पाँच नम्बर प्रदेशका मन्त्रालय र प्रदेश सभाले खरिद गरेका गाडीको अनियमितता सम्बन्धी विषय संसद बैठकमा प्रवेश भएको छ। सार्वजनिक लेखा समितिले छानबिन शुरु गरे पनि आईतबारको बैठकमा मात्रै यो विषयले संसद प्रवेश पाएको हो ।
आईतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरुले गाडी खरिदको विषयमा भएको अनियमितताबारे सरकारको जवाफ मागेका छन्। विशेष समय लिएर बोल्दै सांसदहरुले अनियमितता तत्काल छानबिन हुनुपर्ने माग गरे।
प्रदेश सरकार स्थापित भइनसक्दै लाखौं घोटालाका विषय बाहिर आउनु लाजमर्दो भएको भन्दै उनीहरुले सरकारले ल्याएको सुशासन नीति कार्यान्वयनमा ल्याउन आग्रह समेत गरे।
विशेष समयमा बोल्दै सांसद फकुरूद्धिन खानले मन्त्रालय र प्रदेश सभाले खरिद गरेका गाडीमा अनियमितता आशंकाको विषयमा सरकारको ध्यानाकर्षण गराए।
अर्का सांसद दलबहादुर रानाले गाडी खरिद लगायत सरकारका कामकारबाही निकै निराशाजनक रहेको बताए। सरकारले एक वर्षको समयावधिमासमेत केही कामगर्न नसकेको भन्दै आलोचना गरे।
सांसदहरुले विशेष समय लिएर बोलेपछि मुख्यमन्त्री शंकर पोखरेलले समितिको प्रतिवेदन आउंदासम्म धैर्य गर्न सांसदहरुलाई आग्रह गरे। पाँच नम्बर प्रदेश सभाले खरिद गरेका ११ वटा र मन्त्रालयले खरिद गरेका ३ वटा गाडीमा अनियतिता भएको भन्दै सार्वजनिक लेखा समितिले छानबिन थालेको छ।
लेखा समितिको बैठकले तीन सदस्यीय उपसमिति बनाएर अध्ययन थालेको हो। खरिद भएका गाडीमा तीन मन्त्री, उपसभामुख, समितिका सभापति तथा सत्ता र विपक्षी दलका प्रमुख सचेतक चढ्दै आएका छन्।
यता आईतबारको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी र नामाकरणको विषयमा अनावश्यक नबोल्न सांसदहरुलाई आग्रह गरे। मुख्यमन्त्री शंकर पोखरेलले राजधानी र नामाकरण गर्न विशेष समिति गठन भएकोले समितिको निर्णय नआउन्जेल नबोल्न सांसदहरुलाई आग्रह गरेका हुन्।
मुख्यमन्त्री पोखरेलले प्रदेशमा लगानी भित्राउने मिनि इन्भेष्टमेण्ट कन्फ्रेन्स गर्ने योजना बनाएको बताए। त्यस्तै संसदमा विशेष समय लिएर बोल्दै सांसद इन्द्रप्रसाद खरेलले प्रदेशको नामाकरण र स्थायी राजधानीका लागि गठित समितिमा बाँके, बर्दिया र पश्चिम नवलपरासीको प्रतिनिधित्व हुनुपर्ने माग राखे।
बैठकमा सांसदहरु तिलकराम शर्मा, ले पछिल्लो समय हत्या, हिंसा, बलात्कारजन्य अपराध बढी भएको भन्दै प्रहरीले अपराधीलाई कुनै पनि बहानामा छाड्न नहुने बताए। त्यस्तै सांसद लैटी थारूले गुलेरिया नगरपालिका वडा नम्बर ५ मा नेपाली सेनाका जवान नर बहादुर बोहोराले श्रीमतीको हत्या गरेको भन्दै बोहोरामाथि कडा कारबाहीको माग गरिन्।
त्यस्तै आइतबारको बैठकमा ४ वटा विधेयकमाथि दफावार छलफल सुरु भएको छ। प्रदेश नम्बर ५ दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं. ५ मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं. ५ पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं. ५ पशु बधशाला तथा मासु जाँच सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल भएको हो।
त्यसैगरी प्रदेश नं. ५ औद्योगिक व्यवसायी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।