विवेकशील साझाबाट अलग्गिएर नयाँ दल गठनको निम्ति निर्वाचनमा आयोगमा निवेदन दिएका १६ जना केन्द्रीय सदस्यले सार्वजनिक वक्तव्य जारी गर्दै नेतृत्वको काम-कारबाही अपारदर्शी र अलोकतान्त्रिक भएकाले यस्तो कदम चाल्नुपरेको बताएका छन्।
साझा पार्टीसँग एकीकरण हुनुअिघ विवेकशील नेपाली दलमा रहेका ती सदस्यले वक्तव्यमा भनेका छन्, 'नेतृत्वले विधानविपरीत काम गर्ने, कोटको खल्तीबाट केन्द्रीय सदस्य भर्ती गर्न खोज्ने, अपारदर्शी एवं अलोकतान्त्रिक तरिकाले विभाग विघटन गर्ने, परम्परागत राजनीतिक दलहरूकै अनुशरण गर्दै विभिन्न भ्रातृ संगठन गठन गर्नेजस्ता क्रियाकलापले हाम्रो आशा पूरै निराशामा बदलिएको अवस्था छ।'
यो परिवेशमा सुसंस्कृत राजनीतिका माध्यमबाट समतामूलक संवृद्धि हासिल गर्ने उद्देश्यमा विचलित नभई अघि बढ्न वैधानिक तवरले नयाँ दल गठनको कानुनी प्रक्रिया सुरू गर्न निवेदन दिएको वक्तव्यमा उल्लेख छ।
वक्तव्यमा रन्जु न्यौपाने, साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुसा थापा, उज्वल थापा, मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्दनारायण तिमिल्सिना, रमेश पौड्याल, शशीविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम, विराजभक्त श्रेष्ठ, आशुतोष तिवारी र अर्जुनसिंह ठकुरीले हस्ताक्षर गरेका छन्। यीमध्ये रमेश पौड्याल र विराजभक्त श्रेष्ठ विवेकशील साझा पार्टीका तीन प्रदेश सभा सदस्यमध्ये हुन्।
डा. गोविन्द केसीको जारी १६ औं सत्याग्रहमा एक्यबद्धता जनाउँदै यस अभियानमा सशक्त तरिकाले लाग्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
२०७४ साउन ११ गते विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको सम्झौता भई विवेकशील साझा पार्टी गठन भएको थियो।
यी पनि हेर्नुहोस्: