नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङको अध्यक्षमा टीकाराम खड्का चयन भएका छन्।
पार्टीको शिर्ष नेतृत्वले जिल्ला अध्यक्षमा खड्कालाई चयन गर्दै लामो समयदेखि दाङमा चल्दै आएको विवाद अन्त्य गरेको छ।
यसअघि नेकपा प्रदेश नं. ५ ले पूर्व एमालेका जिल्ला अध्यक्ष खड्काको नाम नै सिफारिस गरेको थिएन। त्यही कारण यहाँ तीव्र मतभेद सृजना भएको थियो।
प्रदेश नं. ५ का नेकपाका इञ्चार्ज तथा मुख्य मन्त्री शंकर पोखरेल नेतृत्वको कमिटीले खड्काको नाम नै सिफारिस गरेको थिएन। दाङमा पूर्व एमालेलाई अध्यक्ष दिने सहमति पार्टी एकीकरणको समयमा भएको थियो।
नेकपा प्रदेश नं. ५ ले प्रदेश इञ्चार्ज तथा मुख्य मन्त्री पोखरेलका बहिनी ज्वाइँ शिवकुमार आचार्यलाई अध्यक्षको रूपमा नाम सिफारिस गरेर पठाएको थियो।
मुख्यमन्त्री पोखरेलको ठाडो निर्देशनमा त्यस्तो भएको जानकारहरू बताउँछन्। यहाँ यस अघिसम्म विवादको मुख्य कारण त्यही थियो। त्यसप्रति असन्तुष्टि जाहेर गर्दै खड्काले पार्टी केन्द्रीय कार्यालयमा असहमति पत्र जाहेर गरेका थिए। लिखित रूपमै जाहेर गरेको उक्त असुन्तुष्टिको लामो समयपछि सम्बोधन भएको छ।
सोमबार बिहान तुलसीपुरको बेलझुण्डीस्थित रंगशालामा भेटिएका जिल्ला अध्यक्ष खड्काले विधि र पद्धतिको जित भएको तर्क गरे।
‘म नीति र विधि अनुरूप अध्यक्ष भएको हुँ। यसमा कसैको हार र जितको कुरा नगरौं,’ खड्काले भने।
पछिल्लो निर्णयले पार्टी एकतालाई तल्लो तहबाटै मजबुत बनाउन भूमिका खेल्न उनले आशा व्यक्त गरे।
अध्यक्ष खड्काले पूर्व माओवादी र एमालेलाई मिलाएर अगाडि बढ्न चुनौति पूर्ण रहेता पनि आफू सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिवद्धता जाहेर गरे।
‘एकतालाई मजबुत पार्ने गरी सबैसँग हातेमालो गरेर म अगाडि बढ्ने छु,’ अध्यक्ष खड्काले भने ।
त्यसैगरी, नेकपाको जिल्ला सचिवमा पूर्वमाओवादीका सुवास पुन चयन गरिएका छन्।
जिल्लाका कमिटीका अन्य सदस्यहरू साविक एमाले र माओवादी मिलाएर यसअघि नै गठन भइसकेको थियो।
पूर्वएमालेबाट ८५ जना र पूर्वमाओवादीबाट ६६ जना गरी १५१ सदस्य जिल्ला कमिटी यसअघि नै चयन गरिएको थियो।
अध्यक्ष र सचिवको समेत टुंगो लागेपछि अब जिल्ला कमिटीको संख्या १५३ पुगेको छ ।