर्ने बताए।
‘हाम्रो एकतामा कम्युनिस्ट पार्टीले मात्र होइन देशले नै खुसी मनाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘किनभने यो स्थिरताको सुरूआत हो। देश अघि बढाउने कार्ययोजनाको एकता हो।’
प्रधानमन्त्री ओलीले कुनै बेला कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय गीत ‘हामी जित्नेछौं एक दिन ’ खुब गाउने गरेको प्रसंग निकाल्दै आज कम्युनिस्टहरूले जितेको दिन भएको बताए।
‘त्यतिबेला हामी जित्नेछौं । एकदिन भन्ने गीत गाउथ्यौं तर आज हामीले जितेका छौं’, प्रधानमन्त्री ओलीले भने, ‘लामो समयसम्म स्वार्थको राजनीति भएर कम्युनिस्टहरूले जित्न सकेनन्। जब आफ्नो स्वार्थ गौण र देशको स्वार्थलाई प्रधान मान्ने नेतृत्व आयो तब कम्युनिस्टले जित्यो।’