चिकित्सा अनुसन्धान र युवा वैज्ञानिक

विश्वविद्यालय, चिकित्सा शिक्षण संस्थान, मेडिकल काउन्सिल र डा. गोविन्द के.सीलाई खुल्ला पत्र– २


(क) अनुसन्धानात्मक शिक्षा र चिकित्सा विज्ञानमा यसको महत्वः

कुनैपनि विश्वविद्यालयहरुलाई उत्कृष्ट तहमा पु/याउने बलिया आधार भनेका मानव समाज उपयोगी अनुसन्धानहरुनै हुन। युरोपियन र अमेरिकन विश्वविद्यालयहरुको उत्कृष्टता र मान्यता अनुसन्धनात्मक शिक्षा पद्धतिको सुत्रवाटै सम्भव भएको देखिन्छ। मेडिसिन, इन्जिनियरिङ्ग र अन्य सामाजिक विज्ञानका विषयहरुमा अनुसन्धान नगरिएको हुदो हो त अझै मानव सभ्यता ढुङ्गेयुगमै रहिरहने थियो। सबै विषयका अनुसन्धानहरुको महत्व हुदाहुदै पनि चिकित्सा विज्ञानमा हुने अनुसन्धानले मानव स्वास्थ्य संग प्रत्यक्ष सम्बन्ध राख्ने हुदा यसको अझवढी महत्व छ। एउटा उदाहरण लिऔ– डा. फ्रेडरिक वानटिङ र चाल्र्स एच बेस्टले सन् १९२१ मा इन्सुलिनको आविष्कार नगरिदिएकोभए आज कयौ व्यक्तिहरु चिनीरोगका कारण अकालमा मृत्युवरण गर्नु पर्ने अवस्था हुन्थ्यो।

विश्वका विश्वविद्यालयहरुका अभिलेखहरु हेर्दा चिकित्सा क्षेत्रमा एम.एस्सी/पि.एच.डी शिक्षा अनुसन्धानको आधारस्तम्भ रहेको देखिन्छ। नेपालमा अनुसन्धानले फड्को मार्न सकेको अवस्था छैन। यसैले चिकित्सा विज्ञानमा फक्रदै गरेको अनुसन्धानकारी शिक्षालाई मेडिकल काउन्सिलको सतही निर्णयले जरा काट्न खोजीनु आपत्ति जनक छ। यो मेडिकल काउन्सिलको अदुरदर्शिता हो। शिक्षा, शिक्षण र अनुसन्धानको पारस्परिक सम्बन्ध छ। अनुसन्धानलाई मार्गनिर्देश गर्न आधारभुत चिकित्सा विज्ञानका सबै शिक्षकहरुलाई समान अवसर र दृष्टिले हेरिनु पर्दछ।

हालसम्म आधारभुत चिकित्सा विज्ञानमा एम.एस्सी शिक्षा देश भित्रै दिइएपनि पि.एच.डी. शिक्षा ग्रहणको लागी विदेशिनु पर्ने परिस्थिती छ। हाम्रा विश्वविद्यालयहरुले यसरी धेरै दिन गुजारा गर्नु हुदैन। एक्काइसौ सताब्दीका विश्वविद्यालयहरुले अनुसन्धानात्मक शिक्षाका चुनौतिहरुलाई आफैले  स्वीकार्नु पर्दछ। यो शिक्षा शुरु गर्दा केहि जटिलता देखिएलान्। सुरु गरेसंगै समाधानका उपायहरु पनि आउनेछन्। पि.एच.डी शिक्षाको लागी विद्यार्थीहरुलाई प्रयोगशालामा गाईड गर्न र सोधपत्र तयार गर्न लगभग आवश्यक जनशक्ति देशमै उपलब्ध भैसकेका छन्। अव मात्र विश्वविद्यालयहरुको पहलको खाचो छ। देशको सबैभन्दा ठुलो र पुरानो त्रिभुवन विश्वविद्यालयले आजसम्म चिकित्सा शिक्षामा पि.एच.डी शिक्षा सुरुगर्न नसक्नु दुखद कुरा हो। काठमाण्डौ विश्वविद्यालयले आजभन्दा लगभग १० बर्ष अगाडि पि.एच.डी शिक्षा सुरु गर्ने पहल गरेको थियो। तर आजसम्म मुर्तरुप दिन नसक्नु विश्वविद्यालयको अकर्मण्यता हो।

एशियन राष्ट्रहरुका विश्वविद्यालयहरु हेर्दा भारत, दक्षिण–कोरिया, जापान, चिन आदिमा यो शिक्षालाई महत्वकासाथ लिईएको छ। हामी मात्र पछाडी परीनु के हाम्रो गर्वे नियती होे ? अवश्य होईन। इच्छाशक्ती, उचीत सोच र लगानीको अभावमा यसो भएको हुनसक्दछ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा अध्ययन संस्थानले त चाहेको खण्डमा यो शिक्षा तुरुन्त शुरु गर्न सक्ने जनशक्ति साथै प्रयोगशालाहरु खडा गरिसकेको छ।

प्राध्यापक डा. गोविन्द के.सी जसरी चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागी जागरुक देखिन्छन् त्यसरी नै अनुसन्धानात्मक शिक्षालाई पनि लिईदिनसके सुनमा सुगन्ध हुने थियो। विभागीय प्रमुखहरु र अन्य प्राध्यापकहरुको पनि यसमा तत्परता चाहिन्छ। हालका हाम्रा प्राध्यापकहरुको अकर्मण्यताको पनि यसमा दोष देखिन्छ।

एउटै प्रयोगशालाबाट अनुसन्धान सम्भव नभए आजको युगमा पि.एच.डी विद्यार्थीहरुको सक्रियतामा देश विदेशका विश्वविद्यालयहरु संग सहकार्य गर्दै आफ्ना शोध अगाडि वढाउन सकिन्छ। साथै प्रयोगशाला विकासका लागी विश्वविद्यालयहरुको उचित मागलाई सरकारले पनि वेवास्ता गर्ने छैन। यसले राष्ट्रका होनाहार वैज्ञानिकहरुलाई विदेशिनबाट रोक त लगाउदछ नै र नेपाललाई अन्तराष्ट्रिय अनुसन्धानका विधामा आफ्नो स्थान खडा गर्ने अवसर प्रदान गर्नेछ। यसैले अवको वहस र कार्य शिक्षक कटौती, शिक्षक–शिक्षक विच विभाजन र उचनिचको दृष्टि नभएर अनुसन्धानमा हुनुपर्ने देखिन्छ। हाम्रा जोशिला युवा वैज्ञानिकहरु अनुसन्धानबाट आफ्नो राष्ट्र र विश्वविद्यालयको नाममा विश्वका सर्वोत्कृष्ट पुरस्कारहरु जीत्न आतुर छन्।

उत्कृष्ट विश्वविद्यालयहरुले अनुसन्धानलाई दिएको महत्व नियाल्दा निम्न अनुरुप देखिन्छ। संसारकै उत्कृष्ट अनुसन्धानकारी अमेरिकन विश्वविद्यालय म्यासाचुसेट इन्टिच्यूट अफ टेक्नोलोजीवाट आजसम्म ८० भन्दा वढी वैज्ञानिकहरुले नोवेल पुरस्कार प्राप्त गरिसकेका छन्। यसले बार्षिक लगभग १३ विलियन डलर लगानी गरी आफ्ना अनुसन्धानहरुलाई चुस्त राखेको छ। त्यसैगरी अनुसन्धानमा दुरगामी खाका वनाउदै स्थापीत जोन हप्किन्स विश्वविद्यालय आज चिकित्सा शिक्षा र अनुसन्धानका क्षेत्रमा संसारमै सर्वोत्कृष्ट सावित छ। यसले अनुसन्धानमा बार्षिक लगभग २ विलियन डलर लगानी गरीराखेको छ। ११०० भन्दा वढी अनुसन्धानात्मक शिक्षकहरुलाई सक्रिय वनाउदै प्रिन्सटन विश्वविद्यालयको ख्याती पनि अनुसन्धानात्मक शिक्षावाटै भएको हो। स्टान्डफोर्ड विश्वविद्यालयका २१०० भन्दा वढी शिक्षकहरु ५००० भन्दा वढी अनुसन्धानहरुमा अहोरात्र खटीइराखेका हुन्छन्। केहि वर्ष अगाडिसम्म नेपाल भन्दा कम आर्थिक आय भएको राष्ट्र दक्षीण कोरियामा अवस्थित सियोल राष्ट्रिय विश्वविद्यालयले पनि उच्चशिक्षा र अनुसन्धानमा गरेको लगानी उदाहरणीय छ। यी केही उदाहरणहरु मात्र हुन्। के हामी पनि यसरिनै हाम्रा विश्वविद्यालयहरुलाई अन्तराष्ट्रिय स्तरमा उचो स्थान दिनेगरी कायापटल गर्न नसकिएला ? उचित सोच, खाका र लगानीको साथ अवश्य सकिन्छ।

हामी मध्ये कसैलाई लाग्दो हो– अनुसन्धान त विकसित राष्ट्रहरुले नै गरिदिएका छन्। हामीले यसमा किन टाउको दुखाउनु प/यो। वाह्य देशका अनुसन्धानहरु आखिर हामीकहाँ पनि आइ पुग्दछन्। कुरा त ठिकै हो। आइ त पुगी हादल्छन्। तर खै त हाम्रो आफ्नो स्थान ? खै त हाम्रा प्राज्ञीक पेटेन्ट ? अव यी सवैको उत्तर खोजीनु पर्दछ।

हाम्रो अपेक्षा त मेडिकल काउन्सिलले स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रमा आमुल सुधारका कार्यक्रमहरु लिएर आउदछ भन्नेमा थियो। यसले स्वास्थ्य शिक्षामा अनुसन्धानको महत्व बुझेर विश्वविद्यालय र सम्वन्धन प्राप्त कलेजहरुमा यसको विस्तार गर्दै लग्न जोड लगाउदछ भन्नेमा थियो। तर ठिक उल्टो कार्यदिशा लिन खोज्दा यो देशका शिक्षा र अनुसन्धान प्रेमीको चित्त विदारक भएकोछ। हाल सम्पन्न मेडिकल काउन्सिलको चुनावका केही उम्मेद्धारहरु बाट आधारभुत चिकित्सा विज्ञानमा खालि एम.डी/एम.एस गरेकाहरुलाई जागीरको प्रलोभन देखाउदै भोटको अपेक्षामा मात्र आफ्ना प्रचारपत्रहरु जारी गरेकोमा हामिलाई लज्जा महसुस हुन्छ। केवल भोट र आफ्नो निहित स्वार्थको लागि चिकित्सा शिक्षा र अनुुसन्धानमा यति ठुलो महत्व राख्ने एम.एस्सी/पि.एच.डी धारका दाजुभाईको व्यावसायीक हत्या गर्न अग्रसर काउन्सिलका यी केही साथीहरुलाई तुरुन्त स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र सरोकारवाला नीकायहरुले कारवाहीको दाहेरामा ल्याउनु पर्दछ।

 

(ख) एम.एस्सी/ पि.एच.डी गरेका नोवेल पुरस्कार विजेता वैज्ञानिकहरु ः

सन् १८९५ मा स्वीडीस रसायन वैज्ञानिक अलफ्रेड नोवेलले स्थापना गरेको नोवेल पुरस्कार मानव जगतका लागी उच्च योगदान पु/याउने खोज, अनुसन्धान र सेवामा समर्पित वैज्ञानिक तथा समाजसेवीलाई सन् १९०१ बाट दिँदै आइएको संसारको सर्वोत्कृष्ट पुरस्कार हो। ११६ वर्षको अवधिमा एम.एस्सी/पि.एच.डी गरेका १०० भन्दा बढी वैज्ञानिकहरुले फिजीयोलोजी वा मेडिसिन विधामा रहि मानव स्वास्थ्य सेवामा योगदान पु/याउने खोज गरेवापत यो पुरस्कार पाइसकेका छन्। यसका केही दृष्टान्तहरु निम्नअनुरुप छन् ः

क) मलेरीयाको परजीवी लामखुट्टेवाट मानिसमा सर्दछ भन्ने तथ्य पत्ता लगाएकोले ब्रीटीश वैज्ञानिक सर रोनाल्ड रोसलाई सन् १९०२ मा।

ख) भिटामीन पत्ता लगाएकोमा ब्रीटीश वैज्ञानिक सर फ्रेडरिक गोल्याण्ड हपकिन्सलाई सन् १९२९   मा।

ग) अनुवंशमा क्रोमोजोमको महत्व बारे खोज गरेकोमा अमेरिकन वैज्ञानिक थोमस हन्ट मोर्गानलाई सन् १९३३ मा।

घ) उपचार क्षेत्रमा अति महत्वपुर्ण औषधी पेनीसिलिनको आविष्कार गरेकोमा आफ्ना सहपाठी सर अलेकजेन्डर फ्लेमीङ्गका साथ वेलायती वैज्ञानिक सर अलेकजेन्डर वोरीसचेनलाई सन् १९४५ मा।

ङ) टी.वी रोगको उपचारको लागी स्ट्रेफ्टोमाइसिन जस्तो महत्वपूर्ण औषधि आविष्कार गरेकोमा अमेरिकी वैज्ञानिक सेलमन अव्राहम वाक्समनलाई सन् १९५२ मा।

च) पोलीयोमाइलाइटिस भाइरसमा खोज गरेकोमा अमेरिकी वैज्ञानिक जोन फ्रान्कलीन इन्डेर्सलाई सन् १९५४ मा।

छ) अनुवंश विज्ञानमा अति नै महत्वपूर्ण मानिएको खोज न्यूक्लीक एसीड र यसको महत्वको बारेमा विस्तृत खोज र व्याख्या गरेकाले वेलायती र अमेरिकी वैज्ञानिक त्रय फ्रेन्सिस क्रीक, जेम्स वाट्सन र मउराइस वीलकीन्सलाई सन् १९६२ मा।

ज) नशामा एक्सन पोटेन्सियल खोज गरेकोमा वेलायती वैज्ञानिक एन्ड्रीउ हक्सलेलाई सन् १९६३ मा।

झ) सी.टी. स्क्यानको विकासगरेकोमा साउथ अफ्रिकन र वेलायती बैज्ञानीक द्वय एलान एम कोरम्याक र सर गडफ्रे एन हाउन्सफिल्ड लाई सन् १९७९ मा।

ञ) एच.आइ.भी पत्ता लगाउने फ्रान्सेली वैज्ञानिक द्वय फ्रेन्कोइज वेरी सीनौसी र लुक मोन्टगनीएरलाई सन् २००८ मा।

ट) आई.भि.एफ. प्रविधीको विकास गरेका वेलायती वैज्ञानिक रोवर्ट इडवार्डलाई सन् २०१० मा।

ठ) सरकाडीयन रिदममा खोज अनुसन्दान गरेकोमा अमेरिकन बैज्ञानिक त्रय जेफ्री सी हल, माइकल रोसबाश र माइकल डब्लु योङ्गलाई सन् २०१७ मा।

एम.एस्सी/पि.एच.डी गरेका वैज्ञानिकहरुले चिकित्सा शिक्षा र यस क्षेत्रको विकासका लागी अन्य धेरै नयाँ प्रविधि र ज्ञानको आविष्कार गरेका छन्। यसले  चिकित्सा क्षेत्रमा एम.एस्सी/पि.एच.डी प्राध्यापक र वैज्ञानिकहरुका महत्वका बारेमा प्रष्ट पार्दछ। यति धेरै महत्व राख्ने शिक्षकहरु विरुद्ध मेडिकल काउन्सिल र अन्य निकायहरुले वनाएका विभेदकारी नियम सच्चाई अनुसन्धानात्मक शिक्षालाई प्राथमिकता दिदा चिकित्सा शिक्षामा देशले दुरगामी फाइदा लिन सक्दछ।

 

(ग) एम.एस्सी/पि.एच.डी गरेका विद्धानहरुद्वारा आधारभूत चिकित्सा विज्ञानमा लेखिएका पुस्तकहरुः

विश्व परिवेशमा चिकित्सा शिक्षा अभिबृद्दिका लागि एम.एस्सी/पि.एच.डी गरेका विद्धान वैज्ञानिकहरुले सयौ पुस्तकहरु लेखिसकेका छन्। आधारभूत चिकित्सा विज्ञानमा एम.एस्सी/पि.एच.डी गरेका विद्धानहरुद्वारा लेखिएका र संसारभर चिकित्सा विज्ञान अध्ययन–अध्यापनका लागि प्रसिद्धी कमाएका पुस्तक र लेखकहरुका केहि दृष्टान्तहरु निम्न अनुरुप छन् ः

क) एनाटोमी विषयको सवैभन्दा ठूलो ग्रन्थ ‘ग्रेज एनाटोमी’ जसलाई पाश्चात्य जगतमा ‘द डक्टर्स वाइवल’ भनिन्छ। यसका लेखक द्वय हेन्री ग्रे र हेन्री भन्डाइके कार्टरको देहवसानपछि पनि यो पुस्तक निरन्तर रुपमा परिमार्जन हुँदै आइरहेको छ। यस अगाडिका कयौँ इडिटरहरु र हालकी इडिटर इन चीप सुसान इस्टर्डीङ्ग।

ख) ‘द डेभेलोपीङ हुमान, क्लिनीकल्ली ओरिएन्टेड इम्रायोलोजी’ पुस्तकका लेखक कीथ एल मुर। यस पुस्तक लेखनकालागी उनले लगभग ११० वटा अनुसन्धान प्रकाशन गरेका थिए।

ग) ‘हार्पर वायोकेमेष्ट्री’ पुस्तकका ६५ फरक शिर्षकहरु मध्ये ५०% भन्दा बढी ३७ वटामा एम.एस्सी/पि.एच.डी गरेका लेखकहरु।

घ) ‘लीपीनकोट वायोकेमेष्ट्री’ पुस्तकका सीरीज इडिटर रीचार्ड ए हर्वेय साथै अन्य इडिटरहरु।

ङ) ‘मेडिकल माइक्रोवायोलोजी’ पुस्तकका ९ जना लेखक र इडिटरहरु मध्ये ६ जना एम.एस्सी /पि.एच.डी गरेका विद्धानहरु।

च) ‘वेली एण्ड स्कट्स, डाईगोनोस्टिक माइक्रोवायोलोजी’ पुस्तककी इडिटर पेट्रीसिया एम टिली।

छ) ‘गुडम्यान एण्ड गीलम्यान, द फार्माकोलोजीकल वेसिस अफ थेरापेटिक्स’ पुस्तकका इडिटर लाउरेन्स एल ब्रुन्टोन र अन्य धेरै कन्ट्रीव्यूटर्सहरु।

ज) ‘वर्टराम जी क्याटजङ्ग, वेसीक एण्ड क्लिनीकल फार्माकोलोजी’ पुस्तकका एसोसीएट इडिटरहरु सुसान वी मास्टर्स र एन्थोनी जे टे«भोर साथै अन्य लेखकहरु।

झ) ‘गाइटन एण्ड हल, टेक्स्ट वुक अफ मेडिकल फीजीयोलोजी’ पुस्तकका दुइ लेखकहरु मध्येका जोन इ हल। यीनले यस पुस्तक लेखनका लागी लगभग ११५ वटा अनुसन्धानहरु प्रकाशन गरेका थिए।

ञ) ‘वर्न एण्ड लेभी, फीजीयोलोजी’ पुस्तकका लेखकद्वय मध्येका ब्रुस ए स्टानटोन।

ट) ‘मेडिकल जेनेटिक्स’ पुस्तकका ४ लेखकहरूमा २ लेखक लीन वी जोर्डी र रेमोण्ड एल व्हाइट एम.एस्सी/पि.एच.डी गरेका विद्धानहरु।

