नयाँ वैकल्पिक राजनीति गर्ने भनी स्थापना भएको विवेकशील साझा पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ। संयोजक उज्वल थापाले सोमबार १८ पृष्ठ लामो समीक्षा प्रतिवेदन नेता तथा कार्यकर्तालाई बाँडेका छन्। उनको निष्कर्ष विवेकशील साझा पार्टी गलत दिशामा गएको भन्नेछ। त्यसमा उनले अप्रत्यक्ष रूपमा अर्का संयोजक रवीन्द्र मिश्रको कार्यशैलीको आलोचना गरेका छन्।
संयोजक मिश्रले भने पार्टीको विवाद र बहस पारिवारिक भएकाले आफू त्यसलाई छताछुल्ल पार्ने पक्षमा नरहेको बताएका छन्।
सोमबार साँझ सेतोपाटीसँग कुरा गर्दै मिश्रले वैकल्पिक राजनीतिक आन्दोलन चुनौतीपूर्ण भएको र यसलाई निष्कर्षमा पुर्याउन कठिन हुने बताए।
‘२०४६ सालपछि वैकल्पिक राजनीतिको लागि धेरै असल र राम्रा मान्छेहरूले प्रयास गरे। देवेन्द्रराज पाण्डे भन्नुस्, टंक कार्की, कुवेर शर्मा, घनश्याम भुषाल र रोक्काले गरेको प्रयास नै भन्नुस्, वा बाबुराम भट्टराई र पहिलेको विवेकशील दल नै भन्नुस्। ती सबैले प्रयास गरेका थिए। एक या अर्को कारणले कि ती अन्त्य भए कि बिखण्डित भए कि देश रूपान्तरण गर्न नसक्ने गरी सानै आकारमा रहे,’ मिश्रले भने, ‘अब हाम्रो चुनौती कुनै पनि हालतमा वैकल्पिक राजनीतिलाई देशको नेतृत्वमा पुर्याउने देश र देश रूपान्तरण गर्ने हो। हामी यो यात्रा फूलैफूल ओछ्याएको बाटोबाट गरिन्छ भनेर आएको होइन। काँडैकाँडाको बीचबाट अगाडि बढ्नुपर्छ भन्ने थाहा पाएरै आएको हो।’
मिश्रले आफूहरूले राजनीति गर्ने धरातल नेपाली समाज भएकाले नेपालमा क्यानडाका जनता अथवा बेलायतको प्रधानमन्त्री लिएर आएर राजनीति नहुने बताए।
यो पनि पढ्नुस् :
विभिन्न किसिमका कठिनाइ, विरोधाभाष र विडम्बनाले भरिएको समाजमा देशै रूपान्तरण गर्छु भन्ने प्रतिवद्धता बोकेको दल निर्माण गर्न सहज नहुने उनको तर्क छ।
‘सानो एउटा परिवारमा त बहस र विवाद हुन्छन्। यस्तो राजनीतिक दलमा बहस र विवाद हुनु स्वभाविक हो। म घरभित्रको विमतिलाई चौतारीमा छताछुल्ल पार्ने पक्षमा छैन,’ मिश्रले भने, ‘भविष्यमा अत्यावश्यक देखियो भने सुसंस्कृत मूल्यमान्यतायुक्त वैकल्पिक पार्टी निर्माणमा भोगेका कठिनाइ, चुनौती र पीडाका बारे सार्वजनिक रूपमा छलफल गर्नेछु।’
उनले अर्का संयोजक थापाप्रति लक्षित गर्दै प्रतिकुलतालाई बहाना बनाउने व्यक्ति नेता हुन नसक्ने बताए।
‘जसले प्रतिकुलता चिरेर माथि उठ्न सक्छ त्यो मात्रै नेता हो। मलाई विश्वास के छ भने विदेश र नेपालमा भएका सम्पूर्ण शुभेच्छुक नेपालीहरू र हामी मिलेर पार्टीका प्रतिकुलतहरू चिर्छौं, चिर्छौं,’ मिश्रले भने,‘र यो विवेकशील साझा पार्टी मूल्यमान्यतायुक्त, सुसंस्कृत र देश रूपान्तरणकारी पार्टीको प्रतीक बन्छ, बन्छ।’