ध्वस्त पार्‍यौं काठमाडौं, अब सम्हालौं


काठमाडौं सम्पदा- २

केही दिनअघि मेरो एक जना प्रोफेसर साथी डा. केदारलाल श्रेष्ठ भेटिनुभयो। उहाँ कतै आफन्तको बिहेमा गइरहनुभएको थियो। पैदल हिँड्दै गरेको बाटो अगाडि खनिदिएका रहेछन्। बत्ती थिएन। त्यो अस्सी वर्षको मान्छेले असाध्यै सास्ती पाइरहेको देखेँ। मलाई नरमाइलो लाग्यो।

उहाँले जीवनभर पढाएर बिताउनुभयो। त्यो भनेको उहाँले जीवनभर यो मुलुकलाई योगदान दिनुभएको हो। बदलामा यो मुलुकले उहाँजस्ता मानिसलाई के दिइरहेको छ? बुढेसकालको यस्तै सास्ती?
काठमाडौं पछिल्लो समयमा जसरी ध्वस्त हुँदै गएको छ, मेरो चित्त दुख्छ। यहाँ धेरैको चित्त यसैगरी दुखिरहेको छ।

आजभोलि नेपाल आउने पर्यटकको काठमाडौं बस्ने दिन घटेको छ भनेर पर्यटन व्यवसायीहरूबाट सुन्छु। कस्तो दुःखलाग्दो कुरा!

के काठमाडौं यस्तै थियो?

म परको कुरा गर्दिनँ।

टेकुबाट छिरेर सानेपा घरसम्म आउँदाको बाटो मात्रै सम्झन्छु। बागमती पुलसम्म आउँदा त्यो टलक्क टल्किने ढुंगा ओछ्याइएको बाटो थियो। ढुंगा बडो शिल्प मिलाएर बाटोमा छापेको देखिन्थ्यो। बाटोका दुवै छेउमा कल्की फूल लहरै फुलेका थिए। ठाउँ–ठाउँमा स–साना स्तुप भेटिन्थे।

अलिक तल आएपछि बाटोको दुवैतिर पोखरी थियो। त्यो पोखरीमा कमलका फूल लटरम्मै फुलेका देखिन्थे। अहिले त्यो पोखरी पुरेर सडक विभागले कब्जामा लिएको छ।

त्यहाँबाट अगाडि बढेपछि सफा पानी बगिरहने बागमती भेटिन्थ्यो। साँझपख आउँदा त कल्की फूलका पत्रबाट छड्के परेर ‘फिल्टर’ भई आएका घामका किरण त्यो ढुंगाले छापेको सडकमा पर्दा अद्भूतै सुन्दर देखिन्थ्यो। पैदल हिँडुञ्जेल यो दृश्यले मनै आनन्दित पाथ्र्यो। त्यसमाथि बिहान–बेलुकी छेउछाउका मन्दिरमा बजेका घन्टीको मधुरो आवाज!

साँझ वा बिहान हिँड्नेले फरक उमेरका महिला हातमा पूजाको थाली लिएर आइरहेका देख्थे। उनीहरूका पछि पछि आमा र हजुरआमाका परम्परालाई निरन्तरता दिन प्रतिबद्ध स–साना छोरीहरू पनि देखिन्थे।

अहिलेको पुस्तालाई पत्याउन गाह्रो पर्ला, साँच्चै भन्छु, त्यति रोमान्टिक थियो यो काठमाडौं।

त्यो काठमाडौं यस्तरी बिगारिदिए, कमल फुल्ने पोखरी पुरेपछि अहिले त्यहाँ बालुवा, बोल्डर र तिनलाई बोक्ने ट्रक थुपार्ने ठाउँ बनाइएको छ।

मैले एकपटक लेखेको पनि थिएँ, ‘रोड डिपार्टमेन्ट द ग्रेट भ्याडालिस्ट’ भनेर।

‘भ्यान्डल’ भनेको एक किसिमको जाति हो, जसले रोम आक्रमण गरेर खत्तमै पारिदिएको थियो। रोम सभ्यताकै विनाश गरिदिएको थियो। त्यसैको प्रभावबाट जन्मेको शब्द ‘भ्याडालिस्ट’ को कामै सुन्दरता नाश गर्नु हो।

त्यो समय काठमाडौंमा न धेरै मानिस थिए न त यो ठाउँमा मोटर दौडिन्थे। जतासुकै पुगे पनि सुन्दर दृश्य देखिन्थ्यो। दुईतिर लहरै घरको बीचमा साँघुरा र अँध्यारा गल्ली हुन्थे। त्यो कालो गल्लीबाट हिँड्दा सूर्यास्त हुन लागेको आकाश बिछट्टै राम्रो देखिन्थ्यो। दुवैतिर अँध्यारो बीचमा टुच्च उज्यालो गणेश हिमाल देखिन्थ्यो।

त्यो हनुमानढोकाको त मैले मन्त्रमुग्ध भएर स्केचै बनाएको थिएँ। सायद, मजस्तै प्रभावमा डुबेका थिए एक जना विदेशी पनि। उनी थिए, डेसमन्ड डोयग, जसले तत्कालीन काठमाडौंको सुन्दरता थुप्रै स्केचमा अभिव्यक्त गरेका छन्।

उनी सन् १९७५ मा काठमाडौं आएका थिए। उनलाई यो ठाउँको सम्मोहनले यस्तरी बाँध्यो, आठ वर्षसम्म यहाँका मठ, मन्दिर, चोक र बहाल चित्रमा उतारे। काठमाडौं छिर्ने उज्यालो र यस सहरका रंगको चमत्कार उनको आँखा हुँदै मनमा पुगे र औंलाबाट उतारिए।

डोयगको किताब ‘माई काइन्ड अफ काठमाडौं’ मा त्यसरी कोरिएको काठमाडौं नै मेरो समयको काठमाडौं हो। मलाई बेलाबेला त्यो काठमाडौंको यादले अत्याउँछ। त्यस्तो समय सम्झेर चित्त बुझाउन डोयगकै किताब पल्टाउँछु।

उनको मृत्युको १२ वर्षपछि डोयगकै पत्रकार साथीले सन् १९९५ मा आफूसँग भएका संकलन समेटेर यो पुस्तक तयार पारेका थिए।

त्यो ‘एमरल्ड भ्याली’ भन्छन् नि! हामी त्यस्तो काठमाडौंमा हुर्केका थियौं। त्यस्तो ठाउँलाई अहिले पूर्णतः बेवास्ता गरेर ध्वस्तै पार्यौं।

त्यसलाई फेरि ब्युँताउन सकिन्छ कि सकिन्न? म त्यो पनि सोच्ने गर्छु। तर, धेरै अप्ठेरो छ।

म केही दिनअघि ललितपुर दरबार स्क्वायरको सुन्दरी चोक पुगेको थिएँ। त्यहाँको पनि मूर्ति चोरिएको थियो रे! पछि पाइएछ। जे होस्, अद्भूत सुन्दर ठाउँ छ त्यो।

चक्रपथ सडक खण्ड अन्तर्गत बल्खु सडक। तस्बिरः नारायण महर्जन/सेतोपाटी

कार्यक्रम सकिएपछि मैले हिँडेरै घर फर्किने विचार गरेँ। मलाई त्यस साँझको हिँडाइमा कुनै आनन्दै मिलेन। हाम्रा सडकमा मोटरसाइकल, स्कुटरको साम्राज्यै खडा भइसकेको छ। यताबाट जोगिन खोज्यो, उताबाट हिर्काउलाजस्तो हुने। म एउटा पसलमा किनारा लागेँ। बूढा साहुजी रहेछन्। मलाई असाध्यै झोँक चलेको थियो।

‘तपाईंलाई हेल भनेको थाहा छ?’ मैले सोधेँ।

साहुजी ट्वाल्ल हेरे।

‘एचइएलएल हेल,’ मैले भनेँ।

‘ए त्यो त नर्क भनेको हो,’ साहुजीले हाँस्दै भने, ‘थाहा छ नि।’

मैले भनेँ, ‘हो, यो नर्क हो।’

म ठमठम हिँडेँ। बूढा मान्छे जिल्ल परेर हेरिरहे।

भेनिस के होला? रोम के होला र? काठमाडौंका यी गल्ली त्यस्ता रोमान्टिक थिए। त्यस्तो ठाउँ मोटरसाइकलले ध्वस्त पारिदिएको छ। हिजोआज त यस्तो लाग्न थालेको छ, नेपालीले पाए भने भान्छासम्म मोटरसाइकल लैजान्छ। त्यसलाई त भित्री सहरको घेराभन्दा बाहिर रोकिदिए हुन्थ्यो नि!

घरबाट न्युरोड हिँड्ने हो भने बीस मिनेटमा पुग्ने गल्ली थिए। अहिले पनि गल्ली त छन् तर हिँड्नै नसकिने भएका छन्। सबैतिर मोटरसाइकलले आतंक मच्चाएको छ। सहर ध्वस्त पार्ने साङ्लाजस्ता लाग्छन् मलाई यी मोटरसाइकल।

पहिले पहिले त म पनि मोटरसाइकल चढ्थेँ। मलाई मनपथ्र्यो। तर, मेरो भनाइ के भने, काठमाडौंको पनि त एउटा क्षमता होला नि? कतिवटासम्म मोटरसाइकल वहन गर्नसक्छ भन्ने। जति पनि ल्याइदिने? प्लस टु पढ्ने केटाकेटीको ओहोरदोहोरको साधनसमेत मोटरसाइकल बनाइदिने?

सार्वजनिक यातायात किन फितलो बन्यो? सार्वजनिक यातायात प्रभावकारी बनाइदिएको भए यतिविधि मोटरसाइकलले भरिने त थिएन यो सहर!

ललितपुर परिसरमा रहेको मन्दिरहरूको पुनर्निर्माण गर्दै कामदारहरू। तस्बिर: नारायण महर्जन/सेतोपाटी

काठमाडौंबारे कुरा गर्दा मलाई अर्को उदेक लाग्ने भनेको महाराजगन्ज बस्ने केटाकेटी किन जाउलाखेल आएर पढ्नुपर्ने? महाराजगन्जमै राम्रो स्कुल किन नहुने? एउटै ठाउँमा मात्र राम्रा स्कुल किन थुपारेको?
यो भेगको केटाकेटी निम्ति यो स्कुल भनेर किन क्षेत्र निर्धारण नगरेको? विकसित सहरहरूमा त त्यस्तै हुन्छ। त्यसो नहुँदा उनीहरूको ओहोरदोहोरले बाटोमा थपिने लोड, घन्टौं ओहोरदोहोरमा थकित हुने विद्यार्थी, यातायातमा लाग्ने अनावश्यक खर्च– यो कुरा कसैले कल्पना गर्नुपर्दैन?

जति भन्यो त्यति मोटर आउन दिएको छ, जति भन्यो त्यति मोटरसाइकल आउन दिएको छ। यसले गर्दा सडक साँघुरा भए।

अर्को कुरा, भएभरका सबैथोक काठमाडौं उपत्यकामै थुप्रिए। सरकारी निकाय यहीँ, राजनीति यहीँ, कूटनीतिक नियोग सबै यहीँ, गैरसरकारी संस्थाहरू पनि सबै यहीँ, हुँदाहुँदा बल्लबल्ल बाहिर सार्न खोजिएका कारखाना पनि फेरि भित्रै आउन थालेका छन्। यो सबको चाप काठमाडौंलाई परिरहेको छ।

काठमाडौंलाई वास्तवमै हामीले साँस्कृतिक सहरकै रूपमा अघि बढाउनुपर्ने हो।

मसँग अहिले पनि अठार गियरको साइकल छ। विश्वविद्यालयमा उपकुलपति हुँदा म त्यो साइकल चलाउँथेँ। मेरो घरअगाडिको ठाडो उकालो पाइडल ठेलेरै छिचोल्थेँ। अहिले पनि चढ्न मनलाग्छ। चढ्नै सक्दिनँ। साइकल चलाउने मानिसमाथि यहाँको सडकमा दिनप्रतिदिन आतंक बढ्दो छ।

