वैकल्पिक राजनीति गर्ने भन्दै स्थापना भएको विवेकशील साझा पार्टीमा खटपट देखिएको छ। १६ महिनाअघि उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी बनेको थियो। थापा र मिश्र पार्टीका संयोजक बनेका थिए।
अहिले मिश्र र थापाबीचको खटपट सतहमा आएको हो।
संसदीय चुनावपछिका १ वर्ष पार्टीले समातेको बाटो गलत भएको निष्कर्षसहित थापाले १८ पृष्ठ लामो समिक्षा प्रतिवेदन तयार पारी थापाले सोमबार पार्टीका सबै सदस्य र नेताहरूलाई पठाएका छन्।
'संघीय प्रादेशीक निर्वाचनको सफलताको १ वर्ष मैले विभिन्न घटनाक्रम, व्यक्तित्व र सदस्यका अनुभवलाई पनि समेट्ने मौका पाएँ। त्यसकै आधारमा म यो निष्कर्षमा पुगेको छु कि विवेकशील साझा पार्टी अहिले समग्रमा गलत बाटोतर्फ गइरहेको छ,' उनले आफ्नो प्रतिवेदनमा भनेका छन्।
उक्त प्रतिवेदनमा पार्टीले जोस र होस अंगाल्न नसकेको बताएका छन्।
'न जोस न होस भएको पार्टी बन्ने देखिएको छ,' प्रतिवेदनमा भनिएको छ, 'न नेतृत्व विकास भएको छ न उल्लेखनीय संख्यामा सदस्यहरू थपिएको छ। दल संकुचित नीति र निर्णयको बन्दी भएको छ। दलका धेरै उर्जाशील सदस्य र शुभचिन्तकहरू निरूत्साहि र उर्जाहीन बनेका छन्।'
सदस्यता बढाउन नसकेको, नेतृत्व थोरै मानिसमा सीमिति हुँदै गएको, नेतृत्वले सदस्यहरूलाई जिम्मेवारी दिन अनुदार भएको लगायतका समस्या उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।
वैकल्पिक राजनीतिको नेतृत्व गर्ने भनेको विवेकशील साझा पार्टीले आफ्नो निश्चित परिपाटीसमेत बसाल्न नसकेको उनको गुनासो छ। राजनीति गर्ने ढंग आफ्नो पार्टीले देखाउन नसकेको पनि उल्लेख गरेका छन्। नागरिकले प्रत्यक्ष देख्न सक्ने समाजसेवामुखी अनि मूल्यमान्यतामा केन्द्रीत राजनीतिलाई पृथकताको मूल कारण बनाउने ढंग नपुगेको उनको बुझाइ छ।
जसले गर्दा पार्टीमा नयाँ मानिस आकर्षित गर्न नसकिएको उनले आफ्नो प्रतिवेदनमा भनेका छन्।
'हामीले १ वर्ष अघिको चुनावमा २ लाख १२ हजार सदरमत ल्याउन सफल भयौं। प्रदेश ३ मा ३ जना सांसद बने,' उनको प्रतिवेदनमा उल्लेख छ, 'निर्वाचनपछि हाम्रा ४ केन्द्रीय सदस्यले राजीनामा दिए। यो एकवर्षमा जम्मा १५ सय सदस्यमात्र थापिएका छन्।' अहिले विवेकशील साझामा ४ हजार १ सय सदस्य मात्र भएको उनको प्रतिवेदनमा उल्लेख छ।
दुई दलको एकीकरण देखावटीमात्र भएको पनि उनले घुमाउरो किसिमले प्रतिवेदनमा लेखेका छन्। डरको राजनीति हावी भएको भन्दै उनले अघि लेखेका छन्, 'नेतृत्वमा भएको अँध्यारोमा भूत देख्ने चरम शंकालु प्रवृत्ति प्रदेश तहमा पनि फैलिँदै गएको। उर्जाशील सदस्यहरूले विगतको पृष्ठभूमिको आधारमा आफूमाथि विभेद भएको, जिम्मेवारी नदिएको हो कि भन्ने शंका दिनप्रतिदिन बढ्दै गएको छ।'
बृहत्तर विषयलाई दलले सम्बोधन गर्न नसकेको भन्दै व्यापक जनगुनासो आएको पनि उनले प्रतिवेदनमा उल्लेख गरेका छन्। मोदीले लगाएको नाकाबन्दी विरोध गर्ने र शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व प्रमुख हुनुपर्छ भन्दै डाक्टर गोविन्द केसीको सत्याग्रहलाई गरिएको समर्थन अभियान भने सफल भएको उनको भनाइ छ।
तर महिला हिंसाविरूद्धको अभियान भने अपुरो र अधुरो भएको उनको दाबी छ। नेतृत्वले विभिन्न सामाजिक अभियानलाई हेर्ने दृष्टिमाथि साँघुरो रहेको उनको प्रतिवेदनमा उल्लेख छ। विधान,विभाग गठन र संगठन विस्तार लगायतका महत्वपूर्ण काम अघि नबढेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।
पढ्नुस् थापाले बुझाएको प्रतिवेदनको पूर्ण पाठ: