नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले रूपन्देही–३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाउने भएका छन्।
आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन। त्यसपछि संरक्षक चौधरीले संयुक्त लोकतान्त्रिक मोर्चाको साथ लिएर स्वतन्त्र उम्मेदवारी दर्ताको तयारी गरेका छन्।
आन्तरिक विवादको दलदलमा परेको नाउपा उपनिर्वाचनका लागि दलका रूपमा मान्यता पाउन अयोग्य रहेको निर्वाचन आयोगले बताएको थियो।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरिएका बेला नाउपाको कार्यसमिति विवाद थियो।
गत साउन १४ गते राष्ट्रिय भेला डाकेर संरक्षक रेशम चौधरी पक्षले अध्यक्ष रञ्जितालाई अध्यक्षबाट निष्कासन गरेको थियो। २०७८ पुसमा रेशम चौधरी जेलमा भएको गठन भएको पार्टीको रञ्जिता पार्टीको संस्थापक अध्यक्ष हुन्।
राष्ट्रिय भेलाले संस्थापक सदस्यसमेत नभएको र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र रूपमा बर्दिया–१ बाट सांसद निर्वाचित भइ पछि पार्टी प्रवेश गरेका रेशमका पिता लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो।
उनको नेतृत्वको कार्यसमितिलाई आयोगले वैधता दिन अस्वीकार गरेको थियो।
आयोगका अनुसार लालवीर नेतृत्वको समितिले दल दर्ताका लागि निवेदन दिएका थिए। उनले दल दर्ताका लागि केन्द्रीय समितिको निर्णय, वार्षिक लेखा परीक्षण प्रतिवेदन लगायत आवश्यक कागजात पनि पेस गरेका थिए।
तर, निर्वाचन आयोगलको २७ गते बसेको बैठकले नाउपाको राष्ट्रिय भेला अवैध रहेको निर्णय गर्यो। साथै पार्टीको संस्थापक सदस्य नै नरहेको व्यक्ति केन्द्रीय अध्यक्ष हुन नसक्ने ठहर गर्यो।
यो सँगै उनले उपनिर्वाचनका लागि दिएको दल दर्ता निवेदन पनि खारेज भयो।
साउन २७ गते नै अध्यक्ष कायम भएकी रञ्जिता श्रेष्ठले दल दर्ताका लागि अर्को निवेदन दिएकी थिइन्। उनीसँग भने केन्द्रीय कमिटीको निर्णय र वार्षिक लेखा परीक्षण प्रतिवेदन केन्द्रीय कमिटीले अनुमोदन गरेको निर्णयको प्रतिलिपि थिएन।
एक नेताले दिएको जानकारी अनुसार अध्यक्ष रञ्जितासँग केन्द्रीय कमिटीमा बहुमत छैन। संस्थापक २१ मध्ये १३ जना राष्ट्रिय भेलामा सहभागी भएर लालवीरलाई समर्थन गरिसकेका थिए।
‘साउन २७ गते नाउपा अध्यक्षमा रञ्जिता नै कायम भएपछि उहाँले सोही दिन आयोगमा निवेदन दिनुभएको हो। आयोगले केन्द्रीय कमिटीको निर्णय नभएको बताएपछि अध्यक्षले केही केन्द्रीय सदस्यसँग समन्वय पनि गरिरहनुभएको थियो। दल दर्ताको समय साउन २७ गतेसम्मका लागि मात्रै तोकिएको थियो। निर्धारित समयमा सबै जुटाउन सकिएन,’ ती नेताले भने।
समयमै कागजात जुटाउन नसकेर दल दर्ता गर्न चुकेपछि रेशम पक्ष स्वतन्त्र उम्मेदवारीको तयारीमा छ।
रञ्जिता पक्ष भने बिलखबन्दमा परेको छ। उनीनिकट अर्का केन्द्रीय सदस्यले अब पार्टीले नैतिक समर्थन मात्रै गर्न सक्ने बताए।
‘दल दर्ता नभएकाले पार्टीको चुनाव चिह्न हुने कुरा भएन,’ ती नेताले भने, ‘यसअघि नै तयारी गरेका पार्टीकै कोही साथीले स्वतन्त्र उम्मेदवारी दिए नैतिक समर्थन गर्ने मात्रै अवस्था छ।’
त्यसो त, नाउपाभित्रको किचलोले संघीय लोकतान्त्रिक मोर्चासमेत अप्ठ्यारोमा परेको छ।
मोर्चामा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नाउपा, जनमत पार्टी, जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी गरी सात घटक थिए।
त्यसमध्ये जनमतले अलग्गै उम्मेदवारी दिने बताएको छ। बाँकी ६ दलले नाउपा (खास गरी रेशम पक्ष) लाई समर्थन गर्ने निर्णय गरेका थिए। त्यसैले नाउपाबाहेक दल आयोगमा उपनिर्वाचनका लागि दल दर्ता गर्न गएनन्।
अहिले रेशम र रञ्जिता दुवै पक्षले दल दर्ता नगरेपछि के गर्ने भनेर मोर्चा अन्यौलमा छ। जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिषकुमार सुमनले मोर्चाले स्वतन्त्र उम्मेदवारी दिने बताए।
‘दल दर्ता गर्ने बेला नाउपाभित्र विवाद देखियो। रेशम र रञ्जिता पक्ष दुवैले दल दर्ता गर्नुभएनछ। हामीले दल दर्ता गर्न नाउपालाई नै भनेका थियौं,’ प्रवक्ता सुमनले सेतोपाटीसँग भने, ‘अब के गर्ने भनेर आज, भोलिमै निर्णय गर्छौं। सम्भवतः हामी रूपन्देही–३ मा स्वतन्त्र रूपमा साझा उम्मेदवार उठाउँछौं।’
राष्ट्रिय मुक्ति पार्टी, नेपालका महासचिव केशव झाले मोर्चाले रेशम चौधरीले उठाएको उम्मेदवारलाई नै सघाउने बताए।
‘नाउपा, त्यो पनि रेशम चौधरीले उठाएको उम्मेदवारलाई नै मोर्चाको समर्थन रहन्छ। हामीले यसअघि नै निर्णय गरिसकेका छौं। उहाँहरूले दल दर्ता त गर्न सक्नुभएन तर स्वतन्त्र उम्मेदवार जो उठाउनुहुन्छ, उहाँलाई नै हामी समर्थन गर्छौं,’ उनले भने।
रूपन्देही–३ को उपनिर्वाचनमा असोज २१ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ। त्यहाँबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन भएरपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचनका लागि मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनप्रजातान्त्रिक पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), संयुक्त नागरिक पार्टी दर्ता भएका छन्।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल), नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपालले पनि चुनावमा भाग लिन दल दर्ता गराएका छन्।
दल दर्ता सँगै राजनीतिक दलहरू उम्मेदवार छान्न तल्लीन छन्।
नेकपा (एमाले) ले भदौ १५ गतेसम्म तल्ला कमिटीबाट उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको छ।
नेपाली कांग्रेस पनि उम्मेदवार सिफारिस प्रक्रियामा छ।
एकीकृत समाजवादीले रूपन्देही–३ को उपनिर्वाचन अध्ययन गर्न पार्टीको लुम्बिनी इञ्चार्ज मेटमणि चौधरीको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनाएको छ।
रास्वपाले ९ जना प्रारम्भिक उम्मेदवार चयन गरी उनीहरूको बीचमा आन्तरिक प्रतिस्पर्धा गराउने गरी लिडरसिप एकेडेमीको अभ्यास गरिरहेको छ। रास्वपाले प्राइमरी निर्वाचनमार्फत् भदौ १५ गते उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ।