नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आलोचना गरेका छन्।
राजतन्त्र चाहिन्छ भन्दै प्रतिक्रियावादीसँग कांग्रेसले घाँटी जोडेको दाबी गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसलाई लोकतन्त्रवादी र प्रगतिशील हुन आग्रह गरे। कांग्रेसले आफूलाई जन्मदै शासक भन्ने ठानेको आरोप प्रधानमन्त्रीको छ।
‘आज अचम्म लाग्छ कांग्रेस कहाँ पुग्यो। कांग्रेसका धेरै नेताले राजतन्त्र फर्काउने सपना देख्दा विचित्र लाग्छ,’ नेपालमा कम्युनिष्ट स्थापना भएको ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘प्रतिक्रयावादीसँग घाँटी जोडिने जनताको शक्तिसँग सहकार्य नगर्ने कांग्रेसको गलत नीति छ।’
कांग्रेसलाई आफूहरूले बाध्य पार्दा मात्रै बेलाबेला सहकार्य हुने गरेको प्रधानमन्त्री ओलीले बताए। कांग्रेस लोकतान्त्रिक नहुने हो भने लोकतान्त्रिक भन्न छाड्न पनि उनले आग्रह गरे।