भारतका विदेश सचिव विक्रम मिस्रीले जम्मू-कश्मिरको पहलगाममा आतंकवादी हमलाको जबाफ स्वरूप ‘अपरेसन सिन्दुर’ सञ्चालन गरिएको बताएका छन्।
उनले बुधबार र बिहीबार विशेष ब्रिफिङमार्फत पछिल्ला घटनाक्रमबारे सार्वजनिक गरेका हुन्। काठमाडौंस्थित भारतीय दूतावासले पनि सचिव मिस्रीको विशेष वक्तव्य सार्वजनिक गरेको छ।
मिस्रीले आफ्नो वक्तव्यमा विशेषगरी पहलगाममा भएको आक्रमण, भारतले बुधबार बिहान पाकिस्तानस्थित ९ वटा स्थानमा गरेको हमला र पाकिस्तानका दाबीबारे स्पष्ट पारेका हुन्।
उनले भारत-पाकिस्तानबीचको तनावलाई आफूहरू थप चर्काउनेतर्फ नरहेको उल्लेख गरेका छन्। उनले आफूहरूले २६ जना मारिएको पहलगाम हमलाको जबाफ मात्रै फर्काएको बताएका छन्।
‘हामो मनसाय यस मामिलालाई थप चर्काउने छैन। हामी सुरूआती हमलाको जबाफ मात्रै फर्काइरहेका छौं। र हामो जबाफ लक्षित, सटिक, संयमित र सन्तुलित रहेको छ,’ उनले भने, ‘हामो निशानामा सैन्य अखडा परेका छैनन्। केवल पाकिस्तानमा रहेका आतंकवादी पूर्वाधारमाथि निशाना साँधिएको छ।’
त्यस्तै उनले बुधबार (मे ७) भारतले पाकिस्तानको ९ वटा स्थानमा गरेको हमलाबारे पनि प्रष्टीकरण दिएका छन्।
उनले त्यस बिहान गरिएका आक्रमण सबै सावधानीपूर्वक छानिएका आतंकवादी पूर्वाधार, आतंकवादीविरूद्ध लक्षित रहेको बताए।
‘मे ७ को बिहान भएका सबै आक्रमणहरू सावधानीपूर्वक छानिएका आतंकवादी पूर्वाधार, आतकवादीविरूद्ध लक्षित थिए,’ उनले भने, ‘...म सोच्छु यदि यी आक्रमणहरूमा सर्वसाधारण मात्र मारिएको हो भने यी तस्बिरले वास्तवमा यहाँहरू सबैलाई के सन्देश दिन खोजेको छ, यो प्रश्न उठाउनु पर्ने विषय हो। अझ अचम्मको कुरा त के छ भने, ती सर्वसाधारणको अन्त्येष्टि पाकिस्तानी झन्डाले बेरेका कफिनमा गरिएको छ र तिनीहरूलाई राजकीय सम्मान दिइएको छ। हाम्रो दृष्टिकोणमा ती स्थानहरूमा मारिएका व्यक्ति आतंककारीहरू थिए। आतंककारीहरूलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्नु पाकिस्तानमा अभ्यास हुनसक्छ तर हामीलाई त्यो कुनै अर्थपूर्ण कार्यजस्तो लाग्दैन।’
त्यस्तै बरू पाकिस्तानले उल्टै भारतको जम्मू-कश्मिरमा रहेका सिख समुदायलाई लक्षित गरी आक्रमण गरेको उनले बताए।
उक्त आक्रमणबाट तीन जनाको मृत्यु भएको उनले जानकारी दिएका छन्।
पाकिस्तानले पछिल्लो समय गरेको आक्रमणबाट १६ जना सर्वसाधारण मारिएको र ५९ जना घाइते भएको उनको वक्तव्यमा उल्लेख छ।
यसैगरी पाकिस्तानले भारतको पहलगाममा भएको आक्रमणबारे अनुसन्धानमा सघाउन तयार रहेको भन्ने दाबी विश्वास गर्न नसकिने बताएका छन्।
यसअघि पनि भारतमा भएको हमलापछि अनुसन्धान गर्नका लागि भनेर भारतले सहकार्य गर्न खोजेको पनि बताए।
२००८ मुम्बई हमलापछि 'लस्कर ए तैयबा आतंककारी' लाई जीवितै पक्राउ गरिएको, पाकिस्तानी आतंककारीहरूको संलग्नतासँग सम्बन्धित जानकारी र प्रमाणहरू पेस गरेको पनि वक्तव्यमा उल्लेख छ।
‘मुद्दा दर्ता गरियो, तर यहाँहरू सबैलाई थाहा छ कि न्यायिक टोलीहरू आदि गठन गर्दा पनि यी मुद्दाहरू अगाडि बढेका छैनन्, र पाकिस्तानले अनुसन्धानलाई अगाडि बढाउने सबै प्रयासहरूलाई निरन्तर अवरोध पुर्याएको छ,’ वक्तव्यमा भनिएको छ।
पठानकोट हमलाको सन्दर्भमा पनि अनुसन्धान गरी कल रेकर्ड डाटा, डिएनए लगायत पाकिस्तानलाई दिइएको तर यस विषयमा कुनै प्रगति नभएको उनले बताए।