विवेकशील साझा पार्टीले संयोजक उज्वल थापाले नयाँ पार्टी दर्ता गर्न निवेदन दिएर आघात र धोका दिएको बताएको छ।
शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्यले संयोजक थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको खबरले आश्चार्यमा परेको बताएका छन्।
'विवेकशील साझा पार्टीका ३८ जना केन्द्रीय सदस्यहरुमध्ये केही केन्द्रिय सदस्यहरुलाई लिएर संयोजक उज्वलबहादुर थापाले आज पौष २७ गते निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिनुभएको खबरले हामीलाई आश्चर्यचकित पारेको छ,' विज्ञप्तिमा भनिएको छ, 'विवेकशील साझा पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजकहरू आ–आफ्नै जिम्मेवारीमा यथावत क्रियाशील हुनुहुन्छ।'
विगत केही समयदेखि पार्टीमा कार्यशैली र कार्यप्रणालीलाई लिएर मतभिन्नताहरु रहेको र पार्टीको चरित्र, पार्टी निर्माणको शैली र पार्टीको उद्देश्यमा भिन्नता रहेको विषय समय समयमा सार्वजनिक भइसकेको पनि विज्ञप्तिमा उल्लेख छ।
'नेपालभित्र र बाहिर रहेका लाखौं नेपाली नागरिकले आशा र विश्वासका साथ हेरेको विवेकशील साझा पार्टीमा यस्तो परिस्थिति आउनु दुर्भाग्यपूर्ण कुरा हो। पार्टीमा रहेका यस्तै मतभिन्नताहरुलाई सम्बोधन गर्न आगामी पौष ३० गते केन्द्रिय समितिको बैठक बोलाइएको थियो,' विज्ञप्तिमा भनिएको छ, 'हामीलाई आशा एवं विश्वास थियो – आगामी बैठकमा संयोजक थापा लगायत केन्द्रिय सदस्यहरुले आफ्ना भनाईहरु राख्नुहुनेछ, केही असन्तुष्टि रहेका भए पार्टीमा छलफल गर्नुहुनेछ र पार्टीलाई गतिशील र एकताबद्ध गर्न मद्दत गर्नुहुनेछ। र, केन्द्रिय समितिको बैठकमा संपूर्ण नेताहरुले उदार हृदयकासाथ सकारात्मक योगदान गर्नुहुनेछ। तर संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद अवस्था हो।'
विज्ञप्तिमा पार्टीका केही नेताहरुको यस्तो कार्यले वैकल्पिक पार्टी निर्माणको पवित्र उदेश्यलाई घात मात्र भएको छैन, स्वयं पार्टी निर्माणमा लामो समयदेखि क्रियाशिल युवाहरु र मतदाताप्रति पनि अन्याय भएको उल्लेख छ। 'उहाँहरुले वैकिल्पक पार्टी निर्माणको अभियानमा पुर्याउनुभएको आघात र धोकापूर्ण कार्यको इतिहासले मुल्यांकन गर्ने नै छ,' विज्ञप्तिमा भनिएको छ, 'यात्राको दौरानमा अवरोधहरु आउँछन्। तर अवरोधहरू खुलेपछि यात्राको गति स्वतः तीव्र हुन्छ। यही विश्वासका साथ पार्टीले पौष ३० गते केन्द्रिय समितिको बैठकको तयारी गरेको छ। सोही बैठकले पार्टीको राजनीतिक तथा सांगठनीक अवस्थाको समग्र समीक्षा गर्नुका साथै केन्द्रीय समिति विस्तार गरी आगामी कार्ययोजना र रणनीति तयार गरेर अगाडि बढ्नेछ।'
केहीदिनअघि संयोजक उज्वल थापाले अर्का संयोजक रवीन्द्र मिश्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै १८ पृष्ठ लामो असन्तुष्टि पत्र पार्टी सदस्यहरूलाई बाँडेका थिए।
थापाले शुक्रबार नै ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षरसहित नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
यी पनि पढ्नुस् :