मलाई साइकलको आवश्यकता र प्रयोग हामीकहाँ किन पाखा लगाइयो भनेर अनौठो लाग्छ। वास्तवमा साइकलै हो नि हाम्रो साधन। मोटर र मोटरसाइकल त होइन नि! जुन युरोपले मोटर बनाए उनीहरू साइकलमा बल गर्दैछन्। साइकल चढ्न प्रोत्साहन गर्दैछन्। हामी भने आफ्नै चिजलाई महत्वै दिएनौं। हाम्रा सहरी नीति निर्माताको ध्यानमा साइकल पर्दै परेन। हामीले त काठमाडौंलाई मोटर र मोटरसाइकल सहर पो बनाइदियौं।

काठमाडौंलाई कसैले साइकल सहरका रूपमा परिणत गर्ने पहल गर्छ भने म पूर्णतया उसको साथमा हुनेछु। म चाहन्छु, काठमाडौं साइकल सहर बनोस्। सरकारलाई राजस्व उठ्छ भन्दैमा मोटर र मोटरसाइकल जति पनि दिने? एउटा सीमा तोक्नुपर्दैन?

मेरो दाइ चीनमा युनिसेफको ‘कन्ट्री डाइरेक्टर’ हुनुहुन्थ्यो। त्यहाँ छँदा उहाँले चिठीपत्र पुर्याउन दुईवटा मोटरसाइकल आवश्यक परेको निवेदन सरकारलाई दिनुभएको थियो। लामो समय जवाफै आएनछ। \

कारण बुझ्न लगाइयो। जवाफ यस्तो आएछ– ‘हामी मोटरसाइकल नियन्त्रित गरिरहेका छौं, सहरलाई यसले धेरै नै असर नगरोस् भनेर यस्तो कदम चालेका हौं, त्यसैले एउटा मात्र मोटरसाइकलको अनुमति दिन्छौं।’

चीन जो आफैं त्यत्रो मोटरसाइकल उत्पादन गर्छ, उनीहरूले नै त्यसो भन्छन् भने हामीकहाँ जति पनि ल्याउने?

कमलप्रकाश मल्लले सन् १९६४ ताका ‘फ्रम लिटरेचर टु कल्चर’ लेख्दा हलचल मच्चिएको थियो। त्यसबखत जुन काठमाडौंको सुन्दरता थियो, त्यो हेरेर त आज के छ र? हिजोआज त माथिबाट हेर्दा काठमाडौंमा रुख पनि देखिँदैन। केवल घरैघर।

थोरथोरै आय भएकाले जीवनभरको कमाइ लगाएर सानो घर बनाएको हुन्छ। उसको छेवैमा उज्यालै छेक्ने गरी बडेमानको बिल्डिङ ठड्याइदिन्छ। नगरपालिकाले मतलबै राख्दैन। विदेशतिर हो भने आवासीय क्षेत्रमा यस्तो गर्न पाइन्छ? कदापि पाइँदैन।

नगरपालिकाले जे पनि पास गरिदिएको छ। नियम कानुन भन्ने केही छैन। कसैले नियमविपरित घर बनाएको छ भने पनि जरिवाना लिएर छाडिदिने चलन बसेको छ। किन जरिवाना लिएर छाड्ने? त्यसलाई कानुन मातहत किन नल्याउने? त्यसमाथि योजना भन्ने त कुन चरीको नाम हो भनेजस्तो भइसक्यो।

म त नेपाल क–कसले बनायो भन्नेमा पनि रुचि राख्छु। नेपाल क–कसले बिगार्यो भन्नेमा पनि रुचि राख्छु।

टुँडिखेलको रूखमा बनाएको पिङमा रमाइरहेका बालबालिकाहरू। तस्बिरः सेतोपाटी

त्यो टुँडिखेल काठमाडौंवासीको चिज थियो। पर्खाल लगाएर घेर्ने त होइन। मान्छे जान पाउनुपर्यो, हिँडडुल गर्न पाउनुपर्यो। काठमाडौंका लागि खुला ठाउँ नै भएन। काठमाडौंले सास फेर्ने ठाउँ नै भएन।
अन्यत्र पनि यस्ता खुला ठाउँ चाहियो। नगरपालिकाले त जग्गा किनेरै भए पनि त्यस्ता निर्माण गर्नुपथ्र्यो।