पुस्तक लेखनकार्य सजिलोे छैन। विज्ञानका कुनै पनि विधामा नयाँ पुस्तक लेख्नका लागी कयौ अनुसन्धानहरुको खाँचो पर्दछ। यसका साथै अध्ययन–अध्यापन प्रक्रियाले पनि पुस्तक लेखनमा ठूलो सहयोग पु/याउदछ। एम.एस्सी/पि.एच.डी गरेका विद्धानहरुका पुस्तकहरु पढेर मेडिकल डिग्री पाएका व्याक्तिहरुले एम.एस्सी/पि.एच.डी शिक्षक र यस शिक्षा माथिनै खराव नजरियाले हेरिनु खेदपुर्ण छ। नेपाल मेडिकल काउन्सिलको एम.एस्सी/पि.एच.डी शिक्षक र यस शिक्षा माथिको विभेदकारी मानसिकता सुधारिनु पर्दछ। आधारभुत चिकित्सा विज्ञानका सवै शिक्षकहरु उत्तिकै योग्य छन्। सबैलाई समान दृष्टिले हेरिनु पर्दछ।

(घ) उपसंहारः

नेपालका मेडिकल कलेजहरुमा आधारभुत चिकित्सा विज्ञान अध्ययन–अध्यापन गराउनका लागि तिन किसीमका शिक्षा हासिल गरेका शिक्षकहरु रहेका छन्, एम.एस्सी/पि.एच.डी, एम.वि.वि.एस/एम.डी/एम.एस र वि.डी.एस/एम.डी/एम.एस। सबै शिक्षकहरु मेडिकल कलेजमा अध्ययन–अध्यापन गराउन समान रुपले योग्य हुने गरी विश्वविद्यालयका वैधानिक पाठ्क्रम र परिक्षा प्रणाली उत्तीर्ण गरी आएका हुन्। आधारभुत चिकित्सा विज्ञानमा अनुसन्धान र अध्ययन–अध्यापन गराउन एम.एस्सी/पि.एच.डी गरेका शिक्षकहरु उत्कृष्ट छन् भन्ने कुरा चिकित्सा विज्ञानमा विश्वका सर्वोत्कृष्ट पुरस्कार प्राप्त, सर्वोत्कृष्ट पुस्तक लेखन र अन्य कयौ देनहरुबाट पुष्टी हुन्छ।

कुनै पनि निकायले आफ्नो गैर स्वार्थ पूर्तिका लागि अर्को समुदायविरुद्ध विभेदकारी  नियम ल्याउन खोजिनु उचित होइन। मेडिकल काउन्सिल, विश्वविद्यालय, चिकित्सा शिक्षण संस्थान, विभागीय प्रमुख र अन्य संलग्नहरुले उल्लेखित तिनवटै वर्गका शिक्षकहरुलाई उनीहरुको विषयगत पारंगतता र  दक्षताका आधारमा अध्ययन–अध्यापन र अनुसन्धानमा परिचालन गराइनु विवेककारी हुन्छ।

प्राज्ञीक थलो जस्तो सृजनात्मक ठाउमा शिक्षकहरु विच असमझारी  र वैरभाव सृजना हुने गरि कुनैपनि निर्णय लीईनुहुदैन। यसले विभेदमा परेका शिक्षकहरुको मनोबल गिराउदछ। शिक्षकहरु विचको कार्यगत एकता साथै सृजनात्मक कार्यफल पनि खस्किदै जानेछ। सबै शिक्षकहरुलाई एकिकृत गरी उत्तीकै सम्मान र अवसरका साथ अध्ययन–अध्यापन र अनुसन्धानमा अगाडि बढाउनुनै चिकित्सा शिक्षामा स्वर्णीम प्रतिफल प्राप्त गर्ने बलिया आधार हुन।

साथै विश्वविद्यालय र शिक्षण संस्थानहरुको गुणस्तर निर्धारणमा कार्यरत शिक्षक संख्याले निर्णायक भूमिका खेल्दछ।  शिक्षक कटौतीले गुणस्तरमा ह्राष ल्याउदछ। चिकित्सा शिक्षालाई गुणस्तर युक्त बनाउन मेडिकल काउन्सिलले शिक्षक कटौती हैनकि वृद्धि गर्नुपर्दछ।

(लेखक काठमाण्डौ विश्वविद्यालय अन्तर्गत मणिपाल मेडिकल कलेज, पोखरामा एनाटोमी विभागका उप–प्राध्यापक हुन्।)

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.