नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बजेटले दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै सांसद कार्कीले बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेको बताए।
उनले भने, ‘मेरो विचारमा यो बजेटले मुलुकको वर्तमान आर्थिक यथार्थता, जनअपेक्षा र दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छ। यो बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त छन् भन्ने धारणा म यहाँ राख्न चाहन्छु। बजेटले उद्देश्यमा राखेको छ–उच्च, दिगो एवं फराकिलो आर्थिक वृद्धिदर हासिल गरी गरिबी निवारण गर्ने, उद्यमशीलता, विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने। प्राथमिकतामा बजेटले राखेको छ– उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारको रुपमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणस्तरात्मक सुधार यी कुराहरू लक्ष्य र प्राथमिकताका रूपमा राखेको छ। यी लक्ष्यहरू हाम्रा देशका आकांक्षाहरू हुन् र यिनीहरूलाई प्राप्त गर्न त्यति सहज छैन।’
लक्ष्य र आकांक्षाहरू प्राप्त गर्न त्यति सहज नभए पनि नेपालको राजनीतिमा गहिरो प्रभाव पार्ने दुई ठूला दलले निर्माण गरेको सरकारले ल्याएको बजेट यथार्थमा उभिएका हुनाले जनताका आकांक्षाहरू परिपूर्ति गर्नका निमित्त समयबद्ध र चरणबद्ध हिसाबले अगाडि बढेको सांसद कार्कीको दाबी छ।
उनले भने, ‘नेपालको राजनीतिमा गहिरो प्रभाव पार्ने दुई ठूला दल कांग्रेस र एमालेले निर्माण गरेको यो सरकार जो स्थिरता र विकासका निमित्त अग्रसर छ त्यो सरकारले ल्याएको बजेट यथार्थमा उभिएको हुनाले जनताका आकांक्षाहरूलाई परिपूर्ति गर्नका निमित्त समयबद्ध हिसाबले, चरणबद्ध हिसाबले अगाडि बढेको हुनाले बजेटको समर्थन गर्न चाहन्छु।’
उनले अगाडि भने, ‘बजेटले निर्धारण गरेको उद्देश्य र लक्ष्य निर्धारण त्यति सहज छैन। हाम्रो मुलुकको अर्थतन्त्रले भोगेको समस्याहरू यथावत् छन् न्यून आर्थिक वृद्धिदर, उच्च बेरोजगारी, बाह्य घाटा यथावत छन्। राजस्व असुलीको समस्या यथावत छ। पुँजीगत खर्च गर्ने कुरा यथावत् छ। यी कुराहरूलाई प्रतिबद्धता मात्र हैन कार्यान्वयन गरेर नदेखाउँदासम्म तबसम्म मुलुक र बजेटले हासिल गर्ने लक्ष्य हो त्यो लक्ष्य प्राप्त गर्न कठिनाइ हुन्छ। त्यसैले अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउँछु कि– अहिलेको बजेट कार्यान्वयनतर्फ अर्थमन्त्री र सरकारको ध्यान जानु जरूरी छ। बजेटलाई परिणाममुखी बनाउन बिनियोजन क्षमता, कार्यान्वयन क्षमता र जबाफदेहीता र नीतिगत हस्तक्षेपका निमित्त अर्थमन्त्रीले समयमै मूल्यांकन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ। त्यसतर्फ अर्थमन्त्रीको गम्भीर ध्यान जाओस्।’
उनले बजेटलाई परिणामुखी बनाउन विनियोजन क्षमता, कार्यान्वयन क्षमता र जबाफदेहीता र नीतिगत हस्तक्षेपका निमित्त अर्थमन्त्रीको ध्यानाकर्षण गराए। —न्युज एजेन्सी नेपाल