अब जाउलाखेलकै यो चिडियाखाना हेरौं। मलाई लाग्छ, अब यो चिडियाखाना सारेर अन्यत्र लैजान अबेर भइसकेको छ। त्यो ठाउँ एउटा फराकिलो पार्कका रूपमा विकास गर्नुपर्छ।

हामीकहाँ नीति निर्माणदेखि अनुगमनसम्म भ्रष्टाचार यस्तरी व्याप्त छ, कसले के गर्ने भन्ने नै टुंगो छैन। जथाभाबी सहरीकरण भइरहेको छ। यसलाई व्यवस्थित गर्न २०–२५ वर्षको ‘भिजन’ राखेर योजना बनाउनुपर्छ। तर, ख्वै त? कसले ध्यान दिने यसमा? अहिलेकै गतिमा सहरीकरण हुने हो भने एकदिन त भएको सम्पदा र प्रकृति पनि सिद्धिन्छ।

कांग्रेस नेता अर्जुननरसिंह केसीसँग एकपटक पाटनकै नागदह गएको थिएँ। बडो मजाको पोखरी छ त्यहाँ। कुराकानीकै क्रममा तत्कालीन सहरी विकास मन्त्री केसीलाई चम्पागिरि देखाएर ‘कस्तो रातो देखियो यो डाँडा’ भनेँ। त्यो त हरियो देखिनुपर्ने थियो!

निर्माणकर्ताहरूले गरेका काम अनुगमनबिना छाड्दा के असर पर्छ भनेर सोच्नुपर्दैन?

तै भक्तपुर धेरै बिग्रेको छैन। पाटनमा चेतनशील मान्छे सलबलाउन थालेका छन्। काठमाडौं त के के भयो भयो!

नाकाबन्दीकै बेला एकपटक ब्रिटिस काउन्सिलले भक्तपुर दरवार स्क्वायरमै ‘ह्याम्लेट’ नाटक प्रदर्शन गरेको थियो। नाटक सकिएपछि एकछिनमा झ्याम–झ्याम बाजा बजाउँदै अनेकथरी स्थानीय प्रदर्शन बाटोबाट गुज्रिन थाल्यो। त्यो साँस्कृतिक उत्सवको समय परेको थियो। अर्थात्, सांगीतिक माहोल गुज्रिरहने सिजन। यस्तो पो छ भक्तपुर!

विदेशीहरू तीनछक परे। कुनै सिद्धहस्त निर्देशकले तयार पारेको सिर्जनाजस्तो त्यहाँ त एकपछि अर्को परम्परागत प्रस्तुति। एउटा टोली जान पाएको छैन, अर्को टोली आइपुग्छ। यस्तो पो हो त हाम्रो ठाउँ।
यस्तो ‘लिभिङ हेरिटेज’ अन्त कहाँ हुन्छ?

भेनिस र रोम जाने हो भने पनि संरचना देखिन्छ। काठमाडौंमा त संरचना मात्र होइन, त्यससँग जोडिएको परम्परा पनि जीवित छ। संसारमै यस्तो मैले अन्यत्र कतै देखेको छैन।

हो, यही सम्पदा र परम्पराको सम्मीश्रण हामी मास्दैछौं, दिन–प्रतिदिन।

भक्तपुरसँग अझै धेरै छ, पाटनसँग पनि अझै केही छ, काठमाडौंलाई त हामीले धेरै नै बिगारिदियौं।

हामीले तत्काल गर्नुपर्ने कुरामा यो कार र मोटरसाइकल नियन्त्रण गरिहाल्नुपर्यो। हामीले यसको सीमा तोक्नुपर्यो र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्यो। यस्ता सवारीलाई सम्पदा क्षेत्रभित्र तोकिएको समयभित्र मात्र पस्न दिनुपर्यो।

एकपटकको कुरा हो, जापानी मन्त्री आएका थिए। उनी मेरा साथी हुन्। मैले उनलाई हिमालय होटलबाट पाटनको पछिल्लो भाग हुँदै गल्ली गल्ली घुमाएँ। घरलाई पूजा गरिरहेको मान्छे देखेर ऊ चकित खायो।
‘के गरेको यस्तो?’ उसले सोध्यो।

