नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले संविधानसभाबाट संविधान बनाउँदा पुरूषप्रधान सोच हावी भएकाले महिलामाथि विभेद गरिएको बताएका छन्।
उनले नागरिकतासम्बन्धी प्रावधानमा महिला र पुरूषलाई समान गर्न नसकिएको र अब संविधान संशोधन गरेर त्यसलाई सुधार्नु पर्ने बताए।
‘संविधानसभामा पनि नागरिकतामा समान गर्न धेरै संघर्ष गरेको हो तर बाहिरबाट त्यतिखेर बल प्राप्त हुन सकेन,’ उनले भने, ‘संविधान बनाउने बेला प्रभावशाली नेताले समान गर्नु पर्ने कुरामा ध्यान पुर्याएका भए समानता कायम गर्न सकिन्थ्यो। अहिले विभेदकारी व्यवस्था हटाउनु पर्ने बहस चलेको छ, यो सकारात्मक छ।’
उनले संविधान सशोधनमार्फत् नागरिकतामा महिला-पुरूषलाई समान बनाउन आफूले काम गर्ने बताए।
नागरिकतासम्बन्धी छलफलका क्रममा बाबु पहिचान नभई आमाका नामबाट नागरिकता दिँदा महिलाले विदेशी भित्र्याउँछन् र समाजमा व्यभिचार बढ्छ भन्ने तर्क संविधानविपरित भएको पनि थापाको भनाइ छ।
संसदको राज्य व्यवस्था समितिमा नागरिकतासम्बन्धी छलफल हुँदा कांग्रेसका सांसद दिलेन्द्र बडु र नेपाल कम्युनिष्ट पार्टीका सांसद झपट रावलले त्यस्तो भनेका थिए। थापाले उनीहरूको भनाइ संविधानविपरित र सभ्य विमर्शको बर्खिलाप भएकाले टिप्पणी गर्नसमेत लायक नभएको तर्क गरे।
नागरिकतामा समानताबारे थापाको विचार हेरौं भिडियोमा :
यी पनि हेर्नुहोस् :