प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिहरूको सपथ गराएका छन्।
आज सिंहदरबारमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कान्छा कुमार कर्माचार्यलाई सपथ गराएका हुन्।
आजै सरकारले उनीहरूलाई कुलपति पदमा नियुक्त गरेको हो।
प्रधानमन्त्री ओलीले आफ्नो आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरूलाई नियुक्त गरिएकोले ती संस्थाहरू थप सृजनशील हुनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले नवनियुक्त कुलपतिहरूले समयका पदचापलाई बुझ्ने र त्यसै अनुसार काम गर्ने अपेक्षा गरिएको बताए।
‘आज हामी जहाँ पुगेका छौं त्यहीं रोकिने होइन’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूले समयको पदचाप बुझेर यी संस्थाहरूलाई त्यसै अनुसार अघि बढाउनुहुनेछ भन्ने अपेक्षा गरिएको छ।’
नेपालीहरूको गौरवमय इतिहासलाई कायम राख्दै अघिल्लो पुस्ताका कलाकर्मीहरूले देखाएको बाटोलाई फराकिलो बनाउने काम यी संस्थाहरूले गर्नुपर्ने बताए।
‘विगतमा अरुलाई बाटो देखाउने साँस्कृतिक झिल्कोले जताजता प्रज्वलित गर्न सक्छ गर्नुपर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘तर यी सबै कुराको परिणाम सकारात्मक आउनु पर्दछ।’
यसैगरी ललितकला प्रज्ञा प्रतिष्ठानको उपकुलपति गोपाल चित्रकार र सदस्य सचिव विपिन कुमार घिमिरेले पनि आजै सपथ ग्रहण गरेका छन्।
यस्तै, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा र सदस्यसचिब श्याम प्रकाश तमोटले पनि आजै सपथ ग्रहण गरेका छन्।