‘घरको पनि आत्मा हुन्छ भन्ने हामी मान्यता राख्छौं र पूजा गर्छौं,’ मैले भनेँ।

जताततै धार्मिक वातावरण र अनेक गतिविधि देखेर ऊ छक्क प¥यो।

यो सबै बिर्सेर हामीले आधुनिकताको नाममा बिगार गर्दैछौं।

अहिले कताकति काठमाडौंलाई साइकल सहरतर्फ उन्मुख गराउनुपर्छ भन्ने आवाज उठिरहेको छ। यो गजबको कुरा हो। यस्तो सुन्दर कुरा अर्को के हुनसक्ला?

सबै मिलेर यसलाई साकार बनाउनुपर्छ।

ललितपुरको झम्सिखेलमा साइकल चलाउँदै विदेशी नागरिक। तस्बिरः सेतोपाटी

मलाई लाग्छ, काठमाडौंलाई साइकल सहर बनाउन सुरुआती विन्दु सहरभरि फैलिएका नदीछेउका करिडोरबाट गर्न सकिन्छ।

नदीको बहाव कहिले पनि अचानक उकालो र ओरालो नलाग्ने भएकाले साइकल हाँक्नेका लागि एकोहोरो सोझो चलाउन मिल्ने बाटो यिनै करिडोरले दिनसक्छन्। प्रत्येक साइकल यात्रीले यिनै करिडोरबाट

‘कनेक्ट’ गरेर आफ्नो गन्तव्य तय गर्ने हो भने उपत्यकाका फरक क्षेत्रसम्मको यात्रा सजिलै पूरा गर्न सक्छन्।

त्यससँगै अर्को फाइदा के भने, यी करिडोरमा सडक बनाउने बेला अलिकता फराकिलो क्षेत्र साइकलको निम्ति पनि तयार पार्न अप्ठेरो छैन। यसरी सबैजसो करिडोरमा साइकल लेन बनाइदिने हो भने धेरै सजिलो हुनेछ। छेउछेउ रुख रोपियोस्। यति हुने हो भने त म पनि साइकलै चढ्न थाल्नेछु। त्यो बेला कति मजा आउनेछ भनेर साध्य छैन।

त्यसबाहेक चक्रपथभरि साइकल लेन राख्न हामीसँग जग्गाको अभाव छैन। त्यो गरिहाल्न सकिन्छ।

उपत्यकाको भित्री सहरका धेरैजसो स्थानमा मोटर र मोटरसाइकल निषेध गरेर साइकल र पैदलयात्री निम्ति खुला गर्न सकिन्छ।

यति मात्र गर्ने हो भने, साइकल हाँक्नेले ढुक्कसँग यात्रा गर्न सक्नेछन्। उनीहरूका निम्ति राज्यले वातावरण बनाइदिएको देखिनेछ।

यो भित्री सहरमा धमाधम मोटर र मोटरसाइकल निषेध गर्दै लैजानुपर्छ। त्यस निम्ति यिनका प्रवेश विन्दुमा सरकारले जग्गा किनेर भए पनि ठूलो क्षमताको पार्किङ तयार पारिदिनुपर्छ। यो मेरो अध्ययनको विषय नभएकाले यसबारे धेरै बोल्न पनि अप्ठेरै छ। यस्ता कुरा नीति निर्माताले सोच्नुपर्ने हो नि! सोच्दै नसोचेर त आज यस्तो स्थिति उत्पन्न भएको होला।

पूर्व अर्थमन्त्री देवेन्द्रराज पाण्डेजीले भनेजस्तै यो वैदेशिक सहयोगले बिगारेको देश हो। कहिल्यै जटिल बाटो यात्रा गर्नुनपर्ने अड्डाका मोटर हेर्नुस् त! पूरै ‘फोर–ह्विल’ (चारवटै पाङ्ग्रा गुड्ने) हुन्छन्।

काठमाडौंभित्र त्यस्ता मोटर किन चाहियो? त्यसले कति बढी तेल खान्छ? कति धेरै बाटो ओगट्छ?

