आइतबार ८ वटा श्रृंखलावद्ध बिस्फोट भएको श्रीलंकामा सोमबार पनि बमको त्रास जारी छ।
आइतबार राति र सोमबार ठूला बिस्फोट त भएका छैनन् तर प्रहरीले ठाउँठाउँबाट बिस्फोटक पदार्थ भेटाएको छ।
शनिबार दिउँसो राजधानीको कोलोम्बोको सबैभन्दा ठूलो बस स्टेशनमा ८७ वटा बम डेटोनेटर फेला परेका छन्। यसअघि आइतबार साँझ कोलोम्बो विमानस्थलनजिकै भेटिएको बम भने सेनाको टोलीले निस्क्रिय पारेको थियो। सुरक्षाकर्मीहरूले देशभरि बमहरू राखिएका हुनसक्ने शंकास्पद ठाउँको निगरानी गरिरहेका छन्।
अमेरिकी विदेश मन्त्रालयले श्रीलंकामा फेरि पनि हमला हुनसक्ने भन्दै ट्राभल एडभाइजरी जारी गरेको छ। पर्यटकीय क्षेत्र, यातायात केन्द्र, सपिङ मल, होटल, प्रार्थनास्थल, विमानस्थल र सार्वजनिक स्थानमा आक्रमण हुन सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई सचेत हुन भनेको छ।
आज रातिदेखि श्रीलंकामा संकटकाल लागु हुँदैछ।
राष्ट्रपति मैत्रीपाला सिरिसेनाको कार्यालयले सोमबार मध्यरातदेखि लागु हुने गरी देशभर संकटकाल लागु हुने जनाएको छ।
यसैबीच राष्ट्रपति सिरिसेनाले आइतबारको बिस्फोटमा विदेशी आतंकवादी समूहको संलग्नता पहिल्याउन अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेका छन्।
आइतबार श्रृंखलावद्ध ८ बिस्फोटमा परी २९० जनाको मृत्य भएको छ भने पाँच सय जना घाइते भएका छन्। मृत्यु हुनेहरूमा बेलायती, भारतीय र जापानी नागरिक पनि रहेको बताइएको छ।
घटनाको २४ घन्टा बितिसक्दा पनि कुनै समूहले जिम्मेवारी लिएको छैन। श्रीलंका सरकार प्रवक्ताले घटनाका पछि अन्तर्राष्ट्रिय आतंकवादी समूहको हात रहेको बताएका छन्।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा २४ जनालाई पक्राउ गरेको जनाएको छ।
श्रीलंकाका रक्षा मन्त्री रूवान विजेवर्दनेले पक्राउ परेकाहरू धार्मिक अतिवादीहरू भएको बताएका छन्। तर उनीहरू कुन समूहका हुन् भन्ने खुलाएनन्।
सन् २००९ मा विद्रोही तमिल टाइगरलाई सरकारी सेनाले पराजित गरेपछि श्रीलंकामा भएको यो सबैभन्दा ठूलो हिंसात्मक घटना हो। यो अवधिमा बहुल बौद्ध धर्मालम्बीले मुस्लिम र उनीहरूका सम्पत्तिमाथि आक्रमण गरेका केही घटना भएका थिए।
श्रीलंकाका झन्डै १५ लाख क्रिश्चियनलाई लक्षित गरी भने त्यस्ता कुनै आक्रमण भएका थिएनन्।
भारतीय समाचार पत्र टाइम्स अफ इन्डियाले १० दिनअघि श्रीलंकाका प्रहरी प्रमुखले केहीदिनभित्र देशका प्रमुख चर्चहरूमा र कोलोम्बोस्थित भारतीय उच्चायुक्तको कार्यालयमा आत्मघाती हमला हुन सक्ने बताएको उल्लेख गरेको छ।
त्यस्तो हमला श्रीलंकाको उग्रवादी मुस्लिम समूह नेसनल थोहवीथ जमात (एनटिजी)बाट हुन सक्ने उनको अनुमान थियो। एनटिजी गत वर्ष बुद्ध मुर्तिहरू तोडफोड गरेपछि चर्चामा आएको थियो।
आइतबार भएकामध्ये २ वटा आत्मघाती हमला भएको समाचार संस्था एपीले जनाएको छ। आजको बिस्फोटको प्रकृति हेर्दा निकै योजनावद्ध र ठूलो तहमा समन्वय गरेर घटना गराइएको देखिन्छ। यति ठूलो विस्फोट गर्न सक्ने गरी एनटिजीको संगठन बिस्तार भइसकेको थियो कि थिएन भन्ने खुलेको छैन।