नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले गफ र हावादारी सपनाबाट मुलुकमा समृद्धि नआउने प्रष्ट पारेका छन्।
अहिलेको सरकारले खोक्रा भाषण र प्रचारबाजी मात्रै गरेकाले १३ महिनामा समृद्धिको कुनै संकेत नदेखिएको दाबी गरेका हुन्।
बुटवलमा सोमबार भएको साक्षात्कारमा बोल्दै नेता केसीले भने ‘सत्तारूढ नेकपा दल मिले पनि दिल मिलेको छैन,योगेश जीहरूले त पुरानै एमाले मागिसक्नु भो।’
लोकतन्त्रको आवरणमा सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोमा गएको भन्दै पूर्वमन्त्रीसमेत रहेका केसीले अहिलेको सरकारले संसदीय व्यवस्था फेल गराउने पो हो कि! भन्ने चिन्ता लागेको सुनाए।
‘राष्ट्रिय लुटको महायात्रामा बालुवाटार गै सक्यो,अब भोलिका दिनमा, सिंहदरबार, टुँडिखेल कसरी सुरक्षित हुन्छ,जो सुकै भए पनि सरकारले ढृढताका साथ कारबाही गरोस्।’
सरकार ३३ केजी सुन, बूढिगण्डकी,वाइड बडी, फोर जी, बालुवाटारको जग्गा, निर्मला पन्त हत्याकाण्डमा सरकार पूर्णत फेल भएको उनको भनाइ छ।
‘कसैले सरकारको विरोधै गर्न नपाउने,लेख्नै नपाउने,बोल्नै नपाउने लोकतन्त्र र स्वतन्त्र पत्रकारिता एक अर्काका परिपूरक हुन्,’उनले भने, ‘सञ्चार विधेयकले सूचना रोक्ने र देशलाई संकुचन गर्ने काम गर्यो।’