अचम्मलाग्दो कुरा त के भने, मोटर भनेकै मान्छेको प्रतिष्ठासँग गाँसिन पुग्यो। यो त पूरै ‘ननसेन्स’ हो। मोटर चढ्ने मान्छे ठूलो रे! साइकल चढ्ने मान्छे सानो रे! जति ठूलो मान्छे भयो उति ठूलो मोटर चाहिन्छ रे!

हाम्रो यो मानसिकताले पनि सहर अस्तव्यस्त बनाउन सघाउ पुर्याइरहेको छ।

अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ नै छ, कुनै पनि मुलुक स्रोत अभावले नभई गलत योजनाका कारण गरिब रहिरहन्छ।

म विश्व बैंकमा जाँदा त्यसका अध्यक्षको आफैंले हाँकेर आउनुपर्ने कार थियो। अरू पदाधिकारीको पनि त्यस्तै। उनीहरूलाई बैंकले कार दिँदैन थियो। हामीकहाँ भने विश्व बैंकको दक्षिण एसिया हेर्ने निर्देशक आयो भने पनि कत्रो हल्लीखल्ली हुन्छ! प्रधानमन्त्रीलाई भेट्छ। जबकि त्यहाँ त ऊ बसमा चढेर हिँडिरहेको हुन्छ।

हामीकहाँ सार्वजनिक यातायात राम्रो नभएकाले हरेक सरकारी अधिकृतलाई मोटर दिनुपरेको छ। यसले सरकारको खर्च पनि बढ्यो, बाटोमा भिड पनि थपियो। कस्तो नराम्रो प्रथातिर गयौं हामी। राम्रो सार्वजनिक यातायात हुँदो हो त यी हाकिमैपिच्छे किन मोटर दिनुपथ्र्यो?

संसारमा कहीँ नहुने तमासा छ यहाँ।

मैले सरकार चलाउन पाएको भए म ठाउँ–ठाउँमा सरकारी कर्मचारीका निम्ति अपार्टमेन्ट बनाइदिन्थेँ। सजिलै किन्न सक्ने। त्यसो भए काठमाडौंमा एउटा घर भएन भन्ने दुःखेसो रहँदैन थियो।

यहाँ त हरेकलाई एक–एकवटा बेग्लै घर बनाउनु परेर पनि समस्या थपिएको छ। घर पनि सबैका सबैथरी। न कुनै एकरुपता छ, न सुन्दरता। यसले काठमाडौं धनी मानिस बस्ने ‘स्लम’ (झुपडपट्टी) भइदियो।

पानी, बत्ती, ढल, बाटोको उचित सुविधाबिनै जथाभाबी घर बनेको क्षेत्रलाई त ‘स्लम’ भनिन्छ नि!

केही सकारात्मक काम भइरहेको पनि देख्छु। भित्री सहरको कुरा गर्दा ठमेललाई सवारीमुक्त गरिनु असाध्यै सुन्दर कुरा हो। म त अब न्यूरोडलाई पनि त्यसै गर्नुपर्छ भन्छु। ठमेलबाट विस्तार हुँदै अब न्यूरोडसम्म आउनुपर्छ त्यो योजना।

त्यसले स्थानीयलाई नै धेरै फाइदा हुन्छ। मानिस पैदल हिँड्न थालेपछि किनमेल गर्छन्। कफी पिउँछन्। एकछिन समय बिताउँछन्। मोटरसाइकल र कार हाँक्नेले के किनमेल गर्छ?

हो, राति अबेर कुनै समय ढुवानी निम्ति मोटरहरू खुला छाडिदिए हुन्छ।

मेरो एक जना भतिजा कोलम्बिया विश्वविद्यालयमा पढाउँछ।

‘माइलो बुबा, नेपालमा हामीले हाई–एन्ड (धनीमानी) टुरिस्ट आकर्षित गर्न सकिरहेका छैनौं। उनीहरू जानै डराउँछन्। एयरपोर्टदेखि अव्यवस्थित छ। फोहोर, मैला, अस्तव्यस्त। जबकि पैसा झर्ने त त्यस्ता टुरिस्टबाट हो नि!’ मेरो भतिजा यसो भन्छ।

