सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता प्रकृयामा जिल्ला तहको नेतृत्व टुङ्ग्याउनु फलामे ढोका फोरे सरह भएको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको ७० औं बार्षिकोत्सव समारोहलाई समबोधन गर्दै अध्यक्ष प्रचण्डले सबैभन्दा जटिल बनेको जिल्ला तहको नेतृत्व चयन गर्ने क्रममा धेरै मेहनत गर्नु परेको भन्दै फलामे ढोका फोरिएको प्रतिक्रिया दिए।
उनले एकता प्रकृयामा ढिलाइ भएको स्वीकार्दै अब यो प्रकृयाले पूर्णता पाउने दाबीसमेत गरे।
सत्तारुढ नेकपा कम्युनिष्ट आन्दोलनको आक्रामक मोर्चाका रुपमा रहेको भन्दै प्रचण्डले नेपालको कम्युनिष्ट पार्टीलाई अन्तर्राष्ट्रिय समुदायले सकारात्मक ढंगबाट हेरिरहेको दाबी गरे।
‘यो पार्टीप्रति संसार भरीका न्यायप्रेमी जनसमुदाय, मुख्यतः श्रमजिवी र संसारभरीका कम्युनिष्टहरुको सकारात्मक ढंगले नेपालको नयाँ पहल कदमी प्रति गहिरो गरी अवलोकन गरेको स्थिति छ,’ प्रचण्डले भने ।
उनले नेपालभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन अनेक प्रकारका षडयन्त्र बुनिरहेका आरोप लगाए।
‘देशभित्र र बाहिरका प्रतिकृयावादी शक्तिहरुले नेपालको कम्युनिष्ट आन्दोलन एकता र आक्रमक मोर्चालाई कमजोर पार्ने षड्यन्त्रका तानाबाना बुन्ने प्रयास गरेको हामी सवै बुझेका छौँ,’ उनले भने।
उनले नेकपाका काँधमा राष्ट्रिय एकता, राष्ट्रिय स्वाधिनता सुदृढ गरेर जनताको अपेक्षालाई समबोधन गर्ने र सामाजिक न्यायसहित समाजवादको आधार निर्माण गर्ने तथा समाजवादको दिशातर्फ नेपाली समाजलाई डोर्याउने राष्ट्रिय जिम्मेवारी रहेको जिकिर गरे ।