पूर्वयुवराज पारस शाहलाई हृदयघात भएपछि सिमरामा रहेको उनकी आमा तथा पूर्वरानी कोमल गाडीबाटै काठमाडौं हिँडेकी छन्।
हवाइ जहाजको टिकट नपाएका कारण उनी खबर पाउने बित्तिकै गाडीबाट काठमाडौं हिँडेकी सिमरा इलाका प्रहरीका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए। उनी अहिले हेटौंडा कटिसकेकी छन्।
बुबा ज्ञानेन्द्र भने मंगलबार बिहान हवाइ जहाजबाटै आउने तयारी गरिरहेका छन्। प्रहरी निरीक्षक हमालका अनुसार भोलि बिहानका निम्ति पनि टिकट पाइएको भने छैन।
'टिकट पाइएको छैन, तर बिहानको मिल्ला भन्ने आशा छ,' हमालले भने।
कोमल र ज्ञानेन्द्र भ्रमणका निम्ति सिमरामा थिए। उनीहरू हिजो बुद्ध एयरबाट सिमरा गएका थिए।मध्य तराई र झापा भ्रमण गर्ने उनीहरूको कार्यक्रम थियो। यो भ्रमण करिब एक महिनाको तय भएको थियो। छोरा पारसको अवस्था यस्तो भएपछि उनीहरू काठमाडौं फर्किने भएका हुन्।
सोमबार बिहान मंगलबजारका मन्दिर घुमेर फर्केका पारसलाई अपरान्ह हृदयघात भएको हो। उनलाई तत्काल नर्भिक अस्पताल भर्ना गरिएको थियो। हाल आइसियूमा राखेर उनको उपचार भइरहेको स्रोतले जनाएको छ।
यी पनि :
पारसको मुटुको ब्लकेज खोलियो, स्वास्थ्य स्थिर तर गम्भीर
पूर्वयुवराज पारस शाहलाई तेस्रो पटक हृदयघात, अवस्था गम्भीर