हो त, त्यस्ता पर्यटक हामीले आकर्षित गर्नै सकिरहेका छैनौं। भुटानले गरिरहेको छ। मेरो एक जना अमेरिकी साथी अस्ति भर्खर पुगेर आएको थियो। ‘क्लिनर देन स्वीडेन’ (स्वीडेनभन्दा सफा छ) भन्थ्यो।

हामी नेपाललाई पनि त्यस्तै बनाउन सक्छौं। त्यस निम्ति सुरुआत थालिहाल्नुपर्छ। तत्काल हाट्टहुट्ट पार्नेभन्दा दीर्घकालीन दिगो योजना बनाउन सुरु गरिहाल्नुपर्छ।

म विश्वविद्यालयमा हुँदा जापानबाट एक जना नेपाली प्रोफेसरले केही बिरुवा पठाइदिएका थिए। उनले उतै यसबारे पढेका थिए। मैले उनीसँग त्रिभुवन विश्वविद्यालयमा रोप्न उपयुक्त बिरुवा मागेको थिएँ। मलाई

बट्टामा बीउहरू आइपुग्यो। विश्वविद्यालयको केन्द्रीय कार्यालयअगाडि ३०–४० वटा बिरुवा रोपेँ। त्यसमध्ये एउटा त मेरो घरमै पनि छ।

उतिबेला मैले रोपेका बीउ अहिले सुन्दर रुख भएका छन्।

मभन्दा पहिलेका उपकुलपतिहरूले रोपेर जानुभएका असारे फूलका बिरुवाको म त्यहाँ हुँदाताक आनन्द उठाएको थिएँ।

त्यो समय वीरेन्द्र राजा थिए। राजाको सवारी विश्वविद्यालयमा भएको थियो। मेरो कार्यकक्षमै राजा, रानी र एकछेउ प्रधानमन्त्री, शिक्षामन्त्री थिए। अर्कोतिर म बसेको थिएँ। कार्यकक्षका सम्पूर्ण झ्याल खुला रहन्थे।

त्यस दिन भने सुरक्षा कारण देखाउँदै सबै पर्दा लगाउन लगाइयो।

म ‘ब्रिफिङ’ गर्न उभिएको थिएँ।

‘सरकार यी झ्यालबाट पर्दा हटाउने अनुमति पाउँथेँ कि?’ मैले सोधेँ।

राजाले ‘हुन्छ’ भने।

मैले सम्पूर्ण झ्यालबाट पर्दा हटाइदिएँ। पर्दा खोलेपछि अचम्मै दृश्य थियो। परैसम्म झलल्ल असारे फूल। जंगलैजस्तो लटरम्म। राम्रो दृश्यको प्रभाव मानिसमा तत्कालै पर्छ। राजा त चितै परे। अनुहारै उज्यालो भयो।

‘सरकार यो मेरो काम होइन,’ मैले भनेँ, ‘यो पहिलेका भिसी साहेबहरूको हो। उहाँहरूले रोपेर जानुभएकाले मैले भोग गर्न पाइरहेको छु।’

‘ब्युटिफुल ब्युटिफुल,’ राजाको मुखबाट निस्क्यो।

मेरो भनाइको आसय के भने, जिम्मेवार ओहोदामा बस्ने अधिकारीले जसरी सोचिरहेको हुन्छ, त्यसलाई निरन्तरता दिन उसका उत्तराधिकारी पनि बाध्य हुन्छन्।

काठमाडौंलाई प्रकृतिले नै सुन्दर बनाएको छ। हाम्रा पुर्खाले पनि सुन्दर बनाएर गएका छन्। हाम्रो तर्फबाट त भएका कुरा बिगार्नेबाहेक बनाउने काम केही भएन।

संसारमा कहाँ यस्तरी पहाड र हिमाल देखिन्छ? यस्तो मौसम अन्त कहाँ छ? यस्ता संस्कृति अन्त कहाँ छन्?

हामी यी सबै ध्वस्त पार्दैछौं।

काठमाडौंलाई थप बिग्रिन नदिने जिम्मेवारी अब हाम्रै काँधमा छ।

(गिरीश गिरीले गरेको कुराकानीमा आधारित)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.